७ वैशाख २०८१ शुक्रबार
समाज

उपत्यकामा साइबर अपराध बढ्दै, उजुरी दिने महिला बढी

काठमाडौं - साइबर अपराधको आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुक आतंकित बनेका छन्। जसको चपेटामा नेपाल पनि परेको छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा बर्सेनि साइबर अपराधको घटना बढ्दो छ।

महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी एक हजार १८ उजुरी दर्ता भएका छन्।महाशाखाका अनुसार सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, यूट्यूब, म्यासेन्जर, इमो, इन्स्ट्राग्राम, अनलाइन, इमेल, एटीएम, भाइबर र ह्वाटसपमार्फत साइबर अपराधका घटना हुने गरेका छन्।

पछिल्लो समय फेसबुकलगायत सामाजिक सञ्जालमा चिठ्ठा प-यो भनेर ठगीका घटना हुने गरेका महाशाखा प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठोरले बताए।‘नेपालमा साइबर अपराधको कानुन नबनेकोले सामाजिक सञ्जालबाट पीडित मुद्दालाई विद्युतीय कारोबार ऐनआनुसार कारवाही गरिन्छ,’ उनले भने, ‘मानिसले अनावश्यक रूपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका कारण साइबर अपराध बढेको देखिन्छ।’

महाशाखाले दिएको जानकारीअनुसार चालुआर्थिक वर्षको सात महिनामा ७ सय १६ महिला र ३ सय २ पुरुष गरी एक हजार १८ जानले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत साइबार क्राइमको उजुरी दर्ता गराएका छन्। 

साइबर अपराधसम्बन्धी मुद्दामा घटनाको ३५ दिनभित्र सत्यतथ्य सूचनासहित अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ। महाशाखाले उक्त अपराधअन्तर्गत दर्ता भएका उजुरीमध्ये ४४ विरुद्ध मुद्दा चलाएको छ। जसमध्ये सामाजिक सञ्जालमार्फत १९, ह्याकिङको ८, जथाभावी एसएमएस गर्ने ९, युट्युबमा जे पायो त्यही पोस्ट गर्ने ३ र नक्कली कम्पनी बनाएर अरूको आर्थिक खातामा जालसाजी गर्ने ५ मुद्दा छन्। 

महाशाखाका अनुसार युवावर्ग साइबर अपराधमा बढी सक्रिय छन्। जसमध्ये १५ देखि २५ वर्षसम्मका युवायुवती यस्ता घटनामा बढी संलग्न भएका देखिएका प्रहरीको तथ्यांकमा छ। कम्प्युटर, मोबाइल आदि जस्ता विद्युतीय उपकरणको नेटवर्कका माध्यमबाट हुने आपराधिक कार्य साइबर अपराधभित्र पर्छ। इन्टरनेटको व्यापक प्रयोगका कारण पछिल्लो समय साइबर क्राइम बढिरहेको छ। 

प्रकाशित: १३ फाल्गुन २०७५ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App