coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

‘जनता जिम्मेवार छन्, राज्य गैरजिम्मेवार भयो’

शुभेच्छा खड्का, नायिका

तपाईँको विचारमा सहर भनेको के हो ?
अलि सफा, व्यवस्थित र मानवीय चाहना पूरा गर्न सक्ने सुविधायुक्त ठाउँ नै सहर हो। सहरमा जनसंख्या बढी भए पनि त्यहाँको प्रशासनिक निकाय त्यतिकै जिम्मेवार र चुस्त बनेको हुन्छ। सहरले मानवीय आवश्यकता सहजै पूरा गरेको हुन्छ। जनताले राज्यलाई कर तिरेवापत त्यहाँको प्रशासनले पनि त्यसै अनुसारको सेवा–सुविधा दिएको हुन्छ। 

यी सुविधा पाइन्छन् त हाम्रा सहरमा ?
जनता राज्यप्रति जिम्मेवार छन् तर राज्य जनताप्रति जिम्मेवार छैन। जनताको कर उठाइसकेपछि कम्तीमा राज्यले दिने सुविधा त सहजै दिनुपर्ने हो। तर, दुःखको कुरा हामीले सरकारी निकायले दिन सामान्य सुविधामा पनि निकै झन्झट खेप्नुपरेको छ। सहरी प्रशासन जिम्मेवार नहुँदाको परिणामस्वरूप सहर झन्–झन् बिग्रदै गएको छ। 

काठमाडौं कस्तो लाग्छ ?
मलाई काठमाडौं प्रिय लाग्छ। केही नराम्रा पक्ष भए पनि काठमाडौं आफैमा सुन्दर सहर हो। यहाँजस्तो हावापानी संसारका अरु सहरमा पाइन्न। तर, हामीले काठमाडौंलाई व्यवस्थित र सफा राख्न सकेनौं। 

अलि सफा र मानवीय चाहना पूरा गर्न सक्ने सुविधायुक्त ठाउँ नै सहर हो। सहरले मानवीय आवश्यकता पूरा गरेको हुन्छ। 

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मलाई पोखरा सहर असाध्यै मनपर्छ। त्यहाँको हावापानी, सरसफाइ र रमणीय वातावरणले धेरैको ध्यान तानेको छ। पोेखरा र चितवनका सहर मलाई व्यवस्थित लाग्छ। उपत्यका ज्यादै ‘क्राउड’ भयो। मानिसको भीडभाडले बस्नै नसक्ने भयो। अब पनि सोचिएन भने काठमाडौंको भविष्य खतरामा छ। उपत्यकाबाट बाहिरिनाथ धैरै सुन्दर ठाउँ छन्। तर, सबैभन्दा बढी सुगम, सहज र व्यवस्थित हुनपर्ने देशको राजधानीको हालत बिग्रियो। पोखरामै कुरा गर्दा, नेपालका सहरमा पाइने विशेषता कतै पाइन्न। धुवाँधुलो र फोहोरले यहाँका सहर थोरै अव्यवस्थित होलान्। तर, विशेषता र मौलिकता अरु देशभन्दा फरक छन्। हाम्रा सहरले पुरानो इतिहास बोकेका छन्। नेपाल र नेपालीको पहिचान झल्काउने खालका छन्। यहाँका सहरमा नेपाली स्वाद र पहिचान पाइन्छ।  

तपाईंको विचारमा व्यवस्थित सहर कस्तो हुनुपर्छ ?
सहर सबैको सपना, अवसर र रहरको खानी हुनुपर्छ, जहाँ सबथोक पाइयोस्। सहर हेर्दै रमणीय र ऊर्जा जगाउने खालको हुनुपर्छ। सफा, सुन्दर, सुविधायुक्त भयो भनेमात्रै सहरमा बसेकाले म सहरमै छु भन्ने अनुभूति गर्न सक्छन्। दुःखको कुरा, हाम्रा सहर नामैले मात्र सहर बनेका छन्। सहरमा पाइने खास विशेषता हाम्रा सहरमा पाइन्न। यद्यपि मौलिकता भने यहाँका सहरमा प्रशस्तै भेटाइन्छ। सरकारका काम कारबाही पनि सहर व्यवस्थित बनाउने खालका छैनन्। सरकारी निकायबीच समन्वय हुन नसक्दा समस्या धेरै छन्। 

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
म बसेको सहर व्यवस्थित होस्। सबैका चाहना सहरले पूरा गर्न सकोस्। हरेक मानिसले खुसीले बाँच्न पाउन्। सहरी प्रशासनले सहरमा कुनै पनि नकारात्मक गतिविधि हुन नदियोस्। एक–अर्काप्रति आदर गर्ने, सम्मान टक्राउने बानी सहरवासीमा देखियोस्। यति भयो भने सहर सुन्दर लाग्छ होला। 

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहर सुन्दर, शान्त र सुविधायुक्त हुनुपर्छ। सहरमा बसेका सबैले सहरमा छु भन्ने महसुस गर्न सकुन्। एकले अर्कोलाई अवरोध नगरुन्। सहरवासीले पनि सहरप्रतिको आफ्नो कर्तव्य भुल्नु हुन्न। 

