८ वैशाख २०८१ शनिबार
अर्थ

अन्तर्राष्ट्रिय व्यापार मेला चैत १४ बाट

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले हरेक वर्ष आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष चैत १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।

उक्त मेलाका लागि स्टल बुकिङ खुला भइसकेको र यस वर्षको मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० वटा र मेलामा नेपाली हस्तकला र एनटिआइएस वस्तुहरूको ५० वटा स्टल बुकिङ भइसकेको महासंघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह–आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१९ आठौं संस्करण हो।

मेलाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष भवानी राणाले उक्त मेला नेपाली उत्पादनलाई अन्तर्रा्ष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सशक्त माध्यम बन्दै गएको बताइन्।
अध्यक्ष राणाले यसपटक लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका अन्तर्रा्ष्ट्रिय प्रतिनिधिले समेत मेला अवलोकन गर्ने र एनआइटिएफ मेलामा नेपालको औद्योगिक, व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

‘तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवा प्रदर्शन गरिने छ। मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्यान्ड, म्यानमार लगायतका देशहरूको सहभागिता रहने छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान लगायत देशहरूबाट क्रेता आउने अपेक्षा गरिएको छ।’
मेलाको मुख्य आकर्षणमा हस्तकला र एनटिआइएस उत्पादनहरू रहने छन्। मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तक्र्रिया गराउने लक्ष्य समेत रहेको छ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टल रहने छन्।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महŒवपूर्ण कडीका रूपमा हेरिएको बताए।

महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब एक लाखले अवलोकन गर्ने लक्ष्य राखिएको बताए।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक नविन शर्माले महासंघस“ग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त यो मेला अन्तर्रा्ष्ट्रिय मञ्चमा स्थापित मेला बन्दै गएको धारणा राखे।

पत्रकार सम्मेलनमा महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीले मेला नेपालको निर्यात प्रवद्र्धनमा मेला सहयोगी हुने विश्वास प्रकट गरे।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्लो वर्षहरूमा जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरू विभिन्न भागमा आयोजना हुँदै आइरहेका छन्। केही मेला सम्पन्न भइसकेका छन् भने केही तयारी गर्दै रहेका छन्।

महासंघले सफलतापूर्वक सम्पन्न गरेको अघिल्लो वर्षको मेला एक लाखभन्दा बढी स्वदेशी एवं विदेशी आगन्तुकले अवलोकन गरेका थिए। उक्त मेलामा स्वदेशी विदेशी गरी तीन सय ४० जना प्रदर्शनीकर्ताबाट वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो।

मेलामा चीन, भारत, बंगलादेश, कोरिया, जापान, लगायत देशबाट खरिदकर्ता आएका थिए। मेलामा नेपाली निर्यात योग्य वस्तुका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरूको समेत उल्लेख्य सहभागिता थियो।

राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको यो मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुग्ने विश्वास महासंघले लिएको छ।

मेलामा ज्येष्ठ नागरिक र फरक रुपले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई प्रवेशपत्रका आधारमा ५० प्रतिशत छुटमा प्रवेश टिकट दिने व्यवस्था गरिएको महासंघले जनाएको छ।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App