४ वैशाख २०८१ मंगलबार
अन्य

म किन विनोद चौधरी भइनँ ?

उद्योगपति विनोद चौधरीलाई कसले पो नचिन्ला ! ‘वाइवाइ म्यान’का रूपमा अब विश्वभर ख्याति पाउने अवस्था भइसक्यो । नेपालजस्तो गरिब देशका एकमात्र अर्बपति चौधरी ! उनै चौधरीको आत्मकथा केही वर्षअघि निस्केको थियो र नेपाली ‘बेस्टसेलर’का रूपमा ख्याति पनि कमायो । उनले आत्मकथामा लेखेका छन्– म भविष्यमा व्यापारी हुन्छु भन्ने कुरा विद्यालयको एउटा घटनाले स्पष्ट पारिदियो ।

हामीलाई सेक्रेटरियल साइन्स पढाउने जाल्पा प्रधान मिसले एक दिन पैसा जम्मा गरेर विद्यालयमा सानो पसल थाप्न भन्नुभयो । पसल थाप्ने शर्त थियो– कसैले पनि घरबाट पसल थाप्न पैसा माग्न पाउने छैन । टिफिनका लागि भनेर पैसा जम्मा गर्ने उपाय पनि थिएन किनभने स्कुलमै टिफिन खुवाइन्थ्यो । चना–चटपटे, लड्डु सबै बन्द गरेर दिनको एक मोहर वा एक रुपियाँ उबार्न थालेँ र साथीहरूलाई पनि यसमा सहमत गराएँ ।’

विनोद टिम लिडर थिए । सबैले दिनहुँ पैसा जम्मा गरी उनलाई जिम्मा लगाउँथे । सबैको पैसा केकति जम्मा भयो, त्यसको हिसाबकिताबका लागि एउटा कापी बनाए । पैसा जम्मा गर्दागर्दै डेढ सय पुग्यो । त्यही डेढ सय रुपियाँमा उनीहरूले विद्यालयको प्रोजेक्ट वर्कका रूपमा पसल थापे । मिसको आदेश थियो, विद्यालयमा जे बिक्छ, त्यही राख्नू । त्यसैले विनोदको पहिलो बिजनेसमा पिप्लामेट, पाउ, रंगीबिरंगी इरेजर, थरिथरिका सार्पनर र अन्य चिज राखिएको थियो । विद्यालयको हाफ टाइममा विनोद र उनका साथी बेञ्च निकालेर सामान राख्थे । केहीका लागि यो रमिता हुन्थ्यो । केहीका लागि मन पर्ने सामान किन्ने अवसर । हाफटाइमको आधा घन्टे छुट्टीमा बेचेर बाँकी सामान झोलामा पोको पार्थे र उनीहरू अर्को दिन ब्यापार गर्ने प्रतीक्षामा हुन्थे ।

यसरी बिक्री भइसकेका सामानबारे जायजा लिने काम थियो जाल्पा मिसको । अन्तिम घन्टीपछि जाल्पा मिसले केकति बिक्री भयो, कुन कुरामा क्रेताको चासो रह्यो, कति नाफा भयो आदि सबै खबर लिनुहुन्थ्यो । यस घटनाको ४५ वर्षपछि चौधरीले सम्झँदै भनेका छन्, ‘व्यापारप्रतिको मेरो रूचि बढाउन स्कुलको यो घटनाले पनि भूमिका खेलेको छ । जल्पा मिसको स्कुलमा पसल खोल्ने र नाफा–घाटाको शिक्षा’ नपाएको भए, तिनै कुरा सिक्न मैले अझै बढी समय लगाउनुपथ्र्यो होला ।’
विनोद चौधरीको यो आत्मकथा पढेपछि मेरो दिमागले ३६० डिग्रीको फन्को लगायो । म अकस्मात आफू पढेको विद्यालयमा पुगेँ, जहाँ लगभग यस्तै घटना हुन पुगेको थियो ।
मेरो दाजु अश्विनी पूरापूर बिजनेस दिमागको थियो । आफ्नो विद्यालय खर्च आफै उठाउँथ्यो । खर्च उठाउँथ्यो मात्र होइन, उसले भाइबहिनीहरूलाई खर्च दिने हैसियतसम्म बनाएको थियो । ऊ मलाई दैनिक पाँच रुपियाँ दिन्थ्यो, त्यो बेला पाँच रुपियाँले स्कुलको खाजा टन्नै हुन्थ्यो । सायद केही समयपछि दाजुको बिजनेसमा मन्दी छाएको हुनुपर्छ । उसले केही दिन पैसा दिएन । जोरजबरजस्ती गर्ने कुरा पनि थिएन किनभने उसको त्यो निजी सम्पत्ति थियो र त्यसमा हामी कसैको हक लाग्दैनथ्यो । एक दिन स्कुल जाने बेलामा म उसको सम्मुख परेँ । चिटिक्कको लुगा लगाएर ठीक ९ बजे दाजुको अघिल्तिर उभिँदा उसले थाहा पाइसकेको थियो, पैसा माग्न आइपुग्यो भाइ । उसले मलाई छेउमा बोलायो र भन्यो, ‘तँलाई कति पैसा चाहिन्छ ?’

