४ वैशाख २०८१ मंगलबार
अर्थ

पर्यटक कार्यविधि कार्यान्वयन गर्न माग

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै टिगानका पदाधिकारी तस्बिर/नागरिक

काठमाडौं – नेपाल सरकारले ल्याएको पर्यटक कार्यविधि कार्यान्वयन गराउन ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान)ले माग  गरेको छ। सरकारले गत भदौ १६ गतेबाट लागू गरेको ‘साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५’ कार्यान्वयन नहुँदा पर्यटन क्षेत्रमा समस्या देखिएको भन्दै कार्यान्वयन गर्न टिगानले माग गरेको हो।

टिगानले कार्यविधि कार्यान्वयनको लागि दबाब दिन शुक्रबार पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेलाई भेटी ज्ञापनपत्र बुझाएको छ। टिगानका महासचिव सर्की शेर्पाका अनुसार विभागमा बुझाएको ज्ञापनपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समेत बुझाइएको छ। कार्यविधिमा ट्रेकिङ वा पर्वतारोहणमा जाने विदेशीलाई गाइडबिना भ्रमण गराउन नपाइने व्यवस्था छ। तर, नेपाल पर्यटन बोर्डले गाइडबिनै भ्रमण अनुमति दिएर कार्यविधिको उल्लंघन गरेपछि टिगान कार्यविधि कार्यान्वयनको लागि दबाब दिन उत्रिएको हो। टिगानका अध्यक्ष कर्णबहादुर घलेका अनुसार पहिलो चरणमा १५ दिने अल्टिमेटमको ज्ञापनपत्र बुझाइएको छ। ‘१५ दिनभित्र हाम्रो मागसम्बोधन नभए विरोधका थप कार्यक्रम सार्वजनिक गर्छौं,’ घलेले भने।

कार्यविधिको बुँदा नं. ३ (२) मा गाइड साथमा राखेर मात्रै पदयात्रा गराउनुपर्ने प्रावधान छ। गाइडबिना पदयात्रामा पर्यटक पठाउँदा पर्यटक हराउनेदेखि मृत्यु हुनेसम्मको समस्या देखिएपछि यो व्यवस्था गरिएको थियो। तर, सोही व्यवस्था कार्यान्वयन नभएपछि टिगान आन्दोलनमा उत्रिन बाध्य भएको घलले जानकारी दिए।पदयात्रामा जाने अनुमति नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जारी गर्छन्। सरकारले गत भदौ १६ गतेबाट कार्यविधि लागू गरेपछि मन्त्रालयले पदयात्रामा जाने पर्यटकलाई साथमा अनिवार्य गाइड लैजाने व्यवस्था कार्यान्वयन गर्न पर्यटन विभागलाई भदौ २४ गते पत्र पठाएको थियो। सोही पत्रको आधारमा विभागले भदौ ३१ गते पदयात्रामा पर्यटक पठाउँदा गाइड अनिवार्य गर्न बोर्ड र टानलाई पत्राचार गरेको थियो। टानले पदयात्रा अनुमति जारी गर्दा गाइड अनिर्वाय गरे पनि बोर्डले कार्यविधि उल्लंघन गर्दै बिनागाइड पर्यटकलाई पदयात्रामा पठाइरहेको छ। 

गाइडबिनै अनुमति दिएर पदयात्रामा पर्यटक पठाइरहेको बोर्डका सिइओ दीपकराज जोशीले स्वीकार्छन्। ‘गाइडबिना पदयात्रामा पयर्टक पठाउन नहुने व्यवस्था राम्रो हो,’ जोशीले भने, ‘तर पनि सरकारले गरेको व्यवस्था कार्यान्वयन गर्न सकेका छैनौं।’ बोर्डबाट टिम्स कार्ड लिएर पदयात्रामा जाने पर्यटक फ्री इनडिभिडुअल ट्रेकर (एफआइटी) हुन्। एफआइटीलाई गाइड अनिवार्य गर्ने गृहकार्य भइरहेको उनले बताए। ‘गाइड अनिवार्य गर्दा ट्रेकर सुरक्षित हुने र नेपाली गाइडले रोजगारी पनि पाउने हुँदा हामीलाई नै फाइदा हुन्छ,’ जोशीले भने, ‘कसरी लागू गर्ने भन्नेमा गृहकार्य गर्दैछौं।’

सरकार सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा छ। स्रोतका अनुसार गाइडविना पर्यटकलाई पदयात्रामा पठाउँदा एफआइटी घट्ने डरले कार्यविधि कार्यान्वयन गर्न बोर्ड पछि सरिरहेको छ। 
तर, पर्यटन विभागका महानिर्देशक घिमिरे भने यो वा त्यो बहानामा कार्यविधि उल्लंघन गर्न नपाइने बताउँछन्। ‘हामीले कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘सरकारको कार्यविधि कार्यान्वयन नगर्न कसैलाई छुट छैन।’ पर्यटन क्षेत्रमा भएका समस्या समधान गर्न ल्याइएको कार्यविधि कार्यान्वयन आवश्यक रहेको घिमिरे बताउँछन्। टिगानको ज्ञापनपत्र बुझ्दै कार्यविधि कार्यान्वयनमा विभाग सकारात्मक रहेको घिमिरेले बताए। त्यसको कार्यान्वयन गर्न टिगान उत्रनुभन्दा विभाग आफैं लाग्ने उनले बताए। 

प्रकाशित: १२ फाल्गुन २०७५ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App