उपत्यकाको मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार लाग्छ। यसबाहेक उपत्यकाभित्र अनेक इतिहास र मौलिकता बोकेका चिनारी छन्। तर, तिनलाई उचित प्रचारप्रसार गर्न हामीले सकेनौं। यहाँका पुराना राणाकालीन दरबार, मठ मन्दिर, संस्कृति संसारमै पाइन्न। 
मननपर्ने पक्ष ?
उपत्यकाको ट्राफिक जाम र साँघुरा सडक सम्झँदै दिक्क लाग्छ। यहाँका मुख्य समस्या पार्किङ, ट्राफिक जाम, धुवाँधुलो, अग्ला भवन नै हुन्। यी विषयलाई केन्द्रमा राखेर विकासका काम गर्नतिर लाग्ने हो भने सहर सुन्दर बन्न सक्छ जस्तो लाग्छ। 

मन भएर पनि घुम्न पाएको सहर ?
मलाई एभरेस्ट बेस क्याम्प घुम्ने रहर छ। हेरौं समय मिल्यो भने त्यहाँ पनि पुग्छु होला। 

सहरको मिठो लाग्ने खानेकुरा ?
म काठमाडौंमै जन्मिएँ, यहाँको माटोलाई सानैदेखि चिन्न पाएँ। यहाँको सबैखाले खानेकुरा मलाई मिठो लाग्छ।

पछिल्लो समय घुमेको सहर ?
पछिल्लो समय हङकङ पुगेकी थिएँ। 

कस्तो लाग्यो त्यहाँका सहर ?
हङकङ आफैमा सुन्दर ठाउँ हो। त्यहाँ हरेक कुरा व्यवस्थित पारिएको छ। सेवा सुविधा लिन कुनै झन्झट खेप्नु पर्दैन। नीति नियमले सहर र सहरका मानिस चलेका छन्। हाम्रोमा नीति नियम भयो। तर, तिनको यथोचित पालना गरिएन। त्यसकारण पनि सहर बिग्रिएका हुन् भन्ने लाग्छ। 

नेपालबाहिर कहाँ–कहाँ घुम्नुभएको छ ?
जापान, हङकङलगायत थुपै्र देशका सहर घुमेकी छु। मैले घुमेका धेरै सहर अति नै सुन्दर र लोभलाग्दा थिए। सहरको ऐतिहासिक पक्ष र आनुधिक पक्ष राम्रो लाग्यो। त्यहाँको सांस्कृतिक र भौगोलिक अवस्था पनि कहिल्यै नर्बिसिने खालको छ। 

घुमेका सहर र हाम्रा देशका सहरबीच के भिन्नता पाउनुभयो ?
धेरै भिन्नता पाएँ। तर, नेपालका सहरलाई विदेशका सहरसँग दाज्न मिल्दैन। किनभने यहाँका सहर र विदेशका सहरको विशेषता फरक–फरक छ। आधुनिकता र सुन्दरतालाई हेर्ने हो भने विदेशका सहर धेरै राम्रा छन्। प्राकृतिक र मौलिक परम्परालाई हेर्दा हाम्रा सहर अग्रपंक्तिमा छन्।

सहरवासीको मन पर्ने बानी व्यवहार कस्तो लाग्छ ?
हरेक मानिसको बानी व्यवहार एउटै हुन्छ भन्ने छैन। तर, सहरमा बसिसकेपछि सहरको विषयमा सबैले बरोबर वकालत गर्नुपर्छ जस्तो लाग्छ। यस विषयमा सहरवासी एकजुट भएका छैनन् जस्तो लाग्छ मलाई। त्यसकारण एकले अर्कालाई सम्मान गर्नुपर्छ। नेपाल यस्तो ठाउँ हो, जहाँ एकले अर्कोप्रति गर्ने माया र आदर छुट्टै छ। तर, पछिल्लो समय हामीमा एक हौं भन्ने भावना हराउँदै गएको छ। सहरवासीमा एक अर्काप्रति वैमनस्यता बढ्दै गएको छ। यसो भयो भने हामीलाई असहज हुँदै जान्छ। 

सहरलाई व्यवस्थित पार्न के गर्नुपर्ला ? 
सबै मिलेर काम गर्नुपर्छ। नागरिक पनि सहर बनाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। उपत्यकाको सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषय केन्द्रमा राखेर काम गर्ने हो भने समस्या तुरुन्तै समाधान हुन सक्छ। यहाँको मौलिकता र आधुनिक दुवैलाई ख्याल राखेर विकास निर्माणका काम गर्ने हो सहर राम्रो बन्छ। 

काठमाडौं नजिकै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ? 
भक्तपुर दरबार, पाटन दरबार, काठमाडौं दरबार लगायतका ठाउँ मलाई प्रिय लाग्छ। समय मिल्नासाथ यी ठाउँमा घुम्न निस्कन्छु।                                                         

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App