coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

केरा खेतीमा ठूलो लगानी गर्ने तयारीमा कृषि विकास बैंक

कैलालीको टीकापुरस्थित बनानाज एग्रो रिसोर्ट। तस्बिर : योगेश/नागरिक

टीकापुर - कृषि विकास बैंकले टीकापुरको केरा खेती विस्तारमा ठूलो लगानी गर्ने चासो देखाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय नेतृत्वको टोलीले केरा किसानसँग भेट गरी लगानीका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ। केरा किसानले सहज रुपमा आवश्यकताअनुसार ऋण नपाएका कारण केरा खेती विस्तारमा समस्या भइरहेको गुनासो गरेपछि प्रमुख कार्यकारी अधिकृत उपाध्यायले लगानीको चिन्ता नगर्न आग्रह गरे। उनले केरा किसानको आवश्यकताअनुसार लगानी गर्न तयार रहेको बताए। 

‘कार्ययोजना बनाएर आउनुस् हामी तपाईंहरुको आवश्यकताअनुसार लगानी गर्न तयार छौं,’ उनले भने, ‘कृषि क्षेत्रलाई माथि उकास्नु हाम्रो पनि दायित्व हो।’ टीकापुर केरा खेतीका लागि देशभर चिनिन थालेको छ। सरकारले टीकापुरलाई केरा खेतीको ‘हब’ भन्ने गरेको छ। पछिल्लो समय केरा खेती गर्ने किसानको संख्या बढ्न थालेको छ। टीकापुर नगरपालिकामा मात्रै सयभन्दा बढी किसानले पाँच सय बिघामा केरा खेती गर्दै आएका छन्। 

टीकापुरमा केरा खेतीको सुरुवात कालु हमालले गरेका हुन्। उनी अहिले केरा खेतीका साथै केराका परिकार बनाएर बेच्छन्। उनको बनानाज एग्रो रिसोर्टमा केराका ४० परिकार पाइन्छन्। उनले केरा खेतीलाई कृषि पर्यटनसँग जोडेका छन्। उनले कर्णाली नदी किनारमा ‘इको टुरिज्म’को सम्भाव्यता अध्ययन गरिरहेको बताए।‘म ठूलो लगानीमा पर्यटकीय क्षेत्र बनाउने सोचमा छुँ,’ उनले भने, ‘तर मसँग लगानी छैन। वित्तीय संस्थाले लगानी गर्न चासो देखाउँदैनन्।’ हमालको सोचलाई साकार पार्ने गरी लगानी गर्न तयार रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले समुदायलाई समेटेर कार्ययोजना पेस गर्न आग्रह गरे। उनले समुदाय, व्यवसायी र बैंकको सहकार्यमा ‘इको टुरिज्म’ सफल बनाउन तयार रहेको बताए। 

टीकापुरमा सबैभन्दा बढी केरा खेती गर्ने विनोद साह हुन्। उनले ८० बिघामा केरा खेती गरेका छन्। उनले केरा खेतीमा झन्डै डेढ करोड लगानी गरेका छन्। उनले केरा खेती विस्तारमा अझ लगानी बढाउन इच्छुक रहेको बताए। उनले सरकारी अनुदान नभएका कारण केरा खेती विस्तारमा समस्या भइरहेको गुनासो गरे। ‘हामी केरा खेतीमा आत्मनिर्भर बनाउन चाहन्छौं,’ उनले भने, ‘सरकारी अनुदान छैन। भारतीय केरासँग प्रतिस्पर्धा गर्न सकिदैन।’

टोलीले केरा किसानलाई सहुलीयत कर्जाअन्तर्गत लगानी गरिने बताएको छ। जसअन्तर्गत सरकारले ब्याजमा पाँच प्रतिशत अनुदान दिने गरेको छ। उद्यमशीलता सम्बन्धी विभिन्न सातवटा शीर्षकमा सहुलीयत कर्जा दिने गरेको बैंकका विभागीय प्रमुख तथा सुदूरपश्चिम प्रदेश सुपरीवेक्षक दुर्गा अर्यालले जानकारी दिए। उनले सोहीअन्तर्गत बैंकले केरा खेतीमा लगानी गर्ने सोच बनाएको बताए। ‘केरा खेतीमा लगानी यसअघि पनि हुँदै आएको छ,’ उनले भने, ‘अब केही ठूलो मात्रामा लगानी गर्ने सोचमा छौं।’

बैंकले केरा खेतीमा लगानी बढाउन चाहेकामा टीकापुरका किसान खुसी भएका छन्। उनीहरुले प्रतिबद्धताअनुसार कार्यान्वयन भए केरा खेती विस्तारमा निकै सहज हुने विश्वास व्यक्त गरे। केरा किसान टेकेन्द्र धामीले ब्याजमा मात्रै अनुदान पाउन सके धेरै राहत महशुस हुने बताए। ‘ब्याज सहुलियतले मात्रै पनि धेरै राहत हुनेछ,’ उनले भने, ‘प्रतिबद्धताअनुसार कार्यान्वयन चाँडो होस्।’ कृषि विकास बैंकको उच्च नेतृत्वले केराबारीमै पुगेर लगानी गर्ने प्रतिबद्धता गरेपछि केरा किसान हौसिएका छन्। उनीहरु प्रतिबद्धता चाँडै पूरा हुनेमा आशावादी रहेको बताउँछन्। 

प्रकाशित: १२ फाल्गुन २०७५ ०५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App