coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

समयानुकूल प्रविधि र सेवा प्रवाहमा ध्यान देऊ

काठमाडौं - सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान स्थापनाको ५२औं वर्षमा प्रवेश गरेको छ। संस्थान ५२औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बिमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकूल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरे।

प्रतिस्पर्धी बन्दै गएका बिमाका योजनाहरुलाई समय सुहाउँदो बनाउँदै बिमकहरुसामु संस्थानले आफूलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै उपप्रधानमन्त्री पोखरेलले समयसापेक्ष अध्यावधिक हुँदै अगाडि बढ्न आग्रह गरे। उनले ग्रामीण जनसमुदायमा बिमाको पहुँच अत्यन्त न्यून रहेकाले बिमाको पहुँच विस्तारमा द्रुत गतिले संस्थानले आफूलाई विकास गर्नुपर्नेमा पनि जोड दिए। नेपालको बिमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले समयानुकूल प्रविधिको विकास, संगठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिस्पर्धामा उत्रन सुझाए। 

अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले जोखिम व्यवस्थापन, वित्तीय पहुँच वृद्घि तथा सुरक्षित बचतको लागि बिमा व्यवसायकोे माध्यमद्वारा संस्थानले आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धी कार्य प्रणाली अबलम्बन गर्दै जीवन बिमा व्यवसायमा आम नागरिकहरूलाई स्तरीय एवं दिगो सेवा प्रदान गर्ने कार्यमा लाग्न उनले सुझाए। 

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सरकारी संस्थानका हैसियतले जीवन बिमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा जोड दिँदै संस्थान प्रतिस्पर्धी बन्नुपर्ने, कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरुको दक्षता वृद्घि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिए। नयाँनयाँ प्रविधिको विकाससँगै जनसाधारणमा बिमाको आवश्यकता पनि भिन्न भिन्न हुँदै गइरहेको भन्दै उनले अनुसन्धानमुखी भई आवश्यकता अनुसारका बिमा लेखसहित दक्ष जनशक्तिकोे माध्यमबाट ग्राहकलाई सुरक्षण प्रदान गर्न सुझाव दिए। 

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले प्रतिस्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गरे। राष्ट्र बैंकको सबै नेपालीको बैंक खाता भन्ने अभियान जस्तै सबै नेपालीको बिमा अनिवार्य गर्नुपर्ने आवश्यकता उनले औंल्याए। बिमा अभिकर्ताको भूमिकालाई पनि परिमार्जन गर्दै समयसापेक्ष बनाउनुपर्ने भन्दै उनले आगामी दिनमा व्यक्तिगत नभई संस्थागत र व्यवस्थित बनाउनुपर्ने बताए। 

संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको दाबी गरे। बिमा बजारमा निजी र विदेशी कम्पनीको आकर्षण रहे तापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको उनले बताए। मुलुक संघीय संरचनामा पूर्ण रुपमा प्रवेश गरिसकेको परिप्रेक्षमा संस्थानले आफ्नो कार्य क्षेत्रलाई सोही बमोजिम सेवा विस्तार गर्ने योजना बनाइरहेको उनले जानकारी दिए। संस्थानका प्रशासक कविप्रसाद पाठकले देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजी परिचालन गर्दै विदेशी मुद्राको व्ययभार रोक्ने संस्थानको प्रमुख उद्देश्य रहेको बताए। संस्थानको अधिकृत पुँजी ५० करोड र चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रहेको जानकारी दिँदै उनले अगाडि थपे, ‘हाल संस्थानमा व्यक्तिगत जीवन बिमातर्फ करिब दुई लाख ९८ हजार बिमित छन्। यस बर्षबाट करिब तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बिमा थप गरिएको छ। त्यसैगरी अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीहरुको बिमा समेत संस्थानले गर्दै आएको छ।’

यसै आर्थिक वर्षको पहिलो अर्धवार्षिकमा चार अर्ब ४१ करोड बिमाशुल्क संकलन गरिएको एक अर्ब ५१ करोड दाबी भुक्तानी गरिएको जानकारी दिए। २०७५ पुस मसान्तमा संस्थानको जीवन बिमा कोष १९ अर्ब २१ करोड रहेको बताउँदै प्रशासक पाठकले दीर्घकालीन परियोजनामा लगानी गर्ने प्रयासस्वरुप माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा २१ करोड १८ लाख सेयर पुँजी र दुई अर्ब ऋण लगानी, जलविद्युत् लगानी तथा विकास कम्पनीमा एक अर्ब सेयर लगानी र विद्युत् उत्पादन कम्पनीमा ६ करोड ६० लाखको संस्थापक सेयर लगानी रहेको जानकारी दिए।

सो अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने तीनजना अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो।२०२४ साल पुस १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बिमा संस्थान प्रालि स्थापना भई फागुन ११ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेको उक्त कम्पनी राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ अनुरुप २०२५ साल पुस १ गते संस्थानमा परिणत भएको थियो। 

स्थापना कालदेखि नै लगातार नाफामा रहेको संस्थानले नेपाल सरकार लगायत संस्थापक सेयरधनीहरुलाई आकर्षक लाभांश र सरकारलाई करको रूपमा समेत करिब ३५ करोड वार्षिक राजस्व बुझाउँदै आएको छ। देशमा बिमा भन्ने बित्तिकै राष्ट्रिय बिमा संस्थान सम्झने स्थितिको निर्माण तथा बिमालाई मेचीदेखि महाकालीका गाउँगाउँसम्म पु-याउने ऐतिहासिक अभिभारा यसले बहन गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

संस्थानको संस्थापक सेयर धनीको रुपमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा नेपाल बैंक लिमिटेड छन्। नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत तथा १६.६७ प्रतिशत सेयर छ। सेयर पुँजी, दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल, बिमाशुल्क, पुनर्बिमा कमिसन नै संस्थानको आर्थिक स्रोतको आधार रहेको छ।

 

प्रकाशित: १२ फाल्गुन २०७५ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App