८ वैशाख २०८१ शनिबार
समाज

निर्मलाको निरन्तरता

काठमाडौं- वीरगन्जमा जन्मेकी निर्मला आचार्य ०७२ भदौमा नेपाली सञ्चार क्षेत्रमा चर्चित हुन पुगिन्। उनको चर्चाको कारण उनकै मिहिनेत र परिश्रम हो। उनी नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५४ वर्षे इतिहासमा पहिलो महिला महाप्रबन्धन्क नियुक्ति भइन्।

पत्रकार आचार्यको संवाददातादेखि राससको महाप्रबन्धकसम्मको यात्रा भने त्यति सहज थिएन। सुरुका दिनमा स्थलगत रिपोर्टिङको समयमा केही अप्ठेरा आए पनि त्यसलाई सामना गर्दै अघि बढेकै कारण उनी आज आफू पत्रकारिता क्षेत्रमै उच्च ओहोदामा पुग्न सफल भएको उनी सुनाउँछिन्।

तराईकी चेली आचार्यले वीरगन्ज माईस्थान विद्यापीठबाटै एसएलसी र त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर गरेकी हुन्। उनको पत्रकारितामा रुचि भने उपन्यास पढ्दापढ्दै जागेको रहेछ।

'सानैदेखि मलाई उपन्यास पढ्न निकै मन पर्थ्यो। सुरेन्द्रमोहन पाठकको सुनील भन्ने पत्रकार पात्रले मलाई पत्रकारितामा पुर्‍याएको हो,' निर्मला सम्झन्छिन्, '०४६ सालमा वीरगन्जका पूर्वमेयर स्वर्गीय गोपाल गिरी दाजुको सहयोगमा म पहिलोपटक काठमाडौं आएँ र विमर्श साप्ताहिकबाट चलचित्र पत्रकारिता गर्न थालें।'

०४६ सालमा पहिलोपटक विमर्श साप्ताहिकमा आफ्नो नामसहितको समाचार छापिएको देख्न पाउँदा आफू दंग परेको रमाइलो क्षण सम्झेर आचार्य मुस्कुराइन्। पत्रकारिता सुरु भएको एक वर्षपछि नै निर्मलाले पत्रकार श्री आचार्यसँग विवाह गरिन्।

विवाहकै वर्ष छोरो जन्मियो, उनी छोराको हेरचाहका लागि तीन वर्ष पत्रकारिता क्षेत्रबाट टाढा बसिन्। र, ०५० सालमा राससको खुला प्रतिस्पर्धाबाट उपसम्पादक पदमा जागिरे भइन्।

'सुरुका दिनहरूमा पत्रकारिता क्षेत्रमा महिला निकै कम भएकाले स्थलगत रिपोर्टिङमा जाँदा सबैले मेरो कामको प्रशंसा गर्थें,' निर्मला सम्झन्छिन्, 'भोलिपल्ट समाचार छापिँदा त्यसबाट आएको रेस्पोन्सले त मलाई बडो सन्तुष्टि र थप काम गर्ने हौसला मिल्थ्यो।'

तीन दाजु र एक दिदीपछिकी कान्छी छोरी निर्मला आमाबुवाको पनि निकै प्यारी थिइन्। उनलाई पत्रकारितामा ल्याउन बुवाको ठूलो साथ थियो। परिवारको सहयोग पाए महिलाले हरेक चुनौतीको सामना गर्दै अघि बढ्न सक्ने उनको अनुभव छ।

'आज म जुन स्थानमा छु, यहाँसम्म आउन विवाहभन्दा पहिला बुवाको र विवाहपछि श्रीमानको साथ पाएँ,' उनी भन्छिन्, 'श्रीमान पनि पत्रकार भएका कारण म घरमा ढिला फर्कंदा बुझ्नुहुन्थ्यो, सहयोग गर्नुहुन्थ्यो। तर, कुनै–कुनै समय हामी दुवै व्यस्त हुँदा छोरो हेर्ने कोही हुँदैनथ्यो, कहिलेकाहीं स्कुल बसले घर छाडिदिँदा ऊ सडकमै रोएर बसेको सम्झँदा आँखा रसाउँछ।'

परिवार र काम दुवै सम्हाल्दै अघि बढ्नुपर्ने दोहोरो भूमिकाकै कारण महिलामा कहिलेकाहीं निराशा बढ्ने उनको अनुभव छ। चुनौतीको सामना गर्दै अघि बढ्ने हो भने पत्रकारिता क्षेत्रमा महिलालाई अवसर रहेको उनी बताउँछिन्। 'लगन, मेहनेत र इमानदारिताका साथ लाग्दा यो पेसा उत्कृष्ट हुने हो,' उनी भन्छिन्, 'पत्रकारितामा हामीले अरुको बारेमा लेख्ने हो। यो एक समाजसेवा हो।'

भुइँचालो गएकै समयमा आफू राससको महाप्रबन्धक पदमा नियुक्ति भएकाले काम गर्न निकै चुनौती रहेको उनले सुनाइन्। आगामी फागुनमा उनी ५८ पुग्दै छन्। अवकाशको समय नजिकिँदै गर्दा उनले आँटेको काम सक्न हम्मे पर्ने देखिन्छ। तर, आफ्नो पालामा भने केही राम्रो काम गर्न पाएकामा उनी सन्तुष्ट छन्। 'रासस स्थापनाकालदेखिका पुराना बुलेटिनरूलाई मैले पहिलोपटक अर्काइभमा राख्न सुरु गरेकी छु,' उनी भन्छिन्, 'राससको भवन भुइँचालोका कारण क्षति भएको छ, त्यो निर्माणका लागि सम्झौता गरेकी छु।'

आचार्य राष्ट्रिय संघ महिला विङमा अध्यक्ष, थर्ड वर्ल्ड मिडिया नेटवर्क च्याप्टरमा महासचिव, वर्किङ वेमेन जर्नालिस्टमा बोर्ड सदस्य, मिडिया सहकारी बोर्डमा सदस्य भइसकेकी छन्। यसैगरी, एसियन जर्नालिस्ट एसोसिएसन (एजेए) नेपाल च्याप्टरको सदस्य र न्यूनतम पारिश्रमिक समितिको सदस्य रहिसकेकी छिन्। उनी ०४७ मा कलम सम्मानबाट सम्मानित भएकी छिन्। यसैगरी संसदीय रिपोर्टर सोसाइटी नेपालले लामो समयसम्म संसदीय बिटमा संवादाताको रुपमा कार्यरत रही राम्रो रिपोर्टिङ गरेकाले उनलाई सम्मान गरेको थियो। आचार्य उत्कृष्ट स्वास्थ्य खबर पत्रकारिता पुरस्कार–०६२, वेस्ट ओमेन जर्नालिस्ट अवार्ड २००२ बाट पनि सम्मानित भएकी छन्।

प्रकाशित: २२ आश्विन २०७३ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App