८ वैशाख २०८१ शनिबार
राजनीति

क्रान्तिकारीका प्रेरणास्रोत कृष्णदास

कुमार बेल्बासे,

२०७५ फाल्गुन ११ गते साढे चार बजेतिर एकजना पत्रकार मित्रले कृष्णदास श्रेष्ठको दिउँसो पौने दुईतिर निधन भएको स्तब्धकारी खबर दिनुभयो।

२०६२/०६३ को राष्ट्रिय संयुक्त जनान्दोलनको एउटा महत्त्वपूर्ण पक्ष संयुक्त वाममोर्चा, नेपालको एउटा घटकको नेताको रुपमा कृष्णदासद्वारा सम्पादित भूमिका नेपाली इतिहासमा सदा स्मरणीय रहनेछ।

नेपालको कम्युनिष्ट आन्दोलनका एक धरोहर र अनवरत क्रियाशिल पहिलो पुस्ताका नेता कृष्णदास श्रेष्ठ मार्क्सवादको राम्रो व्याख्याता हुनुहुन्थ्यो। उहाँ पार्टी नेता मात्र नभएर मार्क्सवादी ग्रन्थ तथा साहित्यका सिद्धहस्त अनुवादक पनि हुनुहुन्थ्यो। उहाँद्वारा अनुदित विभिन्न मार्क्सवादी पुस्तकले श्रमजीवी नेपाली जनतालाई अत्यन्त ठूलो गुन लगाईरहेका छन्।

उहाँसँगको मेरो सामान्य भेटघाट तथा बातचित पहिलेदेखि हुँदै गरेको भएता पनि पार्टीगत सहकार्य २०५२ असार ३० गतेको पार्टी एकीकरण पश्चात भएको थियो।

उहाँसँगको लामो सहकार्यबाट मैले महसुस गरेको सबैभन्दा सबल पक्ष विचारमा स्पष्टता नै हो। उहाँले के कुरा भन्ने गर्नुहुन्थ्यो भने मुलुकमा उदार पूजीवादी, संशोधनवादी, सुधारवादी तथा बालरोगबाट पीडीत ‘बामपंथी’ तत्वहरु जस्ता क्रान्ति विरोधीहरुको ठूलो जमात क्रान्तिका विरुद्ध क्रियाशील रहेको छ। नेपालको कम्युनिष्ट आन्दोलनमा थुप्रै संशोधनवादी र अवसरवादीहरू जम्मा भएका कारण  हाम्रो कम्युनिष्ट आन्दोलन निकै प्रदुषित रहेको छ। नेपालमा मार्क्सवादबारेको बुझाई कमजोर भएकोमा पनि उहाँको निकै ठूलो चिन्ता थियो।

नेपाली कम्युनिष्टहरूले निकै प्रतिकुल परिस्थितिमा क्रान्तिको पक्षमा काम गर्नु परिरहेको उहाँको ठम्याई थियो।  प्रदुषित कम्युनिष्ट पार्टीहरुको बोलाबाला रहेको अवस्थामा क्रन्तिकारी मार्क्सवाद र  क्रान्तिको पक्षमा काम गर्नु निकै गाह्रो हुन्छ। तर दृढ निश्चयका साथ अविचल कृयाशील रहेर काम गर्दा क्रान्तिकारीहरुको विजय सुनिश्चित छ भन्ने उहाँको ठम्याई छ। 

उहाँको त्यो ठम्याई र मार्गनिर्देशन क्रान्तिकारीहरुका निम्ति सदा प्रेरणादायी रहने छन्।   उहाँको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षती पुगेको छ।

स्थायी कमिटी सदस्य, नेकपा (माले)

प्रकाशित: १२ फाल्गुन २०७५ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App