दाइको बिजनेसमा मन्दी छाएको चाल पाएकाले मैले भनेँ, ‘एक रुपियाँ भए पनि काम चल्छ ।’ ऊ हाँस्यो । हाँस्दा उसको पातलो गालामा मुजा प¥यो । म पनि हाँसेँ किनभने दाइ हाँसेको थियो र उसैको हाँसोमा हाँसो थपेको थिएँ, चाकरीको शैलीमा । उसले भन्यो, ‘एउटा काम गर, मैले भनेको मानिस् भने एक रुपियाँ हैन, हरेक दिन दस रुपियाँ तेरो गोजीमा हुन सक्छ । तैँले मसँग मागिरहनुपर्ने छैन र तैँले अरुलाई पनि दिन सक्ने गरी पैसा कमाउन सक्छस् ।’ अर्थात्, म पनि दाजुले जस्तै बहिनीलाई खर्च दिन सक्ने हुन्थेँ ।

मलाई थाहा छ, मेरो दाजु सपनाको व्यापारी हो । उसले अनेक कुरा भनेर मलाई भुलाउँछ र आफ्नो काम फत्ते पार्छ । तैपनि मैले सोधेँ, ‘के काम ?’
‘म तँलाई केही सामान दिन्छु, स्कुलमा लगेर बेच् । तैँले मेरो सामानको अग्रिम पैसा पनि तिर्नुपर्दैन,’ उसले अथ्र्यायो । हाम्रा पालामा हाजमोलाको गोली आइसकेको थिएन, तर धुलो पाचक भन्ने पाइन्थ्यो । त्यो अमिलो धुलो पाए भने केटीहरू हत्ते गरेर किन्छन् भन्ने मलाई थाहा थियो । त्यो पाचकको प्याकेटबाट राम्रै पैसा जम्मा हुन्छ भन्नेमा मलाई विश्वास थियो, तर म स्कुलमा पढ्न चाहन्थेँ, सामान बेच्न होइन । त्यसैले म अन्कनाएँ ।

‘आज लिएर जा, बिक्री भएन भने भोलिदेखि लैजानुपर्दैन,’ उसले मलाई सहज पार्दै भन्यो, ‘प्रयास नै नगरी हिम्मत हार्नु हुन्न, बुझिस् ।’ दाजुको कुरालाई काट्न चाहन्नथेँ किनभने ऊ आवश्यक पर्दा ममाथि लगानी गर्ने, ऋण दिने व्यक्ति थियो । त्यसैले मैले २० वटा पाचकको प्याकेट लिएँ । सानो पाचकको प्याकेटको दाम २५ पैसा थियो र मैले स्कुलमा ५० पैसामा बेच्न सक्थेँ । जम्माजम्मी पाँच रुपियाँको पाचक बेचिसक्दा मैले पाँच रुपियाँ नाफा कमाउन सक्थेँ । तर, यो बिजनेसमा मलाई उति विश्वास थिएन किनभने म लजालु किसिमको व्यक्ति थिएँ, अझै पनि छु । हरेक विद्यार्थीको अघिल्तिर उभिएर ‘पाचक किन्छस् ?’ भन्न आँट आउँदैनथ्यो ।

