coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पप्पुका सञ्चालकले तिरे साढे ३ करोड धरौटी

काठमाडौं - विशेष अदालतले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार र अध्यक्ष सुमित रौनियारलाई जनही १ करोड ७५ लाख रुपैयाँ धरौटी तिरी तारेखमा बस्ने आदेश दिएको छ। हरिनारायण निलम्बित सांसद हुन् भने सुमित उनका छोरा हुन्।

भ्रष्टाचार मुद्दामा मुछिएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार बाबुछोरा अदालतको आदेशबमोजिम आइतबार ३ करोड ५० लाखको बैंक ग्यारेन्टी धरौटी राखेर तारेखमा बसेका हुन्। न्यायाधीशहरू द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आइतबार भएको थुनछेक बहसमा जनही पौने २ करोड तिर्न आदेश गरेको थियो। अदालतले गरेको आदेशबमोजिम तत्कालै प्राइम बैंकमार्फत ३ करोड ५० लाखको ग्यारेन्टी धरौटी राखेर तारेखमा बसेको विशेषका प्रवक्ता पुष्पराज पाण्डेले बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनविरुद्ध असोज १८ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

भ्रष्टाचार मुद्दामा मुछिएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार बाबुछोरा अदालतको आदेशबमोजिम आइतबार ३ करोड ५० हजारको बैंक ग्यारेन्टी धरौटी राखेर तारेखमा बसेका हुन् ।

पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनाउँदा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भइसकेको छ। अख्तियारले हरिनारायणविरुद्ध १९ करोड ३२ लाख २५ हजार रुपैयाँ र छोरा सुमितविरुद्ध पनि त्यत्तिकै रकमबराबरको बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो। ठेकेदार कम्पनी पप्पुले बर्दियाको जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेकाले पुल बनाउँदा बनाउँदै भत्केको थियो। बनाउन थाल्दादेखि नै बांगो देखिएको पुल बनेपछि उद्घाटन नहुँदै भत्किएको थियो। पप्पुविरुद्ध उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।

डिभिजन सडक कार्यालय नेपालगन्ज र पप्पु कन्स्ट्रक्सनबीच पुल निर्माणका लागि २०६८ असार २२ मा सम्झौता भएको थियो। सम्झौतापछि बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बनाउन थालिएको थियो। पुल निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीबाट लाइन लेभल तथा पियर हाइटका सम्बन्धमा गम्भीर लापरबाही भएको भेटिएको थियो। गम्भीर त्रुटि भएको कामलाई गुपचुप स्विकारेको र फिल्डको नापजाँच हचुवाको भरमा गरेको भन्दै सडक विभागका कर्मचारीलाई पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियारले डिभिजन सडक कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुख भानु जोशीसहित तीनजना कर्मचारीविरुद्ध पनि मुद्दा दर्ता गरेको हो। निर्माण सामग्रीको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभई भुक्तानी सिफारिस गरेको आरोप अख्तियारको छ।

डिजाइनबमोजिम पुल निर्माण नगरेका कारण लोड लिन नसकी पुल भासिएको तथ्य प्राविधिक परीक्षण र विश्लेषणबाट पुष्टि भएको अख्तियारको दाबी छ। प्रतिनिधिसभा निर्वाचनमा पर्साबाट निर्वाचत भई निलम्बनमा परेका हरिनारायण चुनावअघि पप्पु कन्स्ट्रक्सनको अध्यक्ष थिए। उनी संघीय समाजवादी फोरमको तर्फबाट सांसदमा विजयी बनेका थिए।

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App