लन्डन – जेरार्ड डेउलोफ्युले इङ्लिस प्रिमियर लिगमा पहिलो पटक ह्याट्रिक पूरा गर्दा शुक्रबार वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ को फराकिलो अन्तरले हराउँदै तालिकाको सातौं स्थानमा उक्लिएको छ।
डेउलोफ्युले घरेलु टोली कार्डिफविरुद्ध १८औं मिनेटमा गोल गर्दै टोलीको खाता खोलेका थिए। डेउलोफ्युले ६१औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। पहिलो हाफमा एक गोल गरेको वाटफोर्डले दोस्रो हाफमा चार गोल गरेको हो।
डेउलोफ्युको ह्याट्रिकमा ३–० को अग्रता लिएको वाटफोर्डका लागि ट्रोइ डिनीले ७३औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए। फराकिलो अन्तर बनाएको वार्टफोर्डविरुद्ध कार्डिफका सोल बाम्बाले ८२औं मिनेटमा गोल गर्दै अग्रता छोट्याए। तर पनि दबाबमा रहेको घरेलु टोली कार्डिफले वाटफोर्डको आक्रामक खेललाई रोक्न सकेन। खेलको अन्तिम मिनेटमा वाटफोर्डका लागि ट्रोईले व्यक्तिगत दोस्रो गोल थप्दै फराकिलो जितलाई सुनिश्चित गरे।
२७ खेलबाट ४० अंक बनाएको वाटफोर्डले तीन स्थान सुधार गर्दा पराजित कार्डिफ भने रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि १७औं स्थानमा छ। कार्डिफको समान २७ खेलबाट २५ अंक छ भने रेलिगेसन क्षेत्रमा रहेका टोलीत्रय साउथह्याम्पटन, फुलह्याम र हडर्सफिल्ड टाउन तालिकाको पुछारबाट क्रमशः तेस्रो, दोस्रो र पहिलो स्थानमा छन्।
‘जारी सिजनमा मैले प्राप्त केही राम्रा अवसरलाई सही सदुपयोग गर्न सकेको छैन। तर आज मैले पाएका अवसरलाई सदुपयोग गर्दै गोल गर्न सफल भएको छु। मेले खेलमा सुधार गरेको छु र फिनिसिङ पनि गर्न सफल भएँ,’ ह्याट्रिक पूरा गरेका डेउलोफ्युले भने, ‘जारी सिजन राम्रै हो। हामीले यस्तै खेल प्रदर्शन गर्दै सम्मानजनक स्थानमा लिगको समापन गर्ने हो। सँगै बलियो टिमका रूपमा प्रमाणित गर्नुपर्ने पनि उत्तिकै जरुरी छ।’
लिगअन्तर्गत शुक्रबारै सम्पन्न अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले पाहुना टोली फुलह्यामलाई ३–१ ले स्तब्ध पार्यो। फुलह्यामले खेलको तेस्रो मिनेटमा नै लिएको अग्रतालाई उल्टाउँदै घरेलु टोली वेस्ट ह्यामले महत्पूर्ण तीन अंक खोस्न सफल भएको थियो। फुलह्यामका लागि रायन बाबेलले गरेको गोल धेरै समय टिक्न सकेन।
२९औं मिनेटमा वेस्ट ह्यामका हाभियर हर्नान्डेज ‘चिचारिटो’ ले गोल गर्दै खेल बराबरी ल्याए। बराबरीपछि आक्रामक देखिएको वेस्ट ह्यामका लागि इसा ड्युपले गोल गर्दै टोलीको अग्रता उल्टाए। पहिलो हाफको अग्रतापछि केही संयमित भएर खेलेको वेस्ट ह्यामले अन्तिम मिनेटमा तेस्रो गोल गर्दै जित सुनिश्चित ग¥यो। मिचेल एन्टोनियोले सुनिश्चित गोल गर्दै टोलीलाई महत्वपूर्ण अंक दिलाए।
घरेलु मैदानको जितपछि वेस्ट ह्यामले तालिकामा २७ खेलबाट ३६अंक बटुल्न सफल भएको थियो। वेस्ट ह्याम तालिकाको नवौं स्थानमा छ । उता पराजित फुलह्याम भने रेलिगेसन क्ष्ोत्रबाट बच्न संघर्षरत छ। समान २७ खेल खेलेको फुलह्यामको १७ अंक छ।
प्रकाशित: ११ फाल्गुन २०७५ १०:०३ शनिबार