स्कुलको हाफटाइममा मैले नजिकका केही केटा र केटी साथीलाई भेला पारेँ । उनीहरूले देख्ने गरी मेरो गोजीभरिको पाचक निकालेँ र डेस्कमा फैलाएँ । एउटा पाचकको प्याकेट फुटालेँ । त्यस पाकेटभित्रको धुलो सबै साथीलाई चाख्न दिएँ । यसअघि उनीहरूले यस्तो चिजको स्वाद लिएका थिएनन् । साथीहरू खुसी भए ।
त्यसपछि केही साथीले धमाधम पाचक किने । यस पटक पाँच रुपियाँको पाचक बिक्यो । अर्थात्, मैले लगानी उकासीसकेको थिएँ । अब बाँकी रहेका सबै प्याकेट मेरो विशुद्ध नाफा  थिए ।
भोलिपल्ट पाचकको चर्चा मेरो कक्षामा मात्र सीमित रहेन । क्रमशः अन्य कक्षामा पनि प्रचार हुन थाल्यो । मेरो कक्षाका केही साथी त स्कुल लाग्नेबित्तिकै क्रेता बन्न आइपुगिहाल्थे । शिक्षकहरू कक्षा कोठामा छिर्दा पाचक चपाउँदै केहीले जिब्रोसमेत पड्काइदिन्थे । यस्तो बेला मलाई बडो असहज हुन्थ्यो । केही सातामै मेरो गोजीमा रुपियाँ हुन थाल्यो । मैले एउटा राम्रो व्यापारी हुने छनक देखाउन थालेँ । मेरो दाजुका लागि म आर्थिक संकटबाट निकाल्ने एउटा ‘टुल’ बनेँ । त्यसैले उसले मलाई अझ बढी बिक्रीका लागि उक्सायो । उसले ‘आइडिया’ दिँदै भन्यो, ‘तँ आफ्नो कक्षामा मात्र सीमित नहुनू । अरु कक्षामा साथी बनाउन थाल्नु र तिनलाई पनि बेच्नू ।’

म साथी बनाउन उति सिपालु त होइन, तर स्कुलमा मेरो राम्रै ‘इज्जत’ थियो । म राम्रो र पढन्ते विद्यार्थीमध्येको थिएँ । कम बोल्ने, मृदुभाषी थिएँ । तर, कसैलाई पनि पाचक किन भन्न सकिनँ । सबै पाचक मेरो ठूलो गोजीमा अटाउँथ्यो र शिक्षकहरूको अनुपस्थितिमा म पाचकका ग्राहक खोज्ने प्रयासमा कक्षा–कक्षा चहार्थें । कक्षामा शिक्षक नहुँदा त्यस कक्षाको पहिलो वा दोस्रो विद्यार्थीसँग नजिक हुन खोज्थेँ । व्यापारको नियम के छ भने ‘ठूला’लाई प्रभावित पार्न सकियो भने साना त्यत्तिकै प्रभावित हुन्छन् । प्रतिभाशाली विद्यार्थीलाई पाचक खुवाउन सक्दा उनीहरूभन्दा मुनिको रोल नम्बर हुनेलाई बेच्न सकिने सम्भावना बढी नै हुन्थ्यो ।

