coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कृषि उत्पादन ३३ लाख मेट्रिक टन बढाउने

फाइल तस्बिर

काठमाडौं – बर्सेनि कृषिजन्य वस्तुको आयात बढेपछि सरकारले आगामि पाँच वर्षमा खाद्यान्न, तरकारी र फलफूलको उत्पादन करिब ३३ लाख मेट्रिक टनले बढाउने लक्ष्य लिएको छ। कृषि उत्पादन वृद्धि नहुँदा व्यापार घाटा बढिरहेको भन्दै कृषि तथा पशुपक्षी मन्त्रालयले आर्थिक वर्ष ०८०/८१ सम्म उत्पादन बढाएर दुई करोड १५ लाख ४० हजार मेट्रिक टन पुर्‍याउने योजनाको खाका सार्वजनिक गरेको छ।

मन्त्रालयका सचिव युवकध्वज जिसीले आइतबार प्रधानमन्त्री केपी ओली समक्ष आगामी पाँच वर्षमा ३२ लाख ७९ हजार मेट्रिक टन खाद्यान्न, तरकारी र फलफूल उत्पादन बढाउने योजनासहितको लक्ष्य प्रस्तुत गरेका हुन्। उत्पादन बढाउन अहिले कृषिमा विनियोजन गरेको बजेट अपर्याप्त भएको सचिव जिसीले बताए। अहिलेसम्म विनियोजन गर्दै आएको कुल बजेटमा कृषिको बजेट २.७२ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्‍याउनुपर्ने जिसीले बताए। ‘बजेटसहित ३५ प्रतिशत खेतीयोग्य जमिनमा भएको सिँचाइ ६० प्रतिशतमा पुर्‍याउनुपर्छ,’ जिसीले भने, ‘यसले उत्पादन बढाउँछ।’

कृषि उत्पादन बढाउने घोषणा गरे पनि कृषिजन्य वस्तुको आयात बर्सैनि वृद्धि हुँदै गएको छ। कृषि उत्पादन बढाउन यान्त्रिकीकरण, व्यवसायीकरण, औद्यौगिकीकरण र आधुनिकीकरण गर्नुपर्ने उनले बताए। मन्त्रालयले अुनदानमा सबैको पहुँच पुर्‍याउन अहिले दिँदै आएको अनुदानको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको जिसीको भनाइ छ। 

सचिवको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले प्रविधि प्रयोग गरेर कृषि उत्पादन बढाउनुपर्ने बताए। ‘कृषिमा जे गर्नुपथ्र्यो त्यो हुन सकेको छैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिव जिसीले भने, ‘उन्नत प्रविधिको प्रयोग गरेर ठूलो परिमाणमा खेती गरी उत्पादन बढाउनु पर्‍यो।’

बजेट वृद्धिसँगै अन्य निकायले सघाउनुपर्ने, कृषिको बजार सुनिश्चितता, कृषिजन्य उद्योग स्थापना, आवश्यकता अनुसार ऋण उपलब्ध गराउनुपर्ने सचिवले प्रधानमन्त्रीलाई सुझाए।

सचिव जिसीका अनुसार आगामी पाँच वर्षमा धान उत्पादन ६१ लाख ७३ हजार मेट्रिक टन पुर्‍याउने योजना छ। त्यसैगरी, मकै २५ लाख ९६ हजार मेट्रिक टनबाट बढाएर २९ लाख २७ हजार टन, गहुँ १९ लाख ४९ बाट २४ लाख २० हजार टन पुर्‍याउने लक्ष्य छ। तरकारी उत्पादन चार लाख टन बढाएर ४५ लाख टन पुर्‍याउने योजना छ।

माछा उत्पादन ९० हजारबाट एक लाख ३५ हजार मेट्रिक टन पुर्‍याउने तयारी छ। दूध उत्पादन २० लाख ८५ हजारबाट २७ लाख ११ हजार, मासु तीन लाख ४७ बाट चार लाख ५१ हजार मेट्रिक टन पुर्‍याउने मन्त्रालयले जनाएको छ। 

