coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दुई वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा महिला क्रिकेट टोली उपाधि जित्ने लक्ष्य

काठमाडौं–इन्चोन एसियाली खेलकुदपछि नेपाली महिला टोली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने क्रममा अहिले हङकङमा छ । आइसिसी महिला विश्वकप खेल्ने लक्ष्यका साथ नेपाल छनोट चरणमा भाग लिन त्यहाँ पुगेको हो ।

आइतबारबाट सुरु हुने एसियाली छनोटमा नेपालसहित आयोजक हङकङ, थाइल्यान्ड र चीन रहेका छन् । सबैले एकअर्कासँग दुई÷दुई पटक खेलेपछि शीर्ष टोली अर्को वर्ष हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोटमा पुग्नेछ ।

नेपालले पहिलो खेल हङकङसँग आइतबार खेल्नेछ । थाइल्यान्डसँग सोमबार र चीनसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । त्यसपछि अक्टोबर १३ मा फेरी हङकङ, अक्टोबर १४ मा थाइल्यान्ड त्यसको भोलीपल्ट चीनसँग प्रतिस्पर्धा गर्नेछ ।

कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा नेपालले खेलेका तीन मध्ये दुई खेलमा पराजय भोगेको थियो । त्यसयता टोलीले पहिलो पटक विदेश यात्रा गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रतिबन्ध लगाउनुअघि पनि लामो विवादका कारण नेपाली क्रिकेट बन्धक बनेको थियो । जसको मार महिला क्रिकेटमाथि बढि परेको थियो । यद्दपी क्यानको विवाद यथावत रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले महिलाको एउटा घरेलु प्रतियोगिता आयोजना गरेको थियो । अहिलेको टोली छनोटका लागि त्यसैलाई आधार मानिएको थियो ।

लामो अन्तरालपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने तयारीमा रहँदा पनि नेपाली टोलीले भने सफलताको आशा राखेको छ । डेढ महिनाको प्रशिक्षणपछि नेपाली टोली अन्तर्राष्ट्रिय यात्रामा निस्केको हो ।  कप्तान रुविना क्षेत्रीले तयारी सन्तोषजनक भएको र उपाधिका साथ फर्केने विश्वास व्यक्त गरिन् । उनले भनिन् ‘हाम्रो लक्ष्य भनेको उपाधि जितेर फर्कने हो । यो नेपालीका लागि दशै उपहार हुनेछ ।’

प्रशिक्षणको सुरुआतमा मनोबल कमजोर रहेको गुनासो गर्दै रुविनले थपिन्, ‘अब हामी पूर्ण रुपमा तयार भएका छौं । हामीले अन्य टोलीको प्रदर्शनको विश्लेषण गर्नुका साथै त्यही अनुरुपको योजना बनाएका छौं ।’ नेपाली टोलीका प्रशिक्षक राजु बन्स्यातको नजरमा प्रतियोगिताका सहभागी सबै टोलीका स्तर समान खालका छन् । उनले भने, ‘परिणाम अनुमान गर्न कठिन छ । तर पनि हाम्रो लक्ष्य भनेको उपाधि जित्ने र ग्लोबल छनोटमा पुग्ने हो ।’

घरेलु मैदानमा खासै अभ्यास गर्न नपाउनु टोलीका लागि कमजोर पक्ष भएको प्रशिक्षक बस्नेतको ठम्माई छ । त्यसबाहेक प्रशिक्षण सन्तोषजनक रहेको उनले बताए ।
हङकङ जानुअघि तयारीका क्रममा महिला टोलीले पुरुष टोलीसँग अभ्यास खेल खेलेको थियो । ‘पुरुष टोलीसँग खेल्दा त्यसले मनोबल उच्च हुन्छ । पुरुष खेलाडीलाई रोक्न सक्दा त्यसको फाइदा महिलासँगको खेलमा हुन सक्ने रुविनाको बुझाई छ । कप्तानले प्रशिक्षणमा ब्याटिङमा बढी केन्द्रित रहेको बताइन् । ‘हामी बलिङ र फिल्डिङमा राम्रै छौं । त्यसैले हामीले ब्याटिङ सुधारका लागि प्रयास गरिरहेका छौं ।’ सवनम राई, ज्योति पाण्डे र निर्मला शाही टोलीमा पहिलो पटक परेका हुन् ।

 

प्रकाशित: २२ आश्विन २०७३ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App