coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका राजमार्ग असुरक्षित बन्दै

निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा मार्गअन्तर्गत पर्ने दुधौली बजार।

सिन्धुली – ट्राफिक प्रहरी अभावमा सिन्धुलीका ग्रामीण क्षेत्रका सडकमा चोरीका मोटसाइकल जताततै गुड्न थालेका छन्। दुई नगर र सात गाउँपालिका रहेको सिन्धुलीका अधिकांश स्थान सडक सञ्जालले जोडिएको छ। निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा तथा मध्यपहाडी लोकमार्ग भएर चल्ने धेरैजसो मोटसाइकल बिना लाइसेन्स र ब्लुबुकका हुने गरेको पाइएको छ।

जिल्लाका अधिकांश निर्माणाधीन राजमार्गमा ट्राफिक प्रहरीको व्यवस्था गरिएको छैन। सहरीकरण हुँदै गरेको क्षेत्रमा सवारी जाँचको व्यवस्था नगरिँदा समस्या निम्तिएको छ। ‘सवारी अनुगमन गर्न ट्राफिक छैनन्, हाम्रा गाउँतिर गुड्ने धेरै गाडी र मोटरसाइकल चोरीका छन्’, मरिण गाँउपालिकाका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘इलाका प्रहरी कार्यालयले लाइसेन्स र ब्लुबुक जाँच गर्दैन, राजमार्गमा ट्राफिक छैनन् युवाहरुको मनपरी र गुन्डागर्दी बढेको छ।’ दुधौलीदेखि मरिणसम्म इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकी रहे पनि ट्राफिक प्रहरी छैनन्। 

जिल्ला ट्राफिक प्रहरी प्रमुख सई विष्णुबहादुर बस्नेतले जिल्लाभरिका लागि १५ जना ट्राफिक प्रहरी रहेको जानकारी दिए। तर, छुट्टीमा हुँदा अपुग हुने गरेको उनले बताए। ‘बीपी राजमार्गका विभिन्न स्थानमा ट्राफिक प्रहरी राखिएका छन्, तर निर्माणाधीन राजमार्ग र ग्रामीण सडकमा व्यवस्था गर्न सकिएको छैन, उनले भने। मरिण क्षेत्रमा केही दिनमै एक जना ट्राफिक प्रहरी पठाइने र दुधौली क्षेत्रमा आफैं गएर जाँच गर्ने जनाए। सिन्धुलीका जताततै स्थानमा सडक तथा ठूला राजमार्ग बनेका छन्, ट्राफिकले हेर्नुपर्ने क्षेत्र धेरै छ’, उनले थपे, ‘त्यसैले समस्या आएको हो।’ 

दूधौली नगरपालिकामा ठूलै बजारसहित राजमार्ग निर्माणको क्रममा छ। बजारको अवस्थालाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले बजारमा ट्राफिक प्रहरी राख्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन्। 

ट्राफिक प्रहरीको व्यवस्था नहुँदा र सवारी जाँचको व्यवस्था नहुँदा राजमार्ग क्षेत्रमा चोरीका घटना पनि बढ्दै गएका छन्। जसका कारण गुन्डागर्दी बढ्दै गएकाले स्थानीय त्रसित हुने गरेका छन्। 

प्रकाशित: १२ फाल्गुन २०७५ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App