coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

पाकिस्तानमा अर्बसहित साउदी अरब !

ताहा सिद्दिकी
गएको साता (१८ फेब्रुअरी) साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानको भ्रमण गरे। उनको भ्रमण टोलीमा एक हजारभन्दा बढी मानिस सम्मिलित थिए। उनीहरूमध्ये लगानीकर्ता, सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरू थिए। भ्रमणका क्रममा साउदी अरबले पाकिस्तानमा २० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने सहमति जनाएको थियो। 

पाकिस्तानको लगानी बोर्डका अध्यक्ष हारुन सरिफका अनुसार साउदीले मूलतः ऊर्जा क्षेत्रमा लगानी गर्नेछ। साथै दक्षिणपश्चिम तटीय सहर ग्वाडरमा तेल प्रशोधन केन्द्र खोल्न पनि साउदी लगानीकर्ताले आफ्नो पुँजी लगाउने छन्। 

गएको अक्टोबर महिनामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरेको साउदी अरबको भ्रमणमा साउदी सरकारले ६ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको थियो। साउदी पत्रकार जमाल खास्सोस्गीको हत्याको आरोप राजकुमार सलमानमाथि लागेको र साउदीमै भएको उच्चस्तरको लगानी सम्मेलन ‘द फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ’ धेरै पश्चिमा लगानीकर्ताले बहिष्कार गरेको समयमा चार महिनाअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले खाडी देश साउदीको भ्रमण गर्ने जोखिमपूर्ण निर्णय गरेका थिए। 

पाकिस्तानी प्रधानमन्त्री लगानी सम्मेलनमा सहभागी बने र साउदी अरबको पक्षमा उभिए बापत राम्रो पुरस्कार पनि प्राप्त गरे। तर, पाकिस्तानको ऋण संकट समाधानका लागि उक्त अर्बौं डलरको राहत कार्यक्रम पनि पुग्ने देखिँदैन। साउदी अरबले अहिले पाकिस्तानमा अर्बांैं अर्बको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो लगानीले खस्कँदोे वित्तीय अवस्थाबाट पाकिस्तानलाई उकास्न मद्दत गर्ला। तर, साउदीले यो लगानी बिनासर्त भने पक्कै गरेको छैन। 

इरानसँग निकटता राख्दै आएको पाकिस्तानसँग सम्बन्ध विस्तारमा साउदी अरबको रणनीतिक स्वार्थ गाँसिएको छ। इरान र साउदी अरबबीच लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ। आर्थिक रुपमा प्रतिकूल अवस्था सामना गर्दै आएको पाकिस्तान सरकारको बफादारिता किन्न साउदी अरबले आज राहत कार्यक्रम र लगानीको वाचा गरिरहेको छ। पाकिस्तानी सिमानाभित्र साउदी सहयोग प्राप्त विध्वंसात्मक गतिविधिप्रति पाकिस्तानी सरकारले आँखा चिम्लिदिओस् भन्ने चाहनाले पनि पाकिस्तानमा यो लगानी भइरहेको छ। साउदी अरबको वित्तीय लगानीको प्रतिबद्धताले पाकिस्तान–साउदी अरब सम्बन्धमा कुनै नयाँ आयाम थपिएको छैन। दसकौँदेखि साउदी पुँजी र अमेरिकाको क्षेत्रीय नीतिका कारण रियादसँग इस्लामाबादले निकटता कायम गर्दै आएको छ। 

