coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बम विस्फोटन ‘आतंककारी’ गतिविधि

काठमाडौं - विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोट घटनालाई आतंककारी गतिविधि भएको बताएका छन्। सर्वसाधारणको ज्यान जानेगरी भएको विस्फोटन आतंककारी तथा आपराधिक घटना भएको उनीहरुको टिप्पणी छ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले अराजकमात्रै भनेर नपुग्ने यो घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। ‘यो आपराधिक वा आतंककारी गतिविधि हो। सार्वजनिक स्थानमा भएको बम विस्फोटले सर्वसाधारणलाई आतंकित त पा¥यो नै, सर्वसाधारणको ज्यानैसमेत लियो’, पोखरेलले भने। मुलुकमा शान्ति स्थापना भइरहेको बेला नियोजित ढंगले विस्फोट गराइएबाट वैदेशिक लगानीको वातावरणसमेत बिगार्न खोजेको उनले बताए। ‘मुलुकलाई स्थायित्वतिर लैजानुपर्नेमा फेरि द्वन्द्वतर्फ धकेल्ने काम भएको छ। एनसेलले कर तिरेको छैन वा अन्य गैरकानुनी काम गरेको छ भने कानुनी कारबाही गर्नुपर्छ तर समाजमा आतंक फैलाउने काम गर्नुहँुदैन’, पोखरेलले भने।

नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले पनि बम विस्फोट गराइएको घटनालाई अपराधको संज्ञा दिए। ‘सार्वजनिक स्थलमा बम विस्फोट भएको छ, सर्वसाधारणको ज्यान गएको छ, घाइते भएका छन्। यस्तो घटनाको जति निन्दा गरे पनि कम हुन्छ। यो सामान्य प्रकृतिको घटना होइन’, उनले भने। एनसेलले राज्यलाई पुँजीगत लाभकर नतिरेको र उसकै कार्यालयलाई लक्षित गरेर बम विस्फोट हुनु सन्देहपूर्ण रहेको भन्दै उनले त्यसको समेत छानबिन हुनुपर्ने बताए। सरकारले मुलुकमा शान्तिसुरक्षा प्रत्याभूत गर्नुपर्ने बताउदै नेता भट्टराईले भने, ‘यसको दोषीलाई पक्राउ गरी शान्ति सुरक्षा सुदृढ बनाउनुपर्छ।’ नेपाली कांग्रेसले पनि एक विज्ञप्ति जारी गर्दै बम विस्फोट आततायी घटना भएको उल्लेख गरेको छ। ‘दशक लामो हिंसाबाट भर्खरै मुक्त भएर शान्तिपूर्ण ढंगले अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो वहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद छ,’ कांग्रेसले भनेको छ, ‘सरकार यसप्रति गम्भीर बनोस्, शान्तिसुरक्षा कायम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जोडदार माग गर्छ।’

विप्लव समूहप्रति कडा नीति अवलम्बन गर्दै सरकार

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा व्यावसायिक वातारण निर्माण र विकासका लागि कानुनी राज्य, शान्ति र अमनचयन कायम हुनपर्ने आफूहरुले पहिलेदेखि नै भन्दै आएको बताएका छन्। शुक्रबार राति भएका जस्ता घटनाले लगानीकर्तालाई प्रभावित बनाउने शर्माले बताए। मुलुकभित्र फेरि आतंक सुरु भएको पनि उनको भनाइ छ। सरकारले आगामी चैत मध्यदेखि अन्तर्राष्ट्रिय लगानीकर्तालाई बोलाएर लगानी सम्मेलन गर्दैछ।

