६ वैशाख २०८१ बिहीबार
समाज

वीरगन्जमा अश्वमेध महायज्ञ विधि सुरु

वीरगन्ज - नेपालमा पहिलोपटक वीगन्जमा आयोजन हुन लागेको अश्वमेध गायत्री महायज्ञका लागि यज्ञस्थलमा गरिने विधि सुरु भएको छ। यज्ञस्थलमा दुई सय ५१ यज्ञकुण्ड निर्माणका लागि आइतबार यज्ञकुण्ड पूजन गरिएको छ। ‘यहाँ बन्ने यज्ञकुण्डहरूको निर्माणका लागि पूजासँगै यज्ञ सफल पार्न समस्त देवगणलाई आह्वान गरिएको छ,’ हरिद्वारबाट आएका जजसाहेब भनिने यज्ञका व्यवस्थापक श्री भागवान् सिंहले भने, ‘भूमि, यज्ञकुण्ड र ज्यावलहरूको पूजापछि यज्ञशालाले पूर्णता पाउनेछ।’

अखिल विश्व गायत्री परिवारको तत्वावधानमा अश्वमेध महायज्ञ हुन लागेको हो। ‘अश्व भनेको शक्ति हो, मेध भनेको बुद्धि। यी दुईटैलाई जागृत बनाउन अश्वमेध महायज्ञ गरिन्छ। अध्यात्मिक रूपले नेपाल राष्ट्रको बल–बुद्धि जागरण गराउने उद्देश्यले यो यज्ञको विज्ञान हामीले नेपालमा पनि प्रयोग गर्न लागेका हौं,’ महायज्ञ सम्पादन मूल समितिका सहसंयोजक डा. राजु अधिकारीले भने, ‘वैदिक रीतिपूर्वक, सकारात्मक सन्देश एवं ऊर्जा प्रवाह गर्दै, जनमानस तथा वातावरणमा लोकहितकारी प्रवृत्ति जागृत गरी, राष्ट्र र सामाजको उत्थानसँगै पर्यावरण तथा मानव जीवनमा भौतिक एवं अभौतिक शुद्धीकरण यस आयोजनको मुख्य उद्देश्य हुन्।’ काठमाडौं डिल्लीबजारस्थित गायत्री चेतना केन्द्रका प्रमुख रहेका अधिकारीले आगामी फागुन १९ गतेदेखि २२ सम्म चार दिने चल्ने अश्वमेध गायत्री महायज्ञको तयारीमा दैनिक रूपमा तयारी गोष्ठी, रथ परिक्रमा, दीप यज्ञ, हवन यज्ञजस्ता कार्यक्रमहरू भइरहेको बताए।
जनकल्याणका लागि हुन लागेको ‘अश्वमेध’ महायज्ञलाई सफल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै वीरगन्ज नगरमा हुन गइरहेको यस महायज्ञले अनेक सकारात्मक प्रभाव पार्ने काठमाडौंमा बाग्मती सफाइ अभियानको नेतृत्वसमेत गरेका अधिकारीले दाबी गरे। राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउन आयोजना गर्न लागिएको अश्वमेध गायत्री महायज्ञमा करिब पाँच लाख मानिस सहभागी हुने ‘अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठ, वीरगन्ज’ का संयोजक विजयकुमार सरावगीले बताए। ‘अश्वमेध गायत्री महायज्ञ हवन र पूजापाठ मात्र होइन, यो आध्यात्मिक प्रयोग हो र वैज्ञानिक पद्धतिको यज्ञ पनि हो,’ वीरगन्ज महानगरपालिकाका नगरप्रमुखसमेत रहेका सरावगीले भने, ‘लोककल्याण यसको मूल उद्देश्य हो, काठमाडौंसहित देशैभरिबाट यसमा उत्साहजनक सहभागिता जुटिरहेको छ।’

यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभूतहरूको शुद्धीकरण हुनुका साथै यज्ञको माध्यमले तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक तथा चारित्रिक विकासमा मद्दत पुर्‍याउने महायज्ञ सम्पादन मूल समितिका पदाधीकारीहरूको भनाइ छ। भारतसहित गायत्री परिवारका शाखाहरू रहेका देशहरू अमेरिका, क्यानडा, बेलायतलगायतबाट गायत्री परिवारका सदस्यहरू आउने बताइएको छ। विभिन्न देशबाट मानिसहरू आगमन हुने भएकाले महायज्ञको आयोजनबाट मुलुकको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको दाबी छ।
महायज्ञको मुख्यस्थल आदर्शनगर रंगशालामालाई बनाइएको छ। त्यहाँ महायज्ञका लागि दुई सय ५१ वटा यज्ञकुण्ड बनाइँदै छ। महायज्ञमा भारतको हरिद्वारका शान्तिकुञ्जका विशेष पुरोहित र साधकहरूबाट हवन यज्ञ चल्नेछ। २४ प्रकारका जडीबुटी प्रयोगपछि वायुमण्डलमा मापन गर्न मिल्ने गरी उल्लेखनीय रूपमा सकारात्मक बदलाव हुने सरावगीको दाबी छ। महायज्ञस्थलको भूमिपूजन गरी यज्ञस्थलको तयारी सुरु गरिएको थियो भने आइतबार यज्ञकुण्ड निर्माण पूजनपछि यज्ञका विधि गर्ने हवन कुण्डहरू बनाइनेछ। चार तहको मञ्च र प्रदर्शनीस्थल लगभग तयार हुन लागेको छ। यज्ञकुण्ड निर्माण पूजनमा बोल्दै वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्म भुसालले भने, ‘सौभाग्यले यस सहरले यो पावन आयोजक गर्ने अवसर पाएको छ।’

वीरगन्जको आदर्शनगर रंगशालामा आयोजना हुने यज्ञको उद्घाटन फागुन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी रहेको सरावगीले जानकारी गराए। महायज्ञ अवधिभर विभिन्न राजनीतिक दलका दलका शीर्षसहितका नेताहरू, मन्त्रीहरू र अन्य विशिष्ट ओहदाका मानिसहरूको आगमन हुनुका साथै समापन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने उनले बताए। यज्ञमा विदेशी तथा स्थानीय गरी तीन हजार स्वयंसेवक कार्यकर्ता र दुई हजार सुरक्षाकर्मी परिचालन हुने बताइएको छ। पहिलो दिन विभिन्न झाँकीसहित पाँच हजार एक सय कलशको यात्रा वीरगन्ज नगरमा परिक्रममा गरिनेछ। पुरै विश्वमा १३ करोड सदस्य रहेको गायत्री समाजले एक सय आठ स्थानमा अश्वमेध यज्ञ गर्ने लक्ष्य लिएको छ। वीरगन्जमा विश्वभरमध्ये ४४औं अश्वमेध महायज्ञ हुँदै छ।
विभिन्न सहरहरूमा महायज्ञको सन्देश पुर्‍याउन तीनवटा यज्ञरथहरू पठाइएका छन। यज्ञ अवधिभर दैनिक ५० हजार श्रद्धालुलाई भोजन गराउने स्थल निर्माण भइसक्यो, दुई सयभन्दा बढी अस्थायी शौचालय बनाइने र विभिन्न ठाउँमा २५ भन्दा बढी महिला र अपांगमैत्रीसहित घुम्ती शौचालय स्थापना गरिनेलगायत प्रबन्ध हुँदै छ।’ १२ हजार मानिसको अवास व्यवस्था मिलाएको छ। अरू श्रद्धालु यात्रुका लागि विभिन्न गेहस्त परिवारले आफ्नो निजी आवासमा स्थान दिने स्वेच्छा जनाएका छन्।’

यज्ञमा दैनिक ६० हजार व्यक्तिले हवन गर्न सक्ने गरी प्रबन्ध मिलाउन लागिएको छ। यज्ञ अवधिभरि आयोजन हुने विविध कार्यक्रमअन्तर्गत १२ प्रकारका निःशुल्क संस्कार हुने र आध्यात्मिक तथा विभिन्न सामाजिक विषयमा ज्ञान प्रवाहका लागि दुई दर्जनजभन्दा बढी कार्यशाला गोष्ठीको पनि आयोजना गरिने बताइएको छ। महायज्ञ आयोजनामा दुई करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
अश्वमेध गायत्री माहायज्ञका लागि यज्ञकुण्ड निर्माण पूजन गरिँदै। तस्बिर ः रितेश÷नागरिक

प्रकाशित: १३ फाल्गुन २०७५ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App