८ वैशाख २०८१ शनिबार
राजनीति

शोभराजलाई थुनिराख्ने की छाड्ने?

काठमाडौं - सर्वोच्च अदालतले कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराजको मुद्दामा ज्येष्ठ नागरिकको सुविधा दिने वा जेलमै राख्ने जिम्मेवारी सरकारलाई दिँदै परमादेश जारी गरेको छ। शोभराजलाई ज्येष्ठ नागरिकमा छुट सुविधा दिन मिल्ने हो वा होइन भनी तीन महिनाभित्र सरकारले निर्णय दिनुपर्ने परमादेशमा उल्लेख छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले शोभराजको रिट निवेदनमाथि फैसला गर्दै तीन महिनाभित्र निर्णय गर्न परमादेश दिएको हो।

ज्येष्ठ नागरिक ऐन २०६३ को १२(१ ख) र कारागार नियमावलीमा टेकी उनी आफूलाई थुनामुक्त गरिदिन परमादेश मागेका थिए। ज्येष्ठ नागरिक ऐनमा सरकारवादी भई चलेको कुनै मुद्दामा ७० वर्ष पूरा भई ७५ वर्ष ननाघेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म कैद छुटको व्यवस्था गरेको छ। शोभराजले ज्येष्ठ नागरिक ऐनमा टेकेर निवेदन दर्ता गरे पनि ऐनमा ‘ज्येष्ठ नागरिक’ भन्नाले ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनुपर्छ’ भन्ने परिभाषा उल्लेख छ। तर उनी भने विदेशी नागरिक हुन्।

शोभराजले नेपाली ज्येष्ठ नागरिक ऐनमा टेकेर आफू उमेर हदका कारण छुट्न पाउने सुविधा माग्दै शोभराजकी कानुन व्यवसायी अधिवक्ता शकुन्तला थापाले सर्वोच्चमा कात्तिक १९ मा रिट निवेदन दर्ता गरेकी थिइन्। शोभराजको रिट निवेदनउपर आइतबार सर्वोच्चले रिट जारी गरेको हो। यसअघि कात्तिक २० मा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले शोभराजलाई थुनामा राख्नुको कारणबारे गृह मन्त्रालयलाई कारण सोधेको थियो। ‘द सर्पेन्ट किलर’का रूपमा कुख्यात शोभराज अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको २०३२ सालमा भएको हत्या अभियोगमा २०६० सालमा नेपालमा पक्राउ परी कैद सजाय भोगिरहेका छन्।

तीन महिनाभित्र निर्णय गर्न सरकारलाई परमादेश

जिल्ला अदालत भक्तपुरको कैदी पुर्जीअनुसार २०८० असोज १ सम्म कारागारमा बस्नुपर्नेछ। शोभराजले जन्मकैद अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ। शोभराजले आफूले २० वर्ष सजाय तोकिएको मध्ये १५ वर्षभुक्तान गरिसकेको दाबी गर्दै आफू असल चालचलन भएकाले रिहाइका लागि यसअघि नै सिफारिस भइसकेको दाबीसमेत रिट निवेदनमा गरेका थिए।
गोलघरमा बस्नुपर्दा आफूलाई क्रोनिक हर्ट डिजिज लागेको बिलौना पनि रिट निवेदनमा उल्लेख छ। मुटुको सर्जरीपछि भल्ब फेरिएकाले आफू निकै नाजुक रहेको निवेदनमा उल्लेख छ। कुनै पनि संक्रमणबाट आफू जोगिनुपर्ने भएकाले समेत जेलबाट छुट्न पाउने दाबी रिट निवेदनमा गरिएको थियो। ‘जुनसुकै बेला मेरो जीवन जोखिममा रहनेछ। अतः मलाई अदालतको संरक्षण र न्यायको तत्कालै आवश्यकता, मानवताको जगेर्ना, भेदभावको अन्त्य गरी कानुनी प्रावधानको कार्यान्वयन नेपालको संविधानको धारा १८ अनुसार हुनु आवश्यक रहेको अनुरोध गर्दछु,’ निवेदनमा भनिएको थियो।

शोभराज कसरी जेल परे ?
२०३२ पुस ८ गते मनोहरा खनारमा एक महिलाको जलेको अवस्थामा निर्वस्त्र शव फेला परेको थियो। मुटुमा चार ठाउँमा छुरी रोपिएको र नचिनिने अवस्थामा भेटिएको थियो। पछि अनुसन्धानपछि त्यो शव अमेरिकी नागरिक कोन्नीको भन्ने खुलेको थियो। त्यसैगरी २०३२ पुस ६ मा अरनिको राजमार्गमा डढेको अवस्थामा एक पुरुषको शव भेटियो। भक्तपुरको पलाँसेस्थित ढलमा भेटिएको शवको अनुहार डढाइएको थियो। सो शव कोन्नीका प्रेमी लरेन्टको थियो। अनुसन्धानपछि कोन्नी र लरेन्ट एउटै योजनामा मारिएको रहस्य खुल्यो। दुवैको हत्यामा संलग्न रहेको भन्दै शोभराज पक्राउ परेका थिए। दुई पर्यटक नेपाल आएको बेला हत्या गरेको ठहरमा उनलाई अदालतबाट दोषी ठहर गरी २० वर्ष कैद तोकिएको थियो। उनलाई जन्मकैदसहित २०८० असोज १ सम्म कैद बस्नुपर्नेगरी २०६० सालमा भक्तपुर जिल्ला अदातलबाट फैसला भएको थियो। जिल्ला अदालतको फैसलाअनुसार अझै उनले पाँच वर्ष जेल बस्नुपर्नेछ।

थुप्रै देशमा हत्या अभियोग लागेका उनलाई भारतमा १२ वर्Èको जेल सजाय सुनाइएको थियो। रिहा हुनु दुई वर्È बाँकी छँदा मार्च १९८६ मा भारतको सबैभन्दा बलियो मानिने तिहाड जेलबाटै उनी फरार भएका थिए। भारत सरकारले थाइल्यान्ड सरकारलाई सुपुर्दगी गर्न सक्ने आशंकाले उनी जेलबाट भागेका थिए। धेरै देशमा उनले गरेका अपराधको प्रमाण नष्ट भइसकेका थिए। नेपालमा आफूविरुद्ध प्रमाण छ भन्ने उनले पत्तै पाएनन् र उनी निर्धक्क नेपाल आएका थिए। २०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेल्दाखेल्दै महानगरीय प्रहरी अपराध महाशाखाले शोभराजलाई पक्राउ गरेको थियो। उनले डकुमेन्ट्री बनाउन र हस्तकला व्यापार गर्न पहिलोपटक नेपाल आएको दाबी गरेका थिए। उनी विदेशी नागरिक हत्या अभियोगमा फरार अभियुक्त भएकाले हनुमानढोकाको हिरासत कक्ष हुँदै सेन्ट्रल जेल पुगेका थिए। उनलाई भक्तपुर जिल्ला अदालतले हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७५ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App