८ वैशाख २०८१ शनिबार
समाज

खाजा खर्चबाट मुसहर बालबालिकालाई सहयोग

शैक्षिक सामग्रीसहित मुसहर बालबालिका। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही – जिल्लास्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले आइतबार मुसहर बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गरेका छन्। ईश्वरपुर नगरपालिकाअन्तर्गत बयलबास बजारस्थित लालिगुराँस एकेडेमीका विद्यार्थीले आफ्नो खाजा खर्चबाट उक्त सहयोग गरेका हुन्। चन्द्रनगर गाउँपालिकाअन्तर्गत बबरगंजस्थित मुसहर टोलका ४० बालबालिकालाई कापी, पेन्सीललगायत शैक्षिक सामग्री उनीहरूले सहयोग गरेका हुन्।

‘विद्यार्थीहरूले घरबाट पाएको खाजा खर्चबाट पिछडिएको मुसहर समुदायका बालबालिकालई केही सहयोग गर्ने विचार व्यक्त गरे,’ लालिगुराँसका प्राधानाध्यापक उज्वल शर्माले भने, ‘विद्यार्थीबाट उठेको रकममा विद्यालयका तर्फबाट पनि केही रकम थप गरी शैक्षिक सामग्री सहयोग गरिएको हो।’
आइतबार दिउँसो विद्यालयका प्रधानाध्यापकसहित विद्यार्थीको समूह मुसहर टोलमै पुगेर शैक्षिक सामग्री प्रदान गरेका थिए। तराई मधेशको अति विपन्न र पिछडिएको मुसहर समुदायका अभिभावकले आर्थिक अभावका कारण छोराछारीलाई पढ्न पठाउन सक्दैनन्। यस्ता सहयोगले मुसहर समुदायका बालबालिकालाई निकै टेवा पुग्ने प्रधानाध्यापक शर्मा बताउँछन्। लालिगुराँस तथा त्यहाँ अध्ययनरत विद्यार्थीले केही समयअघि पनि छिमेकी एक प्राथमिक विद्यालयका विद्यार्थीलाई यसरी नै शैक्षिक सामग्री सहयोग गरेका थिए।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App