८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भियतनाममा किमका लागि कडा सुरक्षा, रेलसेवा बन्द

दोङदाङ- उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। उनी सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै छन्। उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ। 

किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दैछन्। 

उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दैछन्। दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ। हनोई यात्राका क्रममा उक्त सडकखण्ड पुरै बन्द गरिनेछ। 

किम शनिबार नै रेल चढेर भियतनामतर्फ लागेका थिए। उनी चीनको राजधानी बेइजिङ हुँदै रेलमा भियतनाम पुग्नेछन्। भियतनामका अधिकारीहरुले जनाएअनुसार उनी मंगलबार बिहानसम्ममा भियतनामको दोङदाङ शहरमा पुग्नेछन्।

उनले साढे दुई दिनको यात्रा र करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लागेका हुन्। उक्त दोङदाङ शहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ। त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीहरुले बताएका छन्। 

उनी भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा अपरान्ह २ बजे भियतनामको राजधानी हनोई पुग्ने कार्यक्रम छ। 

किमकाे सुरक्षाका लागि दोङदाङ शहरको रेलसेवा सर्वसाधारण नागरिकको लागि बन्द गरिएको दृश्य आफूले देखेको एएफपीका समाचारदाताले जनाएका छन्। उनले आफूले उक्त क्षेत्रमा रेल सेवा बन्द गरिएको र ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको देखेको बताएका छन्। 

साथै उनले तर त्यो रेलसेवा कहिलेसम्मका लागि बन्द हुने भन्ने बारेमा सरकारी अधिकारीहरुले केही नभनेका र सम्भवत मङ्गलबारसम्म बन्द हुन सक्ने पनि बताएका छन्। उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ यात्रामा छन्। हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ। अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ। 

उनीहरुबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो। सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो। एएफपी

प्रकाशित: १३ फाल्गुन २०७५ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App