सन् १९७७ मा प्रधानमन्त्री जुलिफिकर अली भुट्टोलाई सत्ताच्युत गरी सैनिक जनरल मोहम्मद जिया–उल–हक सत्तासीन भएको केही समयपछि नै साउदी र पाकिस्तानबीच विशेष सम्बन्ध कायम हुनुका साथै अमेरिकासँग पनि निकट सम्बन्ध विस्तार भएको थियो। दुईवटा घटनाले अमेरिकी क्षेत्रीय विदेश नीतिमा पाकिस्तानको महत्वलाई नाटकीय रुपमा बढाइदियो ः पहिले, सन् १९७९ फेब्रुअरीमा भएको इरानी क्रान्ति र त्यही सालको डिसेम्बर महिनामा सोभियत सङ्घले अफगास्तिानमा गरेको हमला। संरा अमेरिकाले पश्चिम एसियाका देशहरूको संयुक्त मोर्चा स्थापना गरी इरानी र सोभियत प्रभावविरुद्ध लड्ने योजना बनाउँदै गर्दा संरा अमेरिकाका लागि साउदी अरबपछि इस्लामाबाद नै सबभन्दा प्रमुख सूत्र बन्यो। त्यतिबेला रियादले तेल बेचेर मनग्य आम्दानी गरिरहेको थियो। सन् १९७३ को तेल बन्दीपछि तेलको भाउमा निकै प्रतिशतले वृद्धि भएको थियो। साउदी अरब अरब र मुसलमान देशहरूमा चेकबुक कूटनीति अघि बढाइरहेको थियो। 

अफगानिस्तानमा सोभियत सेनाविरोधी लडाकूलाई सशस्त्र बनाउन र तालिम दिन संरा अमेरिकाद्वारा अनुमोदित योजनाअन्तर्गत पाकिस्तानमा साउदी अरबको पैसाको खोलो बगाइँदै थियो। रियाद र इस्लामाबादले सो क्षेत्रमा बढ्दो इरानी प्रभाव नियन्त्रण गर्न पनि सहकार्य बाक्लो बनाउँदै लग्यो। इरानको बढ्दो प्रभावले दुवै देशका सिया अल्पसङ्ख्यक मुसलमानहरूलाई विद्रोह गर्न उत्साहित बनाएको उनीहरूको ठहर थियो। साउदी अरबले पाकिस्तानलाई सैनिक र गैरसैनिक क्षेत्रमा मात्र सहयोग गरेन, बरु धार्मिक हिसाबले पनि सहयोग अघि बढायो। जिया–उल–हक सरकारले साउदी धार्मिक संस्थाहरूलाई धार्मिक पाठशाला र मस्जीद बनाउन समेत लगानी गर्ने बाटो खोलिदियो। त्यसले इस्लाम धर्मको थप अनुदारवादी व्याख्या र सियाविरोधी विचारलाई अझ बढावा दियो। रियादलाई केही ‘अतिवादी’ सुन्नी समूहलाई सहयोग गर्दै आएको आरोप समेत लाग्ने गरेको छ।

पाकिस्तानका स्थानीय युवालाई विद्रोही बनाउन र धेरैलाई सिया मुसलमानविरोधी बनाउन रियादको पैसाले सञ्चालन भएका केही धार्मिक पाठशाला र समूहहरू जिम्मेवार भएको आरोप लाग्ने गरेका छन्। उनीहरूमध्ये केही युवाले त पाकिस्तानी भूमिबाट इरानमाथि भएका आक्रमणमा समेत भाग लिएका छन्। तीन साताअघि सशस्त्र सैनिक समूह जैस अल–अड्ल(न्याययोद्धा) नामको संगठनले इरानको सिस्टन–बलुचिस्तान प्रान्तमा भएको हमलाको जिम्मेवारी लिएको थियो। इरानले सो समूहको साउदी अरबसँग प्रत्यक्ष सम्बन्ध भएको दाबी गरेको छ। घटनामा परी इरानको सरकारी सेना इस्लामिक क्रान्तिकारी रक्षा दलका २७ जना लडाकू मारिएका थिए। 

इरानसँग सिमाना जोडिएको पाकिस्तानको बलुचिस्तान प्रान्तमा बसोबास गर्दै आएका पाकिस्तानी सिया मुसलमान समुदायमाथि समेत ती सशस्त्र समूहले हमला गर्ने गरेका छन्। पछिल्ला वर्षमा सो प्रान्तमा धार्मिक समुदायबीच आपसमा हत्याका घटना निकै ठूलो सङ्ख्यामा बढेको छ। पाकिस्तानको कुल जनसङ्ख्यामध्ये १५ देखि २० प्रतिशतसम्म सिया मुसलमान समुदायले ओगटेको छ। बलुचिस्तानलगायत पाकिस्तानका अन्य भूभागमा पनि सिया मुसलमान समुदायमाथि हमला हुने गरेका छन्। ठूला सहरमा समेत सिया मुसलमानहरूको अपहरण, हत्या र हिंसात्मक हमला हुने गरेका छन्। यस्तै धम्कीका कारण सिया मुसलमानहरूलाई पाकिस्तान छोडी प्रवासिन बाध्य बनाइएका धेरै घटना छन्। 

