८ वैशाख २०८१ शनिबार
खेल

स्विस टोलीमा परिपक्वताको खाँचो

सञ्जीव मिश्र

युरोपियन च्याम्पियनसिपको लिग चरणको प्रदर्शनकै आधारमा स्विट्जरल्यान्डमाथि पोल्यान्डले जित्छ भन्ने थियो। तर, लिग चरणमा भन्दा नकआउट चरणमा सधैँ दाबेदार मानिएको टोली नै उच्च प्रदर्शन गर्ने निश्चित नहुने शनिबारको खेलमा प्रस्ट देखिन्थ्यो। टाइब्रेकरमा बलियो वा कमजोर भन्नेको खासै अर्थ राख्दैन जुन टोलीको पनि बराबरकै सम्भावना रहन्छ। पेनाल्टीमा स्विसले गल्ती गरे जसका कारण पोल्यान्डले जित्यो। खेलमा १–० ले पछि परेर थप समय हुँदै पेनाल्टीसम्म पुर्‍याए पनि त्यहाँबाट नतिजा लिन भने स्विट्जरल्यान्ड असफल रह्यो। लिग चरणमा सधँै राम्रो गर्ने, नकआउट चरणमा पुगेपछि झिनो स्कोर र पेनाल्टीमा हार्ने स्विट्जरल्यान्डको नियति जस्तै भइसकेको छ। आधुनिक फुटबलमा जितका लागि चाहिने परिपक्वता स्विस टोलीमा अझै देख्न सकिएको छैन।

नत्र खेल अवधिभरको प्रदर्शन हेर्दा अन्डर डग मानिएको स्विस टोलीको प्रदर्शन उच्च रह्यो तर टोलीले त्यसलाई गोलमा बदल्न सकेन। त्यसको एउटा मुख्य बाधक पोल्यान्डका गोलकिपर लुकास फाविनास्की रहे। टोलीका अन्य खेलाडीको प्रदर्शन अपेक्षाभन्दा कमजोर हुँदा पनि उनी भने निकै चुस्त देखिए। उनले स्विसका केही खतरनाक आक्रमण पनि रोकेका थिए।

खेलमा पोल्यान्डको सुरुआत ठिकै थियो। तर अपेक्षा गरिएका स्टार रोबर्ट लेवान्डोवस्की फेरि पनि चल्न सकेनन्। त्यसको अवसर टोलीको फरवार्डलाइनमा पर्‍यो। टोलीले आक्रामकभन्दा पनि काउन्टर एट्याकमा गोल गर्ने रणनीति लियो। भाग्यवश टोली काउन्टर एट्याकमै गोल गर्न पनि सफल भयो।

अर्कोतर्फ स्विट्जरल्यान्डले भने सुरुआतबाटै आक्रामक खेल खेल्यो। खेलमा हाबी पनि रह्यो। पोल्यान्डले काउन्टर एट्याकमा जाने, अन्यथा आफ्नो जोन सुरक्षित राख्ने योजनासहित खेल्यो।

स्विसका जर्दान साकिरी र रिकार्डो रोड्रिग्वेज निकै प्रभावकारी देखिए। मिडफिल्डका अन्य खेलाडीले पनि उनीहरूलाई राम्रो साथ दिए। पोल्यान्डले अग्रता लिए पनि खेलमा भने स्विस टोली हाबी थियो। दोस्रो हाफको २० मिनेटपछि पोल्यान्डका खेलाडी अग्रता दोब्बर पार्ने भन्दा पनि अग्रता जोगाएर नतिजा आफ्नो पक्षमा पार्न चाहे जस्तो देखिन्थे। त्यस विपरीत स्विसले आक्रमण थप तीब्र पारेको थियो। १–० ले पछि परेको टोलीले खेल्ने आक्रामक नै थियो। त्यहीअनुसार स्विसले खेल्दा पोल्यान्डलाई अग्रता जोगाउन हम्मे पर्‍यो। रक्षात्मक हुँदा पोल्यान्ड थप दबाबमा परेको थियो। लगातारको प्रयासले स्विस टोली गोल फर्काउन पनि सफल भयो। साकिरीले गरेको त्यो गोल सम्भवतः प्रतियोगिताकै उत्कृष्ट गोलमा पर्दछ। त्यसरी हार नजिक पुगेर पनि स्विस खेलमा फर्कन सफल भयो तर त्यसलाई आफ्नो पक्षमा पार्न सकेन।

थप समयमा गोल गर्न नसकेपछि गोल खानबाट दुवै टोली जोगिने प्रयास गर्छन्। किनकि गोल फर्काउने समय कम हुन्छ। थप समयमा हार्नु नपरोस् भन्नेमा दुवै टोली सचेत हुन्छन्। थप समयमा पनि दोस्रो हाफमा जस्तै स्विस टोलीले आक्रामक खेल्यो भने पोल्यान्ड दबेर खेल्यो। पोल्यान्ड नै टाइब्रेकरमा जान खोजे जस्तो देखियो। स्विसले भने आफ्नो आक्रमणमै बढी जोड दियो। पोल्यान्डका गोलकिपर फाविनास्की थप समयमा पनि प्रभावकारी रहे। एउटा गोलकिपरको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने उनले प्रमाणित गरेका थिए।

साकिरी र उनको टोलीले जुन प्रदर्शन गरेको छ, त्यसका आधारमा स्विस जितेको हकदार थियो। टाइब्रेकरसम्म पुगेर पनि स्विस आफ्नै कारण खेल हार्न पुग्यो। स्विसलाई पोल्यान्डले हराएको होइन, आफै हारेको हो। १ सय २० मिनेटको खेलमात्र मूल्यांकन गर्ने हो भने स्विस जितको हकदार थियो। अर्कोतर्फ पोल्यान्ड जितको हकदार थिएन।

युरोपियन च्याम्पियनसिपमा अझै धेरै रोचकता आउन बाँकी छ। अब ठूला भनिएका टोलीहरूलाई अघि बढ्न कठिन हुनेछ। कमजोर मानिएका टोलीले पनि सहज हार मान्ने छैनन्। आइतबार हुने खेलमा पनि जर्मनी, फ्रान्स र बेल्जियम दाबेदार हुन्।  तर, फुटबलमा नकआउट खेल त्यस्तो हो जहाँ नामले मात्र जित्न सकिन्न। ठूला टोलीले पनि जितका लागि निकै संघर्ष गर्नुपर्ने हुन्छ।

 

प्रकाशित: १२ असार २०७३ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App