राजपा नेता अनिल झाले बम विस्फोटको घटना गराउनेलाई कारबाही हुनुपर्ने बताए। ‘आन्दोलन गर्न पाइन्छ तर शान्तिपूर्ण रुपमा गर्नुपर्छ। रातको समयमा होइन, दिनको उज्यालोमा सबैले देख्नेगरी आन्दोलन गर्न पाइन्छ’, उनले भने।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले घटनाको अनुसन्धान भइरहेको बताए। ‘कुन समूहले यस्तो काम गरेको हो भन्ने कुरा सुरक्षा निकायले पहिचान गरिसकेको छ। मुलुकको संविधान र प्रचलित कानुनविपरीत घटना गराउनेलाई सरकार कानुनी दायरामा ल्याई कारबाही गर्छ’, उनले भने।

यस्तो छ सरकारको तयारी
शुक्रबार साँझ ललितपुरमा एकजनाको ज्यानेगरी भएको घटनाको जिम्मेवारी नेकपा विप्लव समूहले लिएपछि सरकारले उक्त समूहप्रति कडा नीति अख्तियार गर्ने भएको छ। गृह मन्त्रालयमा भएको उच्चस्तरीय बैठकमा सुरक्षा निकायमा सबै संयन्त्रलाई विप्लव समूहका सदस्यलाई जहाँ भेट्यो त्यहीं पक्राउ गर्न निर्देशन दिने निर्णय भएको छ। सो समूहले हिंसाको बाटो अवलम्बन गर्न थालेकाले त्यसलाई समयमै नियन्त्रण गर्ने निर्णय भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। ‘मुलुकमा राजनीतिक स्थायित्व कायम हुन लागेको अवस्थामा कुनै एक समूहले राजनीतिक आवरणमा चन्दा उठाउने, चन्दा नदिए बम विस्फोट गराउने तथा सर्वसाधारणमा आतंक मच्चाउन थालेकाले कडा नीति अख्तियार गर्न लागेको हो’, स्रोतले भन्यो। मन्त्रालयले ७७ वटै जिल्लाका प्रहरी कार्यालय तथा प्रमुख जिल्ला अधिकारीलाई यस्ता गतिविधिविरुद्ध सुरक्षाकर्मीका सबै एकाइ परिचालन गर्न निर्देशन दिएको छ। ‘परिचालनमा सुरक्षा निकायका सबै युनिट भनेका छौं, त्यसमा कुनकुन पर्छन्, तपाईं आफैं बुझ्नुस्’, मन्त्रालय स्रोतले भन्यो।
विप्लव समूहले लियो जिम्मेवारी

सर्वसाधारणको ज्यान जानेगरी भएको बम विस्फोटको जिम्मा नेकपा विप्लव समूहले लिएको छ। आइतबार साँझ बिबिसीलाई सो पार्टीका नेता हेमन्तप्रकाश ओलीले अन्तर्वार्ता दिँदै जिम्मेवारी लिएका हुन्। बम विस्फोट हुँदा केही कमजोरी भएको स्वीकार गर्दै उनले सो घटना सामान्य भएको बताए। उनले विस्फोटबाट एक व्यक्तिको ज्यान गएकोमा दुःख व्यक्त गर्दै केही त्रुटि भएको र पीडित परिवारलाई राहत दिनेसमेत बताए। विस्फोटमा आफूहरूले सर्वसाधारणलाई ‘निसाना नबनाएको’ उनको भनाइ थियो। क्रान्तिको दौरानमा यस्ता सानातिना घटना भइरहने उनले बताए। उनले ‘प्रचण्ड बाबुराम र बादलले नै नेतृत्व गर्दा पनि अनाहकमा १७ हजारभन्दा बढीको ज्यान गएको’ दाबीसमेत गरे। सरकारले अन्यायपूर्ण तरिकाले आफूहरुमाथि आक्रमण गरे नेपाली जनताले प्रतिकार गर्ने दाबीसमेत उनले गरे। विप्लव समूहले गराएको बमविस्फोटमा परी लम्जुङ स्थायी घ भएका सिमप्रसाद गुरुङको मृत्यु भएको छ। उक्त घटनामा ललितपुरका प्रतीक्षा खड्का र उरुषा मानन्धर घाइते भएका छन्।

प्रकाशित: १३ फाल्गुन २०७५ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App