७ वैशाख २०८१ शुक्रबार
खेल

मेरो कार्यकालमा स्तर बढ्छ : नवनियुक्त नेपाली फुटबल प्रशिक्षक

काठमाडौं – दुई वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त योहान कालिनले आफ्नो कार्यकालमा नेपाली फुटबलको स्तरोन्नति हुने बताएका छन्।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा आइतबार भएको आफ्नो पहिलो पत्रकार सम्मेलनमा कालिनले घरेलु प्रशिक्षकलाई समेत साथमा लिएर नेपाली फुटबलको स्तर विकास गर्ने बताएका हुन्।

गत जनवरी १७ मा एन्फाको कार्यसमितिको बैठकद्वारा दुई वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका कालिनले नेपाली फुटबलको स्तर वृद्धिका लागि ग्रास रुट फुटबललाई ध्यान दिनुपर्ने आवश्यकता आंैल्याए। कालिनले नेपाली फुटबल विकासका लागि पुनः जिम्मेवारी पाउनु निकै सुखद क्षण रहेको उल्लेख गरेका छन्। 

सन् २०१४ मा सहिद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्रसँगको सहकार्य स्मरण गर्दै कालिनले प्रतिभावान् नेपाली युवा खेलाडीसँग काम गर्न निकै उत्साहित भएको बताएका छन्। ‘नेपाल फर्कनु मेरा लागि निकै खुसीको क्षण हो,’ मुख्य प्रशिक्षक कालिनले भने, ‘त्यसमा पनि राष्ट्रिय टोलीको जिम्मेवारी पाउनु सम्मानित महसुस गरेको छु। नेपाली फुटबलमा पहिले काम गरिसकेकाले यहाँका बारेमा जानकार नै छु। त्यसैले राष्ट्रिय टोलीबाट काम गर्न केही सहज हुनेछ। ’

स्विडिस प्रशिक्षक कालिनले सन् २०१४ मा मच्छिन्द्रलाई ‘ए’ डिभिजनको दोस्रो स्थान दिलाएका थिए। तत्कालीन समयमा घरेलु लिगमा मच्छिन्द्रलाई उपविजेता बनाउँदा कालिनको रणनीतिले निकै चर्चा पाएको थियो। करिब पाँच वर्षपछि नेपाली फुटबलमा फर्किएका कालिनको करार सम्झौता भने आगामी १७ गतेदेखि लागू हुने एन्फाले जनाएको छ।

कालिनले मलेसियाविरुद्ध आगामी चैत १२ गते हुने मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा आफ्नो उपस्थितिलाई सार्थक बनाउन पाउनेछन्। कालिनले पनि नेपाली टोलीबाट आफ्नो पहिलो वैदेशिक यात्रालाई सुखद बनाउने लक्ष्य रहेको प्रतिक्रिया दिएका छन्। मलेसियासँगको खेलका लागि स्थान र समय भने सार्वजनिक भइसकेको छैन। 

मलेसियासँग खेल भएमा नेपालले करिब ६ महिनाको अन्तराल अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ। बंगलादेशमा भएको गत साफ च्याम्पियनसिपपछि नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन। यता, कालिनले स्तरविकाससँगै नेपालका लागि साफ च्याम्पियनसिप राम्रो गर्नु मुख्य लक्ष्य रहेको बताउँदै त्यसका लागि छिट्टै घरेलु प्रशिक्षकसँग पनि सहकार्य गर्ने उल्लेख गरे।

‘दक्षिण एसियाली प्रमुख प्रतिद्वन्द्वी भारतले अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रगति गरिसकेको छ,’ कालिनले भने,‘साफमा उनीहरू नै नेपालका लागि मुख्य चुनौती हुन्। आगामी साफमा उनीहरुविरुद्ध राम्रो खेल्न सक्ने टिम बनाउनु नै मेरो लागि मुख्य लक्ष्य हुनेछ।’ उनले एन्फासँग निश्चित लक्ष्यका लागि सम्झौता नभए पनि नेपाली फुटबल विकास गर्न कयौं विषयमा छलफल भएको स्मरण गरे।

कालिनले दुई वर्ष नेपाली टोली सम्हाल्ने भए पनि उनको पारिश्रमिक भने एन्फाले सार्वजनिक गरेको छैन। एन्फाका अध्यक्ष कर्माछिरिङ प्रशिक्षकको श्रम इजाजतका लागि प्रक्रिया सुरु भइरहेकाले तत्कालका लागि उनको पारिश्रमिकका विषयमा सार्वजनिक गर्न नमिल्ने बताएका छन्।

‘प्रशिक्षकको तलब दिने प्रक्रिया र श्रम स्वीकृतिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्राचार गरिसकेका छौं,’ एन्फा अध्यक्ष शेर्पाले भने,‘राखेपपछि खेलकुद मन्त्रालय, गृह मन्त्रालय, श्रम विभाग हुँदै अध्यागमनसम्म प्रक्रिया पुग्नुपर्ने भएकाले लामो समय लाग्नेछ। त्यसैले तत्कालका लागि उनको करार सम्झौताबारे बोल्ने अवस्था छैन।’

कालिनले मलेसियाविरुद्ध आगामी चैत १२ गते हुने मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा आफ्नो उपस्थितिलाई सार्थक बनाउन पाउनेछन्।

प्रकाशित: १३ फाल्गुन २०७५ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App