उत्पादन बढाउन लगानी बढाउनुपर्ने राष्ट्रिय योजना आयोगले पनि जनाएको छ। आगामी तीन वर्षमा करिब ७२ अर्ब रुपैयाँ कृषि क्षेत्रमा खर्चिनुपर्ने खाका राष्ट्रिय योजना आयोगले तयार पारेको छ। आयोगले बनाएको मध्यकालीन त्रिवर्षीय योजनामा आगामी आर्थिक वर्ष ०७७/७८ सम्म ७१ अर्ब ७९ करोड सात लाख रुपैयाँ कृषि क्षेत्रमा खर्च गर्ने अनुमानित बजेट सहितको खाका तयार गरिएको हो। कार्यक्रमका लागि सरकारको तर्फबाट ६४ अर्ब १० करोड बजेट, वैदेशिक अनुदान ६ अर्ब ४१ करोड, वैदेशिक ऋण एक अर्ब २६ करोड रुपैयाँ व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। 

मुलुकमा खाद्य सम्प्रभूता र खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति दिँदै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषि उपजमा आत्मनिर्भरतर्फ उन्मुख हुन बजेट खर्च गर्ने तयारी हो। आगामी पाँच वर्षमा कृषि उत्पादन बनाउने घोषणा गरेको सरकारको मध्यकालीन खर्च रणनीति पनि महŒवाकांक्षी देखिएको छ। निर्वाहमुखी कृषि प्रणालीलाई नाफामूलक, दिगो, व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषिमा आधारित उद्योगको विकास गरी रोजगारी सिर्जना गरेर आम्दानी बढाउने उद्देश्य सरकारले लिएको छ।

कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउन तुलनात्मक लाभ हुन सक्ने स्थानीय बालीनाली र आधारभूत खाद्य वस्तुको उत्पादन वृद्धि गर्ने रणनीति छ। कुल गार्हस्थ उत्पादनमा २७.६ प्रतिशत योगदान पुर्‍याएको कृषि क्षेत्रमार्फत गरिबी न्यूनीकरण, ग्रामीण रोजगारी सिर्जना र व्यापार सन्तुलनमार्फत देशको आर्थिक विकासमा सघाउ पुर्‍याउने गरी मध्यकालीन खर्च संरचना तयार गरेको छ।

कृषि क्षेत्रमा सीमित साधन, स्रोत र सामग्रीका बाबजुद सिँचाइ सुविधा, रासायनिक मल, विषादी, उन्नत बीउबिजन, माछा भूरा, कृषि ऋण, प्रविधि र ज्ञानको प्रयोग गरी कृषि उत्पादन वृद्धिमा कार्यक्रम केन्द्रित गर्ने सरकारको तयारी छ। केन्द्रीय सरकारको लक्ष्य भेट्न प्रदेश र स्थानीय सरकारले बजेटमा प्राथमिकता दिन संघीय सरकारको योजना छ।

कृषिजन्य वस्तु उद्योगको उपकरण खरिदमा २५ प्रतिशत अनुदान दिने घोषणा गरेको सरकारले दूध, मासु, फलफूल तथा तरकारी प्रशोधन उद्योगलाई पनि प्रोत्साहन दिने जनाएको छ। सहकारी र निजी क्षेत्रसँगको सहकार्यमा रासायनिक मल, प्रांगारिक मल, किटनाशक विषादी तथा कृषि औजार कारखाना स्थापना गर्ने कार्यक्रम प्राथमिकतामा छ।

कृषि उत्पादनमा लिएको लक्ष्य

बाली/उपज आधार वर्ष ०७४/७५ को उत्पादन (हजार मेट्रिक टन) आर्थिक ०८०/८१ मा उत्पादन

(हजार मेट्रिक टन)

धान ५१५१ ६१७३

मकै २५९६ २९२७

गहु १९४९ २४२०

तरकारी ४०९९ ४५००

आलु ३०८८ ३४९८

फलफूल १०१० १५१०

दलहन ३६८ ५१२

जम्मा १८,२६१ २१,५४०

स्रोत : कृषि तथा पशुपक्षी मन्त्रालय

प्रकाशित: १३ फाल्गुन २०७५ ००:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App