१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

सन्तोषजनक भएन अर्थमन्त्रीको बेलायत भ्रमण

लण्डन - दुई सरकारी अधिकारी सहित संयुक्त अधिराज्य बेलायतको ३ तीन दिने भ्रमणमा आएका अर्थमन्त्री डा. युवराज खतिवडा शनिवार  साँझ नेपाल फर्किएका छन्। तर उनको बेलायत बसाइ भने उद्देश्यअनुरुप सन्तोषजक देखिएन।  

निकै उत्साहका साथ वुधवार लण्डन आएका उनले हित्रो विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ‘आफू धेरै ठूलो अपेक्षा बोकेर बेलायत’ आएको प्रतिक्रिया दिएका थिए।

उनको अपेक्षा आगामी चैतको दोस्रो साता हुन लागेको लगानी सम्मेलनमा बेलायतमा रहेका नेपालीबाट लगानी जुटाउने रहेको थियो। 

त्यही अपेक्षाअनुरुप लण्डन ओलिएकै दिन खतिवडा बुधबार साँझ गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागि भए। व्यवसायी भन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा डा. खतिवडा लगानी जुटाउने अपेक्षा विपरित सरकारको कार्यशैलीको चर्को आलोचना खेप्न वाध्य भए।

कार्यक्रममा सहभागीहरुले नेपालमा लगानी भन्दा सरकारले पछिल्लो पटक विदेशबाट फर्कनेले ल्याउने सामानमा कडाईका कारण त्रिभुवन विमानस्थलमा पर्ने समस्या प्रति चासो राख्दै सरकारको आलोचनामा समय खर्चिएका थिए।

विदेशमा रहेका नेपाली समुदायको लगानी भित्र्याउने महत्वकांक्षी योजना सहित कार्यक्रममा उपस्थित डा. खतिवडालाई गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले विदेशमा रहेका नेपालीमा विदेशी मुद्रामा सिधैं नेपालमा लगानी गर्ने क्षमता नभएको बताए। 

यस्तै विहीबार डा. खतिवडाले वेलायती अन्तराष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टसंग भेटघाट गरेका थिए। भेटमा मन्त्री डा. खतिवडाले बेलायत सरकारलाई नेपालको विकास सहयोग वृद्धि गर्न आग्रह गरेका थिए। 

यस्तै मन्त्री डा. खतिवडाले शनिबार विहान बेलायतका केही प्रतिष्ठित कम्पनीका प्रतिनिधीहरुसँग छलफल गर्न भ्याएका थिए। सिटी अफ लण्डनमा विहान डेढ घण्टा भएको नेपाल विजनेस ब्रेकफास्ट राउन टेलवलमा लगानीकर्ताहरु समक्ष डा. खतिवडाले नेपालमा लगानीको वातावरण अनुकूल रहेको बताउँदै लगानीका लागि आग्रह गरेका थिए। 

डा. खतिवडाले सो छलफल निकै उपलव्धिपूर्ण भएको प्रतिक्रिया नागरिकन्युजलाई दिन भ्याए। नेपालमा लगानी गर्नको लागि बेलायतीहरु निकै उत्साहित रहेको पाएको उनको भनाई थियो। बेलायती लगानीकर्ता नेपालमा ट्रीलियन डलरको लगानी भित्राउन इच्छुक रहेको उनले दावी गरे।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार  बेलुका लण्डनस्थित नेपाली दूतावासमा “नेपालमा लगानीका संभावना” विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ब्रिटिश लगानीकर्ताहरुलाई नेपालमा आएर लगानी गर्न आह्वान गरे।

आउँदो चैत १४ र १५ गते नेपाल सरकारले काठमाडौंमा लगानी सम्मेलन आयोजना गरेको जनाउँदै मन्त्री खतिवडाले ब्रिटिश लगानीकर्ताहरुलाई नेपाल आउन आमन्त्रण गरेका थिए।

उनले हाल नेपालमा स्थिर सरकार रहेको र लगानीकालागि सजिलो वातावरण बनाउन सरकारले नयाँ कानुनहरु ल्याउनुकासाथै कार्यान्वयन प्रकृयालाई चुस्तदूरुस्त पार्न लागेको भ्नदै लगानीकर्तालाई आस्वस्त पार्न खोजेका थिए। 

यसबाहेक लगानीकर्ता खोज्ने प्रयासकैरुपमा आफ्नो लण्डन बसाइका क्रममा अर्थमन्त्रीले ब्रिटिश अधिकारीहरु र अन्य सरोकारवालासँग पनि छलफल गरे। 

अर्थमन्त्रीसँगको हाउस अफ लर्डसका सदस्य लर्ड शेखले भारत तथा चीनको बीचमा रहेको नेपालमा लगानीको राम्रो सम्भावन रहेको बताए। आफू नेपालको मित्र रहेको बताउँदै उनले नेपालको विकासमा सघाउन जस्तो सहयोग गर्न पनि आफू तयार रहेको बताए।

बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालले खुला, उदार अर्थनीति अपनाएको बताउँदै गैरआवासीय नेपालीहरु लगायत ब्रिटिश लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे। उनले दुई देशबीचको संबन्ध २०० वर्ष पुरानो रहेपनि बेलायतबाट अपेक्षा गरे अनुरुपको लगानी नेपाल भित्रन नसकेको गुनासो पनि गरे।

यस्तै गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले लगानी गर्ने वातावरण सहज बनाउन अर्थमन्त्रीलाई आग्रह पनि गरे। त्यस्तै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन कँडेलले नेपाल लगानीका लागि खुल्ला रहेको र मुनाफाका अवसरहरु निकै रहेको बताए। 

एकजना ब्रिटिश लगानीकर्ता टिम गोचरले आफ्नो कम्पनीले नेपालमा ९ वटा परियोजनाहरु संचालन गरिरहेको र झण्डै चारहजार मानिसलाई रोजगारी दिएको बताए।

वन टु वाच कंपनीका अर्का प्रबन्ध निर्देशक विलेम ग्रिमिन्कले नेपालले साना तथा मझौला उद्यमीहरुलाई सघाउन विशेष जोड दिनुपर्ने बताए।  

डिएफआइडिको विकासकालागि व्यापार विभागका प्रमुख एण्ड्रयु म्याककब्री, नेपालस्थित डिएफआइडिका प्रमुख रुरिक मार्सडेन, सिडिसी ग्रुपका निर्देशक पियरे भ्यान हनिल्याण्ड लगायतसँग पनि अर्थमन्त्रीले लगानीका विषयमा छलफल गरेका थिए। 

तर, अर्थमन्त्रीको भ्रमणलाई नजिकबाट नियालिरहेकाहरुले यहाँका कतिपय जानकारले अर्थमन्त्री लगानी जुटाउने उद्देश्यले  सरकारी खर्चमा यहाँ आएको भएपनि उधारो प्रतिबद्धतामात्रै बोकेर स्वदेश फर्किएको टिप्पणी गर्दै वेलायत भ्रमणको औचित्य माथि प्रश्न उठाएका छन्।

 

प्रकाशित: १२ फाल्गुन २०७५ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App