७ वैशाख २०८१ शुक्रबार
अर्थ

जीर्ण बन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग

बाँकेको कुसुमस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा परेको खाल्डो। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज - समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ। राजमार्गको कोहलपुर–लमही खण्ड जीर्ण बनेको हो। लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी देखापरेका छन्। यिनै खाल्डोमा परी दिनहुँजसो सडक दुर्घटना हुने गरेको छ। सोही राजमार्ग भएर केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौंको संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन्। गएको बर्खादेखि राजमार्गमा परेका खाल्डा अहिलेसम्म यथावत छन्। 

खाल्डोमा परी विशेष गरी राजमार्गमा गुड्ने साना सवारी साधन दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुका प्रमुख हिरेन्द्र रोकायाले राजमार्गका खाल्डा खुल्डीले दुर्घटना बढिरहेको बताए। ‘विशेष गरी दुईपांग्रे सवारी साधन रातको समयमा दुर्घटनामा पर्ने गरेको पाइएको छ,’ उनले भने, ‘सवारी साधनको बढी चाप हुने राजमार्गमा यस्तो लापरबाही हुनु दुखद कुरा हो।’  समयमा मर्मत नभएका कारण दिनहुँ दुर्घटना हुने गरेको त्यस क्षेत्रका बासिन्दा बताउँछन्। ‘सवारी साधनको अत्यन्तै बढी चाप हुने राजमार्गमा जताततै खाल्डाखुल्डी छन्, तीव्र गतिमा गुडिरहेका सवारी साधन खाल्डोमा परेर दुर्घटनामा पर्छन्,’ राप्तीसोनारी–१ का स्थानीय डिल्ली डाँगीले भने, ‘समयमा सडक मर्मत नभए अझ धेरै दुर्घटना बढ्ने खतरा छ।’ जीर्ण सडक समयमा मर्मत नहुँदा थप क्षति भइरहेको उनले बताए। रातको समयमा खाल्डाखुल्डी नदेखिने हुँदा तीव्र गतिमा गुडेका साना सवारी साधन दुर्घटनामा पर्ने जोखिम रहेको डाँगीले सुनाए। 

जीर्ण अवस्थामा पुगेको राजमार्ग मर्मतका लागि सडक डिभिजन कार्यालय नेपालगन्जले टन्डर आह्वान गरे पनि प्रक्रियामा समस्या आएपछि ढिलाइ भएको जनाएको छ। सडक डिभिजन प्रमुख रामकुमार देवले पूर्वपश्चिम महेन्द्र राजमार्ग मर्मत गर्ने समय आइसके पनि टेन्डर प्रक्रियामा समस्या आउँदा ढिलाइ भएको स्वीकार गरे। ‘नियम अनुसार टेन्डर प्रक्रियामा तीनवटा फर्मले ठेक्का हाल्नुपर्ने हुन्छ, तर तीनवटा फर्मले ठेक्का नहालेपछि रद्द भई पुनः गर्नुपर्ने भएको हुँदा तत्कालै मर्मत गर्न सकिएन,’ उनले भने। कोहलपुरदेखि दाङको सिमानासम्म राजमार्ग मर्मतका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको कार्यालयले जनाएको छ।  राजमार्गका खाल्डाबाट दुर्घटना रोक्न तत्कालका लागि माटो राखेर पुर्ने काम गरिएको प्रमुख देवले बताए। ‘टेन्डर प्रक्रियाको टुंगो लागेर मर्मतको काम गर्न अझै तीनदेखि चार हप्ता लाग्न सक्छ,’ उनले थपे। कार्यालयका अनुसार कोहलपुरदेखि दाङको सिमाना शिवखोलासम्म जीर्ण राजमार्ग मर्मतका लागि मूल्य अभिवृद्धि करसहित २० लाख बजेट खर्च गरिनेछ। ठेकेदारले आगामी वैशाखसम्म मर्मतको काम सम्पन्न गर्ने डिभिजन प्रमुख देवले जानकारी दिए। राजमार्ग मर्मतका लागि बजेट सधैं अपुग हुने गरेको उनको गुनासो छ। ‘नियम अनुसार ५–५ वर्षको अवधिमा आवधिक मर्मत गरिन्छ, तर सवारी साधनको चापले गर्दा आवधिक मर्मत गर्ने आवश्यकता तीन वर्षमै देखियो,’ उनले भने। 

२०७४ को बाढीले क्षति पु¥याएका राजमार्गका अधिकांश पुल अहिले पुनः क्षतिग्रस्त अवस्थामा पुगेका छन्। कार्यालयले गत वर्ष बाँके र बर्दियामा पर्ने राजमार्गका करिब सातवटा पुल मर्मत गरेको थियो। तर, मर्मत गरेको एक वर्षमै पुलको छेउमा खाल्डाखुल्डी परेको स्थानीय बताउँछन्। राजमार्गका खाल्डामा मोटरसाइकल दुर्घटना हुँदा गत वर्ष एक शिक्षकले ज्यान गुमाएका थिए। राप्तीसोनारी गाउँपालिका–१ स्थित गाभर खोला पुलको खाल्डोमा मोटरसाइकल पल्टिँदा दाङ, गढवा निवासी शिक्षक नारायणप्रसाद शर्माको मृत्यु भएको थियो। उक्त ठाउँमा अहिले पनि खाल्डो परेर दुर्घटनाको जोखिम निम्तिएको स्थानीय बासिन्दा बताउँछन्। राजमार्गमा तीव्र गतिमा सवारी साधन गुड्ने हुँदा अनियन्त्रित भएर दुर्घटनामा पर्ने गरेको स्थानीयको भनाइ छ। 

प्रकाशित: १२ फाल्गुन २०७५ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App