धेरै मानिसहरू साउदी अरबले अतिअनुदारवादी समूहहरूलाई गरेको समर्थनकै कारण ‘अतिवाद’ले टाउको उठाउने मौका पाएको विश्वास गर्छन्। तर पाकिस्तानमा सिया मुसलमानमाथिको बढ्दो ज्यादतीको लागि पाकिस्तानी राज्य स्वंयलाई पनि जिम्मेवार मान्नुपर्छ। पाकिस्तानी सरकारी सुरक्षाकर्मीहरू पाकिस्तानी सिया मुसलमानहरूको रक्षा गर्न असफल बन्दै आएका छन्। सिया समुदायविरोधी समूहमाथि कुनै प्रकारको गम्भीर कारबाही पनि गरिएको छैन। यसरी कारबाही नगरिँदा पाकिस्तानी राज्यमा जटिलता थपिएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूहको भनाइ छ। 

केही अतिवादी समूहहरूलाई पैसा दिएर साउदी अरबले विध्वंसकारी भूमिका निभाइरहेको कुरा पाकिस्तानको सन्दर्भमा मात्र लगाइने आरोप होइन। गएको साता मात्र युरोपेली आयोगले ‘आतंकीलाई पैसा दिएको र मुद्रा अपचलन नियन्त्रणमा उदासीनता देखाएको’ भन्दै पाकिस्तानसँगै साउदी अरबलाई कालो सूचीमा नाम चढाएको थियो। असफलतातिर उन्मुख पाकिस्तानी अर्थतन्त्रलाई उकास्न साउदी पैसामाथि पाकिस्तानी विश्वासका कारण साउदीको पैसाले निम्त्याउन सक्ने समस्याबारे पाकिस्तानी नेताहरू मौन छन्। प्रधानमन्त्री इमरान खानले पाकिस्तानलाई ँपैसाको निकै खाँचो परेको’ हुनाले साउदी अरबको लगानी र सहायता रकम पाकिस्तानले नकार्न नसक्ने घोषणा गरिसकेका छन्। तर साउदीको पैसाको मूल्य के हुने हो ? 

साउदीको कुनै पनि आर्थिक लगानीलाई हार्दिक स्वागत गरिने भन्दै प्रधानमन्त्री खानले राजकुमार सलमानलाई पाकिस्तानको आन्तरिक स्थायित्वको मूल्यमा राहत वा लगानी स्वीकार्न नसकिने बताउन जरुरी छ। इस्लामाबादले रियादसँगको दसकौं पुरानो लेनदेनमा आधारित सम्बन्धमा पुनर्विचार गर्न आवश्यक छ। पाकिस्तान अब साउदी अरब र इरानबीचको स्वार्थसिद्धिको युद्धभूमि बन्न सक्दैन। सिया समुदायविरोधी हिंसा वा छिमेकी देशको अस्थीरता अब पाकिस्तानले थप बेहोर्न सक्दैन। 

पाकिस्तानमा यतिबेला पैसाभन्दा बढी आवश्यकता अरु केही कुराको छ भने त्यो हो– धार्मिक सद्भाव र स्थायित्व। पाकिस्तानी सरकारले आफ्नो देशको सिमानाभित्र साउदी अरबले गर्ने खराब गतिविधिलाई नियन्त्रण गर्न नसके पाकिस्तान र सिंगो क्षेत्र नै ठूलो खतरामा पर्नेछ। त्यसको मूल्य कुनै राहत कार्यक्रम बराबर हुन सक्दैन। (लेखक सिद्दिकी फ्रान्समा निर्वासित पाकिस्तानी पत्रकार हुन्। अलजजिराबाट नीरज लवजूको अनुवाद)

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App