६ वैशाख २०८१ बिहीबार
समाज

अख्तियारले सुरु गर्‍यो छानबिन

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज प्रकरणको छानबिन अघि बढाएको छ। निगमले एअरबस कम्पनीसँग खरिद गरेको वाइड बडी जहाजमा भ्रष्टाचार भएको निष्कर्ष निकाली सार्वजनिक लेखा समितिले कारबाहीका लागि सिफारिस गरेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो।

दिगो विकास तथा सुशासन समितिको आइतबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त नवीनप्रसाद घिमिरेले वाइडबडी प्रकरणमा अनुसन्धान सुरु भइसकेको बताए। घिमिरेले बैठकमा भने, ‘सो प्रकरणमा मुछिएका सरोकारवालासँग बयान लिने र कागजपत्र संकलन गर्ने कार्य भइरहेको छ।’ लेखा समितिले दोषी ठहर गरेका सहित अन्य व्यक्तिसँग पनि क्रमशः बयान लिइने उनले बताए।

निगमले विमान खरिद गर्दा ४ अर्ब ३८ करोड रुपैयाँ घोटाला भएको निष्कर्ष निकाली लेखा समितिले कारबाहीका लागि सिफारिस गरेको थियो। लेखाको प्रतिवेदन विवादमुक्त भने छैन। समितिले विमान खरिदमा अन्तिम किस्ता बुझाउने पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित तत्कालीन पर्यटनमन्त्रीहरु जितेन्द्र देव र जीवनबहादुर शाहीलाई दोषी देखाएको थियो तर पहिलो किस्ता बुझाउने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भने दोषी देखाइएको थिएन। पहिलो किस्ता बुझाउँदा देउवाले पर्यटन पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए।
बैठकमा घिमिरेले सो प्रकरणमा मुछिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार विगतमा भएका भ्रष्टाचार र हुन सक्ने भ्रष्टाचार रोक्न अख्तियारले कुनै कसर बाँकी राख्नेछैन।

पाठकमाथि पनि अनुसन्धान सुरु
घिमिरेले नेपाल इन्जिनियरिङ कलेज प्रकरणमा ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि राजीनामा दिएका अख्तियारका आयुक्त राजनारायण पाठकमाथि पनि अनुसन्धान जारी राखिएको बताए। सो प्रकरणका अनुसन्धानका लागि आवाश्यक भिडियोसहित कागजपत्रसमेत संकलन भइरहेको तथा घटनामा संलग्नसँग बयान लिने काम जारी राखिएको उनले जानकारी दिए। संविधान र अख्तियार ऐनअनुसार नै पाठकमाथि कारबाही हुने र त्यसमा अख्तियारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता घिमिरेले व्यक्त गरे।

प्रकाशित: १३ फाल्गुन २०७५ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App