खासगरी अमिलो–पीरो रूचाउने केटी मेरो ध्यानमा थिए, तर मधेसीमूलका केटीहरूलाई बेच्न कठिन थियो । ‘पहडिया’ केटीलाई पाचकको ग्राहक बनाउन सहज थियो । मधेसीमूलका छात्रासँग सायद पैसा हुँदैनथ्यो होला, त्यसैले उनीहरूले किन्ने रूचि कमै देखाउँथे । हुन त उनीहरूको मुखबाट पनि पाचक देखेपछि पानी आउँथ्यो होला, तर त्यस्तो लोभिएको देखाउँदैन थिए । हुन सक्छ, उनीहरूको घर नजिकै भएकाले बा¬–आमाबाट ‘स्कुल खर्च’ पनि पाउँदैनथे होला । एक दिन एउटी केटी साथीले कक्षामा पाचक चपाउँदै गरेको अवस्थामा सामाजिक शिक्षा पढाउने शिक्षकले पक्डिए । ऊ रनभुल्लमा परी ।
‘त्यो के हो ?’ शिक्षकले कडा स्वरमा सोधे ।
नरम स्वरमा छात्राले भनी, ‘पाचक हो, सर ।’
‘कहाँबाट आयो रे ?’ मैथिल लवजमा सर कड्किए ।
ऊ अवाक भई । उसले मेरो नाम लिइन किनभने यो पक्का थियो, सरको हात सीधै मेरो कान खिँच्न पुग्नेछ ।
‘भन् रे भन्, कहाँबाट ल्याइस् यो ?’
छात्राले चोर आँखाले मतिर हेरी । मैले सरको अनुहार हेरेँ र मेरो अनुहार यतिञ्जेल नीलो भइसकेको थियो ।
शिक्षक मछेऊ आइपुगे र कानको लोती समाते, तनक्क तानिदिए । कान रनक्क रन्कियो । ‘यो तेरो दुकान चलाउने ठाउँ हो रे, हँ कोइराला ?’ शिक्षक कड्किए । त्यो बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निकै बदनाम थिए, लाउडा काण्डका कारण । त्यसैले मेरो नामभन्दा थरलाई जोड दिँदै ‘बदनाम’ गर्न खोजेको महसुस मलाई भयो ।
म केही बोलिनँ । मेरो वरिपरि अन्धकार थियो । कान दुखेकोमा मलाई कुनै पीडा थिएन, न त गिरिजाको बदनामी ममाथि थोपरेकामा नै । पीडा त सबै साथीका अघिल्तिर मेरो कान निमोठिएकोमा दुःखेको थियो । म पढ्नमा तेज थिएँ, अरुका कान मोलेर बोधा विद्यार्थीलाई थप्पड पनि हानेको थिएँ, तर आज सबका सामुन्ने मेरा कान मोलिएको थियो ।
धन्न कुखुरो बन्न परेन, तर कक्षामा उठाइनु, सारा विद्यार्थीका अघिल्तिर सरको कान मोलाइमाग्नु, यो बेइज्जतीले मेरो संसार अँध्यारो भयो । मैले केही देख्न सकिरहेको थिइनँ ।
‘झिक् रे कहाँ छ तेरो पाचक’ शिक्षकले आदेश दिए ।
मैले लुरुक्क अघिल्लो गोजीबाट १० वटा निकालेँ, साथीहरू गलल्ल हाँसे । अर्को अघिल्लो गोजीबाट थप १० वटा प्याकेट निकालेँ । सहपाठीहरूको हाँसोको पारो अझ बढ्यो । पछाडिको दायाँ गोजीबाट अर्को १० वटा प्याकेट निकालेँ । हाँसोमा विद्यार्थीमात्र होइन अब शिक्षक पनि थपिए । अन्तिमका केही प्याकेट अर्को पछाडिको गोजीबाट निकालेर शिक्षकका अघिल्तिर राखिदिएँ ।
‘बाफ् रे बाफ् के रे कोइराला, पूरै फ्याक्ट्री तेरो गोजीमा अटाएको छस् कि क्या हो,’ शिक्षक छक्क पर्दै बोलिरहँदा सारा विद्यार्थीले गलल्ल हाँसेर कोठै थर्काइदिए । म भने लज्जा, दुःख र अपमानबोधले मरिचझैँ चाउरिएँ ।
उनले ती सबै पाचक उठाए, जसरी काठमाडौँ महानगरपालिकाका प्रहरीले सडक छेउका पसल उठाउँछन् । पाचकका केही दर्जन प्याकेट उनले प्रधानाध्यापककहाँ पु¥याए ।
