coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चार दिनमा ५६ बाँदर समातिए

खोटाङ– राष्ट्रिय निकुञ्जमा पुर्‍याउने गरी खोटाङमा चार दिनमै ५६ वटा बाँदर समातिएको छ। निकुञ्जमा पुर्‍याएर छाड्नेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट भारतीय शिकारीमार्फत फागुन ७ गतेदेखि बाँदर समात्न थालिएको हो। भारतीय शिकारीले जंगलमा जाल थापेर शनिबारसम्ममा ५६ बाँदर समातेको नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताए। 

अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउनका लागि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले जिल्लामा ‘बाँदर समाउ’ अभियान थालेको हो। खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि बाँदरलाई खुसीनगर उत्तर प्रदेशका पेसेवार शिकारीमार्फत समातेर निकुञ्ज पुर्‍याएर छाड्ने अभियान थालिएको कोषाध्यक्ष राईले बताए। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ वडाका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई जिल्ला भित्र्याइएको हो। आगामी जेठ मसान्तभित्रमा प्रतिवटा दुई हजारका दरले २५० वटा बाँदर समात्नेगरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीचमा सम्झौता भएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए। सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिएको ‘बाँदर समाउ’ अभियान जिल्लाका १० वटै स्थानीय तहमा पुर्‍याइने अध्यक्ष घिमिरेले बताए। 

माघ २८ गते भएको भेलामा बाँदर नियन्त्रणका लागि नगरका सबै वडाले प्रतिवडा डेढ लाखका दरले बजेट व्यवस्था गर्ने निर्णय भएको छ। यसबाहेक लफ्याङमा चन्दा समेत संकलन भइरहेको छ। बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका स्थानीयले पुस २७ गतेदेखि केही दिन ‘बाँदर धपाउ’ अभियान सुरु गरेको केही समयपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाउ’ अभियान सुरु गरिएको हो। 

खेतबारीका अन्नबाली सखाप पारिदिने बाँदर नियन्त्रणको उपायको खोजीमा गत मंसिर १६ गते दिक्तेलमा भेला भएका किसानले बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरेका थिए।

प्रकाशित: १२ फाल्गुन २०७५ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App