काठमाडौं – पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘एकल डेउडा गायन’ मा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीले राष्ट्रिय नाचघरमा उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्।
उनले ५ वटा ठाडी भाकाका गीत र ५ वटा दोहोरी गाउँदा उनलाई दोहोरीमा पति कित्थ्या बादी र पूर्वेली गायिका झुमा लिम्बुले साथ दिए। ठाडी भाकामा उनले जिन्दगीका दुःखका कथा र दोहोरीमा रोमान्टिक स्वाद सुनाइन्। पचासको दशकमा लोकप्रिय रहेकी गायिका बादी लामो समयपछि गायनमा फर्किएकी हुन्। आधुनिक र परम्परागत संगीतको फ्युजनसँगै डेउडा गाउँदा ‘वान्स मोर’ पाइरहिन्। गायकगायिकालाई युवा संगीतकारहरू शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण साउदेन लिम्बु र सञ्जीब मैनालीले साथ दिए। एउटा ठाडी गीतमा देवु वोराले भावुक नृत्य गरिन्।
कार्यक्रमको सहआयोजकमा रैथाने संगीत समूह काठमाडौं र अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान पोखरा थियो। करिब दुई घन्टासम्म भएको कार्यक्रमको सुरुमै आयोजक कन्सेप्ट नेपालले लोकगायिका डीक्रालाई ५० हजार रुपैयाँ नगदसहित कदर पत्र प्रदान गरेको थियो। संस्थाका अध्यक्ष पवन शाक्यले नेपाली लोकसंगीतमा अतुलनीय योगदान पुर्याएकी बादीलाई सम्मान गरिएको बताए।
आयोजक कन्सेप्ट नेपालले लोकगायिका डीक्रा बादीलाई ५० हजार रुपैयाँ नगदसहित कदरपत्र प्रदान गर्यो। त्यस्तै गीतकार हर्क साउँदले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोरिदिने घोषणा गरेका छन्।
लोकगायिकाको विषयमा कवि एवं सांस्कृतिक अध्येता हेमन्त विवशले जानकारी दिएका थिए। ‘डीक्राको स्वरमा अचम्मको जादु छ’, उनले भने, ‘बाजा बिना गाउँदा पनि सुमधुर सुनिन्छ।’ लोकगायिकालाई कदरपत्र र नगद संगीतकार बुलु मुकारूङ र कवि श्यामलले हस्तान्तरण गरेका थिए। उनीहरूले ओझेलमा परेका बादीजस्ता स्रष्टाहरूलाई खोजेर बाहिर ल्याउनु पर्ने बताए।
गीतबाट भावुक बनेका दर्शकले हल बाहिर राखिएको चन्दामा केहीले घोषणा गरेर र केहीले घोषणा नगरी बाकसमा दान गरेका थिए। दर्शकसहित संगीतकार कालीप्रसाद बास्कोटाले २० हजार, संगीतकार बुलु मुकारुङले ५ हजार, पर्यटनकर्मी लिलाराम खड्काले ५ हजार दान गर्दा ४३ हजार ८ सय ७० रुपैयाँ उठेको थियो।
गायिका शोभा थापाले डीक्राको एउटा गीत रेकर्ड गरेर भिडियोसमेत बनाउने खर्च व्यर्होने प्रतिबद्धता जनाइन्। सहयोग पाउँदा डीक्रा र उनका पतिको आँखा रसाएका थिए।
स्वास्थ्यका हिसाबले डीक्राको पाठेघरको र कित्थ्यालाई ब्लड प्रेसरको समस्या छ। कार्यक्रममा ‘सुन साइँली’ गीतका गीतकार हर्क साउँदले डीक्राको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यर्होने घोषणा गरे।
‘हामीले डीक्रा दिदीलाई गायनमा पुनरागमन गराउन, उहाँको प्रतिभालाई नयाँ पुस्ता माझ चिनाउन र आर्थिक सहयोग जुटाउन एकल गायन कार्यक्रम गरेका हौं’, कार्यक्रमका संयोजक अमृत भादगाउँलेले भने, ‘कार्यक्रम हामीले सोचे भन्दा राम्रो भयो।’
कार्यक्रममा रैका टुर्स एण्ड टेक्सका प्रबन्ध निर्देशक अमरबहादुर शाही, हिमाल डेन्टल अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्ट, मनास्लु पदमार्गका अभियन्ता लाक्पा ढुण्डुप लामा, प्रगतिशील युवा सशक्तिकरण केन्द्र जिरीका अध्यक्ष लिलाराम खड्का, रसुवा टे«क्सका सञ्चालक गगनराज न्यौपाने, कैलाली विद्या निकेतन धनगढीका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाह, दमौलीका गीतकार सागर उदास, चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्ट शंखमुलका सिइओ गणेश जोशी, सिद्धार्थ विद्यापिठ गठ्ठाघरकी प्रिन्सिपल दीपिका रिमाल थापा, हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक ओमप्रकाश गुरुङ, करबाकेली इको टे«कका अभियन्ता चामबहादुर पुन, डोट्याली गीतकार हर्क साउँद, द आर्ट ग्लो साइन प्रालि सोह्रखुट्टेका प्रमुख कृष्णगोपाल श्रेष्ठ लगायतले सहकार्य गरेका थिए।
प्रकाशित: १३ फाल्गुन २०७५ ०७:२२ सोमबार