coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलाले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोड्यो,  सबै सिमाना बन्द

काराकस– भेनेजुएलाले कोलम्बियासँग राजनीतिक तथा कुटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ। अमेरिकी सहायता सामग्री भेनेजुएला भित्र्याउन कोलम्बियाले सहयोग गरेको भन्दै राष्ट्रपति निकोलस मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन। ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कुटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु। भेनेजुएलास्थित कोलम्बियाको राजदूताबासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुएलाबाट फर्किउन्’, उनले भने। 

मदुरोले आफ्नो देशमा संकट नरहेको र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले भेनेजुएलामा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै विदेशी सामग्री भित्रिन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। 

भेनेजुएलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडपहरू भएका थिए। सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको छ भने गत महिना सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ह्वाँ गुएइदोले देशमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्रीको चरम अभाब भएका कारण सहयोग भित्राउन आफ्ना समर्थकलाई आग्रह गरिरहेका बेला कुटनीतिक सम्बन्ध तोड्ने निर्णय आएको छ। 

सहयोगस्वरूप आएको सामग्री भित्राउने क्रममा सरकारी सुरक्षाकर्मीले रोकेपछि विपक्षी आन्दोलनकारी समूहले बलपूर्वक सामान भित्राउने क्रममा झडप भएको हो। झडप कोलम्बिया र ब्राजिल क्षेत्रमा चार जनाको मृत्यु भएको र करिब ३०० जना घाइते भएको कोलम्बियाली अधिकारीले जनाएका छन्। अश्रुग्यासको प्रभावका कारण कतिपय आन्दोलनकारीको आँखाको ज्योति गुमेको भन्ने खबरहरू पनि आएका छन्। 

सीमा क्षेत्रमा हिंसा बढेपछि राष्ट्रपति मदुुरो नेतृत्वको सरकारले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोडेको हो। राष्ट्रपति माधुरोले सहायता सामाग्री भित्रिन नदिन कोलम्बियासँग जोडिएका सबै सिमाना आंशिक रुपमा बन्द गर्न निर्देशन दिएका छन्। 

प्रकाशित: १२ फाल्गुन २०७५ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App