६ वैशाख २०८१ बिहीबार
अन्य

‘आफ्नो काम गर्दा पनि हप्की सहनुपरेको छ’

सवारी साधनको ट्वाँट्वाँटुँटुँ। आउजाउ गर्नेहरूको चहलपहल। भुइँमा मिलाएर राखिएका तलुवा, बुरुस, रेसमी धागो र पालिसका बट्टाहरू। एक अधबैंसे पुरुष जुत्ता सिलाइरहेका थिए। यो  दृश्य हो, अघिल्लो साता सुनधारास्थित नेपाल टेलिकमको भवन अगाडिको। त्यहीँ बसेर जुत्ता सिलाइरहेका थिए, रौतहटका ४० वर्षीय दिनेश महरा। 

उनले जुत्ता सिलाइरहेकै बेला मोटरसाइकलमा आएका एक युवकले सोधे, ‘दाजु, आउँदाआउँदै जुत्ता उध्रियो। यति सिलाएको कति लिनुहुन्छ ?’

उनले खुसी हुँदै भने, ‘२० रूपैयाँ हजुर।’
ती युवकले उनको जवाफ सुन्नेबित्तिकै आफ्नो जुत्ता फुकालेर अगाडि टक्क भुइँमा राखिदिए। उनले खुरुखुरु जुत्ता सिलाइदिए। जब ज्यालास्वरूप उनले २० रूपैयाँको नोट पाए, तब त्यसलाई ढोगेर गोजीमा राखे र मुस्कुराउँदै भने, ‘आज बल्ल बोहनी भयो।’

उनले जुत्ता सिलाएरै जीवन धानिरहेकोे बताए। ‘म बिहान आठ बजेदेखि राति ८ बजेसम्म यहीँ काम गरिरहेको हुन्छु। यसबाटै दिनमा हजार–१५ सय रूपैयाँ कमाइ हुन्छ,’ उनले भने, ‘मासिक चार हजार कोठाभाडा, तीन हजार रासनपानी र तीन हजार पकेट खर्चलार्ई छुट्टयाउँछु। मासिक १० हजार रूपैयाँ जति बचत गर्छु। यसैको कमाइबाट मैले छोरालाई पढाइरहेको छु।’ 

उनले यो काम गर्दा धेरैको हप्की खाएको गुनासो गरे। ‘कतिले हप्काउँदै जुत्ता सिलाई दे भन्छन्। कतिले नगरपालिकालाई बोलाइदिऊँ भन्छन्,’ उनले भने, ‘कतिले पैसा फेरि आउँदा दिऊँला भन्दै टार्छन््।’ कुनै पनि काम सानो वा ठूलो हुँदैन। तर, मान्छेहरूले जुत्ता सिलाउने कामलाई सानो सम्झन्छन्। कतिपयले नगरपालिकालाई बोलाइदिऊ भनेर धम्काउँछन्।’
गरिखान सजिलो नभए पनि आफू मिहिनेत गरिरहेको उनी बताउँछन्। ‘यहाँ काम गरेर खान सक्ने भए पनि ठगेर खाने धेरै छन्,’ उनले भने, ‘कहिलेकाहीँ कतिले धम्काउँदै पैसा माग्छन्। हामी झगडा गर्न चाहँदैनौं र पैसा दिएर पठाउँछौं।’
उनको विगत कम्ती कहालीलाग्दो छैन। उपचार नपाएर आमाले ४५ वर्षमा ज्यान गुमाएको उनले सुनाए। ‘आर्थिक अभावले बेलैमा उपचार नहुँदा आमाको ज्यानै गयो,’ उनले भावुक हुँदै भने, ‘म त्यतिबेला १४ वर्षको थिएँ। अर्को साल क्षयरोगले २४ वर्षको उमेरमै दाजु बित्नुभयो। तीन वर्षपछि यहीँ तनावले ५० वर्षको उमेरमै बुबा पनि बित्नु भयो। चोटमाथि चोट थपिँदा थेग्न गाह्रो हुने रहेछ।’ 

उनले हेटौडामा भिनाजुसँग काम सिकेर जुत्ता सिलाउन थालेका हुन्। ‘जुत्ता सिलाएर जेनतेन गुजारा चलाउँदै थिएँ। फेरि बीचमै विपत्ति आइलाग्यो’ उनले भने, ‘१० वर्षअघि बागमतीले घरै बगाइदियो। आम्दानीको स्रोत केही छैन।’ उनले रौतहटको सुकुम्बासी बस्तीमा रेडक्रसले बनाइदिएको घरमा ८ र २ वर्षीय दुई छोरीसित श्रीमती कष्टपूर्वक बसिरहेको पनि बताए।

विगतमा दिल्लीमा रिक्सा पनि चलाएको उनले सुनाए। ‘दिल्लीमा रिक्सा चलाउँदै थिएँ। त्यत्तिकै जफत गरिदिए,’ उनले सम्झिए, ‘त्यसपछि निराश हुँदै घर फर्किएँ। यस्तो घाम नलाग्ने ठाउँमा बसेर धुलोधुवाँ खाँदै जुत्ता सिलाउनु पर्छ। कतिले त मधेसी भन्दै गाली गर्छन्। यस्तालाई नगरपालिका लाइदिऔं भन्छन्।’

उनले यही काम गरेर छोराछोरीलाई सरकारी जागिरे बनाउने लक्ष्य लिएको बताए। ‘जस्तै दुःख गरेर भए पनि छोराछोरीलाई पढाउँछु। तीनै जनालाई पढाएर सरकारी जागिरे बनाउँछु,’ उनले भने, ‘उनीहरूकै लागि अरूको गाली सहेर काम गर्दैछु।’

उनले घरपरिवारबाट छुट्टै बस्दा निकै असहज हुने बताए। ‘परिवारबाट छुट्टै बस्दा कहिलेकाहीँ न्यास्रो लाग्छ। यत्रो भीडभाड सहर पनि सुनसान लाग्छ,’ उनले भने, ‘नानीहरू बिरामी हुँदा तनाव हुन्छ। भन्नेबित्तिकै घर पुग्न सकिँदैन। जानुआउनुमै धेरै खर्च हुन्छ। त्यसैले यतैबाट पैसा पठाउँछु। परिवारबाट छुट्टै बस्ने रहर कसलाई होला र ?’
उनले सकुञ्जेल यही पेसा अँगाल्ने बताए। ‘यो काम गर्न थालेको २० वर्ष भएछ। बाँचुञ्जेल यही काममा रमाउँछु। कसो दिन नफर्किएला र ?’ उनले भने।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App