७ वैशाख २०८१ शुक्रबार
अर्थ

ठेकेदार र कर्मचारीको मिलेमतोमा आर्थिक चलखेल

साढे सात लाख खर्च गरेर प्रबलीकरण गरिएको भनिएको झार्लाङ स्वास्थ्य चौकीको अलपत्र भवन।

धादिङ –  धादिङको उत्तरी क्षेत्र झार्लाङ स्वास्थ्य चौकी भवन निर्माणमा कर्मचारी र ठेकेदार मिलेर आर्थिक अनियमितता गरेको फेला परेको छ। 

२०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यो स्वास्थ्य चौकीको भवन मर्मत गर्न सरकारले १२ लाख रुपैयाँ बजेट निकासा गरेको थियो। चौकीको रेट्रोफिटिङ (प्रबलीकरण) का लागि बजेट आएकामा ठेकेदारले टालटुल मात्र गरेर बजेट हिनामिना गरेको फेला परेको हो। प्राविधिक कर्मचारीसँग मिलेर ठेकेदारले बजेट हिनामिना गरेपछि  स्वास्थ चौकीका कर्मचारी सामुदायिक भवनमा बसेर सेवा दिन बाध्य भएका छन्।

रेट्रोफिटिङका लागि बजेट आए पनि चर्केको गाह्रोको माटो भत्काएर प्लास्टर गर्नेबाहेक  कुनै काम नभएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर तामाङले बताए। ‘मर्मतका लागि दुई लाख रुपैयाँ बजेट आएको ठेकेदारले जानकारी गराएका थिए अध्यक्ष तामाङले भने, ‘चौकी मर्मतका लागि १२ लाख ७५ हजार छुट्ट्याइएको रहेछ।’
प्राविधिकले चौकीको भवन रेट्रोफिटिङ गर्न १२ लाख ७५ हजार रुपैयाँको लगत इस्टिमेट तयार गरेका थिए। इस्टिमेट अनुसार निर्माण गर्ने ठेक्का सिंग तामाङले पाएका थिए। 

भूकम्पपछि ढुंगा–माटोको गाह्रो भएको स्वास्थ्य चौकी भवन चर्किएर बस्न नसक्ने अवस्था भएको छ। आपतकालीन अवस्थामा आएको मर्मतको बजेटमा सामान्य टालटुले मात्र काम गरी भुक्तानी लिएकामा स्थानीयले विरोध जनाएका छन्। 
आपतकालीन अवस्थामा मर्मत–सम्भार गर्न आएको बजेटमध्ये दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकता दिई यो स्वास्थ्य चौकीको रेट्रोफिटिङ गर्न जिल्ला स्वास्थ्य कार्यालय धादिङले १२ लाख ७५ हजार बराबरको प्राविधिक इस्टमेट गरी ठेकेदारलाई जिम्मा लगाएको थियो।  

ठेक्का लिएपछि ठेकेदार तामाङले स्थानीय युवालाई तीन लाख रुपैयाँमा पेटी ठेक्का दिएको झार्लाङकै स्थानीय कान्छा तामाङले बताए। स्थानीय ठेकेदारले सिमेन्टको प्लास्टर मात्रै गरेपछि स्वास्थ्य चौकी प्रमुखलाई काम सम्पन्न भएको सिफारिस गरिदिन आग्रह गरेका थिए। स्वास्थ्य चौकी इन्जार्जले काम नभएको भन्दै भवन मर्मत सम्पन्न भएको सिफारिस नदिए पनि काम भएको भन्दै जिल्ला स्वास्थ्यबाट सात लाख ४८ हजार रुपैयाँ भुक्तानी भएको छ।

समिति अध्यक्ष टेकबहादुर तामाङले सुरुमा स्वास्थ्य चौकी भवन मर्मत गर्न बजेट आएको कुरा जानकारी नदिइएको बताए। एकैचोटि काम सम्पन्न भएको सिफारिस लिन आएपछि मात्रै मर्मतको लागि बजेट आएको थाहा पाएको उनले बताए। ‘स्वास्थ्य चौकीले सिफारिस नदिए पनि जिल्ला स्वास्थ्यबाट साढे सात लाख रुपैयाँ भुक्तानी भएको छ,’ तामाङले भने, ‘कुन हिसाबले भुक्तानी गरिएको हो ? यसमा आर्थिक चलखेल भएको आशंका छ।’  

जिल्ला स्वास्थ्यले तत्कालीन जिल्ला विकास समितिका प्राविधिकको सहयोगमा इस्टिमेट तयार गर्न र अनगुमन मूल्यांकन गर्न प्राविधिक सहयोग मागिएको थियो। जिविसका प्राविधिकहरुले ठेकेदारसँग मिलेमतो गरी काम सम्पन्न भएको प्रतिवदेन दिएको आशंका गरिएको छ। प्राविधिकबाट काम सकिएको सिफारिस आएपछि मात्रै भुक्तानी दिएको जिल्ला स्वास्थ्यले जानकारी दिएको छ।  

मर्मतपछि पनि स्वास्थ्य चौकीको यो भवन बस्नलायक नहुँदा नेपाली सेनाले बनाएको सामुदायिक भवनबाट स्वास्थ्य सेवा दिने काम भइरहेको छ। यहाँ लार्पा, चपाङचेत लगायत ठाउँबाट सेवा लिन आउने गरेको स्वास्थ्य चौकी प्रमुख राजबहादुर तामाङले बताए। 

‘गाउँपालिकाले आफ्नै बजेटमा स्वास्थ्य चौकीको सेवा थप गरिरहेको छ,’ तामाङले भने, ‘हामी भने भवन अभावकै कारण सेवा थप गर्न सक्ने अवस्थामा छैनौं।’

सडक सञ्जालको सहज पहुँच नहुँदा झार्लाङ लगायत उत्तरी धादिङका स्थानीय स्वास्थ्यमा अलिकति जटिल अवस्था आउनेबित्तिकै हेलिकप्टर चार्टर गरी उपचारमा जान बाध्य छन्। 

जिल्लामा भूकम्पका कारण भत्किएका यस्ता स्वास्थ्य चौकीका भवन निर्माण भए नभएको अनुगमन गर्ने निकाय सक्रिय नहुँदा ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्यसेवाबाट वञ्चित हुनु परेको छ। जिल्लाभर भूकम्पका कारण ५२ स्वास्थ्य संस्थाका भवन भत्किएका थिए। यी भवनको मर्मतमा पनि यस्तै अनियमितता भएको आशंका स्थानीयको छ।

प्रकाशित: १४ फाल्गुन २०७५ ००:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App