८ वैशाख २०८१ शनिबार
अन्य

स्टाइलिस अनि कुल ड्रेसअप

चिसो मौसमको अन्त्यसँगै गर्मी मौसमको सुरुवात भइसकेको छ। यो मौसममा कस्तो पहिरन गर्ने भन्ने कुराको हरेकलाई अन्योल हुन सक्छ। यो मौसममा कसरी स्टाइलिस अनि कुल देखिन सकिन्छ ? अधिकांशलाई पिरोलिने प्रश्न हो यो। यो बेला बिहान–बेलुका चिसो तथा दिउँसो गर्मी हुने गर्छ। त्यसैले बिहान–बेलुका चिसो र दिउँसो घाम र तातो हावाबाट जोगिने पहिरन लगाउनुपर्छ। यो मौसममा धुलो मिसिएको हावा उड्ने गरेकाले यसबाट जोगिने पहिरन लगाउनुपर्ने व्यापारी बताउँछन्। 

ललितपुरका सुरन श्रेष्ठ कलेज जाँदा बिहान चिसो नै हुने गरेको बताउँछन्। ‘बिहानको समय एकछिन चिसो भए पनि दिनभर भने गर्मी नै हुन्छ,’ उनले भने। उनी बिहानको चिसोबाट बच्न विन्ड प्रुफ ज्याकेट लगाउने गरेका छन्। 

यो मौसममा शरीरलाई अन्य मौसमभन्दा विशेष स्याहारको आवश्यकता पर्छ। मौसम परिवर्तन हुने समय भएकाले भाइरल संक्रमणको जोखिम रहने चिकित्सक बताउँछन्। त्यसकारण यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ। 
यो समयमा पहिरन मात्र नभएर छालाको स्याहार समेत गर्नुपर्छ। दिउँसो घाम लाग्ने भएकाले सनब्लक क्रिम प्रयोग गर्नुपर्ने ब्युटिसियन बताउँछन्। शरीरलाई बचाउन बजारमा विभिन्न प्रकारका एक्सेसरिज उपलब्ध छन्, जसको प्रयोग गर्नु उपयुक्त मानिन्छ। 

मानवी गौतम पहिरनको विषयमा निकै सचेत छिन्। प्राइभेट कलेजकी शिक्षिका उनी प्रायः अफिसको ड्रेसमा ध्यान दिनुपर्ने बताउँछिन्। दैनिक प्रयोग गर्ने ड्रेसमा विन्ड स्विटर र स्कार्फ उनको अनिवार्य पोशाक नै हो। ‘कलेज पढाउन बिहान निस्कनुपर्छ, बिहानको लागि न्यानो लुगा लगाए पछि दिउँसो भने गर्मी हुन्छ, ब्यागमा एक्ट्रा लुगा राख्ने गरेकी छु,’ उनले भनिन्। मौसमको ठ्याक्कै अड्कल नहुने भएकाले निकै अन्योल हुने उनी बताउँछिन्। घुमफिरमा जाँदा पनि निकै अन्योल हुने उनको अनुभव छ। उनी भन्छिन्, ‘दैनिक प्रयोग गर्न भिन्न प्रकारका दैनिक एक्सेसरिज प्रयोग गर्छु, जसले गर्दा आफूलाई बचाउन सकियोस्।’ 

युनिसेक्स कलेक्सनकी सञ्चालिका एलिसा मगर अहिलेको मौसमलाई ‘झुक्याउने मौसम’को संज्ञा दिन्छिन्। यो मौसममा प्रायः उलनका पातला र हलुका खालका लुगा लगाउनुपर्ने उनको भनाइ छ। ‘प्रायः युवा यो मौसममा कस्तो लुगा लगाउने भन्ने कुरामा निकै अलमलिएको पाइन्छ, लुगा किन्दा समय र फेसन अनुसार किन्नुपर्छ,’ उनी सुझाउँछिन्। ग्राहकले यो मौसममा के लगाउँदा बेस हुन्छ भनेर सल्लाह गरेर लुगा किन्ने गरेको उनले बताइन्। 

उपयुक्त पहिरनहरू

यो मौसममा कस्तो लुगा लगाउने कुरामा विचार गर्नुपर्ने व्यापारी एलिसा मगर बताउँछिन्। उनी भन्छिन्, ‘बजार निकै फराकिलो छ। यहाँ जुनसुकै मौसमको लागि आवश्यक सामग्री पाउन सकिन्छ। तर, के र कसरी लगाउने भन्ने कुराको ज्ञान हुन आवश्यक छ।’ मौसम अनुसार उपयुक्त ड्रेस लगाउन नसक्नु धेरैको समस्या हुने गरेको उनी बताउँछिन्। 

ट्राउजर
गर्मी महिनाको सुरुवातको क्रममा भए पनि चिसोले नछोडेको हुँदा हलुका खालको ट्राउजरको प्रयोग गर्न सकिने दीपेन्द्र शर्मा बताउँछन्। योर सपका सञ्चालक उनी भन्छन्, ‘जमाना युनिसेक्सको छ, बजारमा विभिन्न क्वालिटीका ट्राउजरहरू छन्, यो ठिक्क मौसमको लागि भनेर पनि धेरै डिजाइनका लुगा बजारमा आएका छन्।’ सामान्यतया हलुका र स्पोर्टस् लुक्स देखिने ट्राउजरको निकै चल्ती रहेको उनी बताउँछन्। सामान्यतया यी ट्राउजर ८ सय रूपैयाँबाट सुरु हुने उनी बताउँछन्। 

