७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारणसभा

काठमाडौं – मुलुकको समृद्धिका लागि उद्योगी व्यवसायीको अहमं भूमिका रहेको भन्दै उनीहरुका जायज मागप्रति सरकार सकारात्मक र प्रतिवद्ध रहनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।उद्योगी व्यवसायी संघहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो साधारणसभामा आइतबार आफ्नो धारणा राख्दै उनीहरुले सो धारणा राखेका हुन्।

साधारणसभाउद्घाटन गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्योगी, व्यवसायी तथा सरकार सबैले आ–आफ्नो तर्फबाट समस्याको पहिचान र समाधानको लागि सकारात्मक ढंगले लाग्नुपर्ने बताए। उनले व्यवसायीका जायज माग पूरा गर्न सरकार पछि हट्न नहुने भन्दै यसका लागि आफू पनि व्यवसायीलाई सघाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

पूर्वअर्थमन्त्री रामशरण महतले व्यवसाय र उद्यमशीलता कसरी बढाउने भन्नेमा व्यवसायी प्रतिवद्ध रहनुपर्नेमा जोड दिए।‘उद्योगी–व्यवसायीका जायज माग सरकारले पनि खुल्ला दिलले सुनिदिनुपर्छ र समस्या समाधानतर्फ लाग्नुपर्छ।’ उनले अहिलेको मूल एजेन्डा नै आर्थिक समृद्धि भएकाले त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग तथा उद्यमशीलता आवश्यक रहेको र यस्तो वातावरण निर्माणमा सरकार सकारात्मक बन्नुपर्ने बताए।

वरिष्ठ अर्थविद चन्द्रमणि अधिकारीले प्रतिष्पर्धात्मक र खुल्ला बजार अर्थनीति रहेको अहिलेको अवस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको भन्दै उनले स्वस्थ प्रतिष्पर्धा बढाउन महासंघले पहल गर्नुपर्नेमा जोड दिए। सरकारले पनि यसका लागि आवश्यक नीति नियम तर्जुमा गर्न कञ्जुस्याइ गर्न नहुने उनको भनाइ छ।

करदाता सेवा कार्यालय नयाँ सडकका प्रमुख रामप्रसाद मैनालीले करको विषयमा बृहतरुपमा जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै तर्साएर भन्दा पनि स्वस्फुर्तरुपमा फर्मदर्ता गरेर राज्यको नीति नियमको दायरामा आउने वातावरण बनाउनुपर्नेमा जोड दिए।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले देशमा सञ्चालित उद्योग व्यवसाय फष्टाए मात्रै राष्ट्र आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नसक्ने धारणा राखे। उनले साना तथा मझौला उद्योगी तथा व्यवसायीलाईकसरी सहयोग पुर्‍याउन सकिन्छ भन्नेतर्फ सचेत हुँदै सरकारले त्यसै अनुरूपको नीति र कार्यक्रम ल्याउनु जरुरी रहेको बताए। 

यस्तै संघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले महासंघ छोटो समयको अन्तरालमा नै समाजमा स्थापित हुन सक्षम भएको दावी गर्दैसंघलाई अझ सुदृढ बनाउँदै अघि बढाइने बताए।देशभरका व्यापारी, व्यवसायी तथा उद्यमीहरुको २१ भन्दा बढी संघ आवद्ध महासंघमा १० हजारभन्दा बढी सदस्य छन्।

प्रकाशित: १३ फाल्गुन २०७५ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App