म यता कक्षामा सामान्य बन्ने प्रयास गर्न थालेँ । छात्राले चोर नजरले पुलुक्क मतिर हेरी । अञ्जानैमा साथीलाई ‘डुबाएकोमा’ सायद मौन क्षमा मागिरहेकी हुँदी हो, तर मेरा लागि यो ठूलो पहिरो थियो । यत्तिकैमा कक्षामा छिर्नै नहुनेझैँ गरी कानो पिउन दाइले कक्षाकोठाको ढोकाबाट चिहायो । मैले बुझिसकेको थिएँ– हेडसरबाट बोलावट आइपुग्यो । ‘अच्युत कोइरालालाई हेडसरले बोलाउनु भएको छ ।’ हेडसरबाट मेरो थप बेइज्जती हुने आशंकाले मेरो मुटुले ठाउँ छाड्लाझैँ भयो ।
म आफ्नो कक्षाकोठाबाट भिजेको बिरालोजस्तो गरी निस्किँदै गर्दा सबै विद्यार्थीको आँखा मैतिर थिए । लज्जाबोधले अनुहार पनि उठाउन सकिरहेको थिइनँ ।
प्रधानअध्यापक पान चपाइरहनु भएको थियो । जिस्क्याउने मूडमा हुनुहुन्थ्यो क्यार ! खिया लागेका दाँत देखाउँदै भन्नुभयो, ‘सुन्दैछु, तिमीले स्कुलमा बिजनेस सुरु ग¥यौ । के हो यो ?’
प्रधानअध्यापकको टेबुलमा मेरा पाचक बिस्कुनसरी बिछ्याइएका थिए । मेरो वाक्य फुटिरहेको थिएन । म चूप थिएँ । हेडसरको सम्मुखमा चोरी पक्डिएसरी उभिएको थिएँ ।
‘ल यो सबै लैजाऊ, भोलिदेखि क्लासमा नबेच्नू,’ एकैछिनमा गम्भीर हुन सक्ने गुणका प्रधानअध्यापकले यत्ति भन्नासाथ कतै जाने हतार देखाउँदै फटाफट निस्कनु भयो । उहाँले अरु केही भन्नु भएन न त कान उखेल्ने प्रयास नै गर्नुभयो । जुन आशंका थयो, त्यस्तो केही भएन । बेइज्जती पनि भएन, कान पनि बचेको थियो । यसमा म निकै खुसी भएँ ।
मैले प्रधानअध्यापकको टेबुलमा बिस्कुनसरी बिछ्याइएका पाचकका साना प्याकेट समेटेँ, गोजीहरूमा खाँदखुँद पारेँ र लुरुलुरु फेरि कक्षामा छिरेँ । अघिका शिक्षक पढाइरहेका थिए । उनको अनुहार हेर्ने हिम्मत ममा थिएन । म निराश गालामा हात लगाएर बसिरहेँ ।
बेलुकी दाजुलाई मैले सबै प्याकेट फिर्ता दिएँ । उसले आँखीभौँ उचाल्यो । मैले कक्षाका कुरा सविस्तार सुनाएँ । ऊ मुस्कुरायो र भन्यो, ‘हेडसरले क्लासमा नबेच्नू भन्नुको अर्थ स्कुलमा नबेच्नू भन्नु भएको होइन । स्कुल सुरु हुनुअघि वा सकिएपछि बेच्न मिलिहाल्छ नि ।’

मैले उसको कुरा सुनिनँ । सारा विद्यार्थीका अघि उभिनु पर्दा र कान मोलाउनु पर्दा मेरो चित्त दुःखेको थियो । त्यसपछि मैले दाजुसित पैसा पनि मागिनँ । खर्च जोहो गर्न आफूभन्दा साना कक्षाका केटाकेटीलाई ट्युसन पढाउँछु, तर यो बेच्ने काम जिन्दगीमा गर्दिनँ भन्ने मनमनै सोचिसकेको थिएँ । भोलिपल्ट अरुले पनि स्कुलमा पाचक ल्याएँ कि ल्याइनँ भनेर सोधेनन् । जाबो यत्ति एउटा ‘सानो’ घटनाका कारण एउटा महान् व्यापारी अच्युत कोइरालाको दर्दनाक अन्त्य भयो । त्यति एउटा सानो ‘बेइज्जती’ पचाउन नसक्दा म अर्को अर्बपति विनोद चौधरी हुनबाट रोकिएँ ।

 

प्रकाशित: २२ आश्विन २०७३ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App