८ वैशाख २०८१ शनिबार
समाज

चिठ्ठा पर्‍यो, तपाईं ठगिँदै हुनुहुन्छ !

इलाम - चार महिनाअघि सरकारी वकिलको कार्यालयकी एक कर्मचारीलाई इमेलमार्फत ४० हजार पाउन्ड चिठ्ठा परेको खबर आयो। सुरुमा उनी छक्क परिन् तर पछि खुसी हुँदै त्यसैमा विश्वास गरेर ‘परेको चिठ्ठा’ पाउने उपाय खोज्न थालिन्।

आएको इमेल ‘रिप्लाई’ गरेपछि उनलाई उताबाट विस्तृत विवरणसहितको फाराम भर्न अनुरोध आयो। अनि त्यसमा भनिएअनुसार उनले आफ्नो विवरण भरिन् र पठाइन्। त्यसपछि चिठ्ठाको रकम पाउन ‘आवश्यक’ विभिन्न शीर्षकमा ‘कर’ बापत्का रकम पठाउन अनुरोध गर्दै उनलाई फेरि अर्काे इमेल आयो। त्यसमा मागिएअनुसारको रकम उनले इन्टरनेसनल मनी एक्स्प्रेस (आइएमई) मार्फत पठाइन्। उनलाई भारतको कुनै स्थानबाट आएको आर राईको इमेलबाट सन्तोष बस्नेतको नाममा रकम जम्मा गर्न भनियो। ती महिला कर्मचारीले पहिलोपटक ३० हजार रुपैयाँ बस्नेतकै नाममा आइएमई गरिन्। भोलिपल्ट एकैपटक उनले फेरि तीन लाख रुपैयाँ जम्मा गरिन्। आएका इमेलमा यो वा त्यो कर लाग्छ भन्दै एक लाख, दुई लाख होइन, १२ लाख रुपैयाँसम्म जम्मा गर्न लगाएपछि मात्र बल्ल उनलाई कतै आफू फस्दैछु कि भन्ने शंका लाग्यो। र, अन्ततः उनले प्रहरीमा उजुरी गरिन्।

अहिले तपाईंलाई यति करोडको चिठ्ठा परेको छ, त्यो पाउन यति र उति रकम लाग्छ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह सक्रिय भएको छ। कसैले चिठ्ठा परेको खबर पठाए तत्काल खबर गर्न प्रहरीको आग्रह छ।

उनको उजुरीपछि प्रहरीले खोजी अभियान चलायो। खोज्दै जाँदा इलामको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयको टोली सन्तोष बस्नेतसम्म पुग्यो जो सूर्याेदय नगरपालिका–२, पशुपतिनगरमै आइएमई सञ्चालन गरेर बसेका रहेछन्। प्रहरीले ४२ वर्षे सन्तोषलाई नियन्त्रणमा लियो र थप अनुसन्धान गरिरहेको छ। अहिले देशका विभिन्न स्थानमा भारत वा अन्य देशबाट यसरी चिठ्ठा परेको खबर सामाजिक सञ्जालमा आउने र नेपालीहरू ठगिने क्रम बढिरहेको छ। यसबाट सीमा क्षेत्रका नेपाली अझ बढी पीडित भइरहेका छन्। यसरी सरकारी वकिलको कार्यालयकै कर्मचारीले समेत चिठ्ठा परेको इमेल आएकै भरमा १२ लाख रुपैयाँसम्म अपरिचितलाई पठाइदिनुले ठगीको धन्दा गाउँ–गाउँका सर्वसाधारणमा झन् कति भयानक रूपमा फैलिएको होला ? तर पनि आफू ठगिएको कुरा हम्मेसी कोही बताउन नचाहने प्रहरीको भनाइ छ।

पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार भारतीय दलालहरूले सीमावर्ती क्षेत्रका आइएमई सञ्चालकका नाममा रकम जम्मा गर्न लगाएर चिठ्ठा परेको झुटो बहानामा करोडौं रुपैयाँ ठगिरहेका छन्। इमेल, भाइबर र इमोमार्फत चिठ्ठा परेको खबर पठाउने, अनि त्यो रकम लिन विभिन्न कर तिर्नुपर्ने र त्यो नेपालीकै नाममा पठाउँदा सजिलो हुने भन्दै भारतीयहरूले नेपालीबाट ठगी गरिरहेको प्रहरीको भनाइ छ। पशुपतिनगरस्थित आइएमई सञ्चालक सन्तोषको नाममा ती सरकारी कर्मचारीले जम्मा गरेको १२ लाख रुपैयाँमध्ये ११ लाख १० हजार एक भारतीय नागरिकले लगिसकेको प्रहरीले जनाएको छ। ‘सन्तोषको नाममा ती महिला कर्मचारीले पठाएको रकम पटक–पटक एकै व्यक्ति आएर बुझेर लगेका रहेछन्,’ प्रहरी निरीक्षक ओलीले भने, ‘सन्तोषलाई नियन्त्रणमा लिइएपछि रकम लैजाने व्यक्तिले ९० हजार रुपैयाँ उनीबाट लैजान बाँकी रहेछ।’

प्रहरीका अनुसार सन्तोष आइएमई व्यवसायी भएकाले उनको खातामा नेपाली रुपैयाँलाई भारतीय र भारतीय रुपैयाँलाई नेपालीमा सटही गर्ने रकम विभिन्न व्यक्तिका नामबाट जम्मा हुन्छन्। तर ती सरकारी कर्मचारी महिलाको नामबाट आएको १२ लाखसहित करिब २२ लाख रुपैयाँ सन्तोषबाट बुझेर लैजान भने सधैं उही भारतीय नागरिक आएका थिए। ‘सन्तोषबाट रकम बुझेर लैजाने भारतीय नागरिकले अन्य धेरै नेपालीबाट यसरी ठगेर लगेको अनुमान छ,’ प्रहरी निरीक्षक ओलीले भने, ‘यो ठगीमा केही नेपाली व्यवसायी र भारतीय गिरोह नै संलग्न रहेको आशंकामा गहन अनुसन्धान भइरहेको छ।’

यसरी चिठ्ठा परेको खबर आएर कोही अपरिचितलाई लाखौं रुपैयाँ पठाउने पीडितहरू आफ्नो पीडा न कसैलाई बताउँछन् न प्रहरीलाई नै खबर गर्छन्। इलाम जिल्ला प्रहरी प्रमुख– एसपी माधव श्रेष्ठका अनुसार सुरुमा कुरै नबुझी चिठ्ठाको रकम पाउने विश्वासमा मोटो रकम पठाएर मात्र प्रहरीमा पीडितले खबर गर्ने गरेका छन्। ‘आफू पूरै ठगिइसकेपछि पनि प्रहरीलाई अनौपचारिक रूपमा मात्रै भन्ने तर जाहेरी चाहिँ नदिने पीडित छन्,’ उनले भने, ‘आफू पत्तै नपाई ठगिइसकेपछि प्रहरीमा उजुरी गर्न लजाउँदा पीडितहरू झन् समस्यामा पर्ने गरेका छन्।’

आफूलाई कुनै माध्यमबाट यसरी अकस्मात ठूलो चिठ्ठा परेको भन्ने खबर नपत्याउन प्रहरीले सर्वसाधारणलाई आग्रहसमेत गरेको छ। पशुपतिनगरका सन्तोष बस्नेतका नाममा यसरी रकम आइएमई गर्ने अरू पनि कोही छन् भने सम्पर्कमा आउन प्रहरी निरीक्षक ओलीको आग्रह छ। ‘अहिले तपाईंलाई यति करोडको चिठ्ठा परेको छ, त्यो पाउन यति र उति रकम लाग्छ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह सक्रिय भएको छ,’ उनले भने, ‘कसैले चिठ्ठा परेको खबर पठाए तत्काल सार्वजनिक गर्नुस्, प्रहरीलाई खबर गर्नुस्, अनि मात्र ठगिनबाट बच्न सकिन्छ।’

प्रकाशित: १३ फाल्गुन २०७५ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App