चेक सर्ट
प्रायः तन्नेरीहरू चेक सर्टलाई हरेक मौसममा लगाउने गरेको पाइन्छ। चेक सर्टमध्ये अलिक बाक्लो खालका कटनका सर्ट यो मौसममा लगाउन उपयुक्त हुने व्यापारी दीपेन्द्र बताउँछन्।  फरक किसिमको लुक्समा देखिनको लागि भित्रबाट नर्मल टिसर्ट वा स्यान्डो लगाई बाहिरबाट ओपन्ली सर्ट लगाउन सकिने उनी बताउँछन्। ‘दिउँसोको समयमा सर्टलाई खुला गरेर हिँड्दा कुल देखिन्छ, बिहान–बेलुकी टाँक लगाएर न्यानो पनि पाउन सकिन्छ,’ उनले हाँस्दै भने। फेसनेबल देखिन मन मात्र भएर नहुने उनी बताउँछन्। शरीरको बनावट र कम्बिनेसन मिलाएर लगाउन सके युनिक र स्मार्ट लुक्स देखिन सकिने उनले बताए। सामान्यतया चेक सर्टको मूल्य एक हजारबाट सुरु हुने उनले जानकारी दिए।

लाइट ज्याकेट 
अत्याधिक चिसो मौसममा लगाइने ज्याकेटबाट छुटकारा पाए पनि हल्का चिसोबाट बच्नलाई भने दैनिक हल्का ज्याकेट लगाइन्छ। दैनिक प्रयोगमा लगाइने ज्याकेट भने जिन्स ज्याकेट, लेदर ज्याकेट, विन्ड ज्याकेटलगायत छन्। ‘लाइट ज्याकेटले बिहान–बेलुकाको चिसोलाई थेग्न सक्छ, स्कुटर र बाइक चलाउनेले भने विन्ड स्विटर प्रयोग गर्दा उचित हुन्छ,’ व्यापारी एलिसा मगर भन्छिन्। हलुका ज्याकेट लगाएर बाहिर हिँड्दा घाममा त्यति नपोल्ने उनी बताउँछिन्। जिन्स, लेदरलगायत लाइट ज्याकेट घामबाट बच्न नै प्र्रयोग गरिने उनको भनाइ छ। भित्री पहिरन कुल स्टाइलको गरेर लाइट ज्याकेट लगाउन उपयुक्त हुने उनी बताउँछिन्। चिसो र गर्मीबाट बच्नु मात्र नभएर फेसनेबल र युनिक देखिन सकिने उनी बताउँछिन्। 

स्कार्फ
स्कार्फलाई हरेक मौसममा लगाउन सकिन्छ। चिसो होस् वा गर्मी, हरेक मौसममा स्कार्फ आवश्यक पोशाक मानिन्छ। दिउँसोको घामबाट बच्न मात्र नभएर काठमाडौंको धुलोधुवाँबाट बच्न अधिकांश युवाहरूले स्कार्फ प्रयोग गरेको पाइन्छ। अत्याधिक चिसो मौसम नभएकाले पातला खालका नरम अनि हलुका लाइट कलरको स्कार्फ लगाउनु उपयुक्त मानिन्छ। 
स्कार्फकोे व्यापार हरेक मौसममा हुने बताउँछिन्, गीता खड्का। न्युरोडमा तीन वर्षदेखि स्कार्फ र कुर्ताको व्यापार गर्दै आएकी उनी भन्छिन्, ‘स्कार्फको माग हरेक मौसममा हुन्छ, चिसो मौसममा उलनको माग हुन्छ भने गर्मीमा कटनको, अझ काठमाडौंमा भने हरेक मौसममा स्कार्फको माग हुने नै भयो।’ स्कार्पको मूल्य १ सय ९० रूपैयाँबाट सुरु हुने उनी बताउँछिन्।

क्याप वा ह्याट
दिउँसोको घाम अनि बतासबाट बच्न क्याप र ह्याटको प्रयोग गरिने बताउँछन्, व्यापारी नवीन लामा। क्याप र ह्याटको व्यापार हुने मौसम सुरु भएको उनी बताउँछन्। प्रत्यक्ष घामबाट बच्न क्याप र ह्याटले धेरै मद्दत गर्ने भएकाले माग राम्रो रहेको उनी बताउँछन्। ‘फेसनको रूपमा विशेष टिनएजका तन्नेरीहरूले किन्ने गरेका छन्, बुट्टा र साजसज्जा भएको क्यापभन्दा एउटै रंग भएको क्यापको माग धेरै छ,’ उनले भने। बजारमा अहिले प्लेन पिंक, रोयल ब्लु, ब्ल्याक र ह्वाइट रंगको क्यापको माग रहेको उनले बताए। समरको आगमनसँगै बजारमा विभिन्न डिजाइनका क्याप र ह्याट आएको उनी बताउँछन्। सामान्यतया यसको मूल्य दुई सय रूपैयाँबाट सुरु हुने उनी बताउँछन्।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App