१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘म मेरो बालबालिकाले आणविक हतियारको बोझ नबोकुँन् भन्ने चाहन्छु’

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन।

सोल – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्ना बालबालिकाले आणविक हतियारको बोझ लिएर बाँचुन् भनेर नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग बताएका छन्। उत्तर कोरियाको आणविक हतियारका विषयमा छलफलमा संलग्न उच्च अमेरिकी कूटनीतिज्ञ एवं केन्द्रीय अनुसन्धान विभाग (सिआइए)का पूर्व सदस्यलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार नेता किमले विदेशमन्त्री पोम्पेओसँग भावी सन्ततिले आणविक हतियारको बोझ बोक्न नपरोस् भन्ने आफूले चाहेको बताएका हुन्। 

बहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच गत वर्षको जुन महिनामा भएको ऐतिहासिक शिखर बैठकको तयारीका लागि गत अप्रिलमा विदेशमन्त्री पोम्पेओ प्योङयाङ गएका बेला सर्वोच्च नेता किमले यस्तो धारणा राखेको पूर्व सिआइए अधिकारी एन्ड्रयु किमले बताएको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हाप र द वाल स्ट्रिट जर्नलले समाचार लेखेका छन्।  उत्तर कोरियाली सर्वोच्च नेता किमले विरलै यस्तो अभिव्यक्ति आदानप्रदान गर्ने गरेका छन्। ‘म बुवा हुँ र म एक पति पनि हुँ। साथै, मेरा छोराछोरी पनि छन्,’ पोम्पेओलाई उत्तर कोरियाली नेता किमले भनेको विषय एन्ड्रयु किमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। पोम्पेओले किमलाई उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्न इच्छुक हुनुहुन्छ भनेर गरेको प्रश्नमा किमले यस्तो धारणा राखेको पूर्वसिआइए अधिकारी एन्ड्रयुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। 

‘र म मेरो बालबालिकाले उनीहरुको पूरै जिन्दगी आफ्नो काँधमा आणविक हतियार बोकेर हिँड्नु नपरोस् भन्ने चाहन्छु,’ यो नै नेता किमको उत्तर थियो,’ स्टानफोर्ड विश्वविद्यालयको एसिया प्यासिफिक रिसर्च सेन्टरमा शुक्रबार लेक्चर दिँदै एन्ड्रयु किमले बताए। उनी सो विद्यालयका भिजिट्रि विद्वान हुन्। सिआइएबाट अवकाश हुनुभन्दा अघि सन् २०१७ मा एन्ड्रयु किमले कोरिया मिसन सेन्टर नामक एक निकायको स्थापना गरेर पोम्पेओलाई साथ दिएका थिए। पोम्पेओ त्यसबेला सिआइएका निर्देशक थिए। उनै पोम्पेओ गत अप्रिलमा उत्तर कोरिया गएका बेला नेता किमसँग भएको वार्तालापको बारेमा एन्ड्रयु किमले आफ्नो विश्वविद्यालयको कक्षामा बताएका थिए। 

गत वर्षको जुन १२ का दिन एसियाली मुलुक सिंगापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच  शिखर बैठक भएको थियो। सो बैठकका बेला राष्ट्रपति ट्रम्प र नेता किमबीच कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि अमेरिका र उत्तर कोरियाबीच मिलेर काम गर्ने विषयमा सहमति भएको थियो। दुई नेताबीच वासिङ्टन र प्योङयाङबीच सम्बन्ध सुधार गर्ने विषयमा पनि सहमति भएको थियो। दुई नेताबीच कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने बारे सहमति भए पनि त्यस विषयमा काम भने निकै कम मात्रै भएको छ। यद्यपि यही फेब्रुअरी २७ र २८ का दिन दुई नेताबीच भियतनामको हनोईमा दोस्रो शिखर बैठक हुने तयारी तीब्र गतिमा भइरहेको छ। 

आसन्न ट्रम्प–किम बैठकमा कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि उत्तर कोरियाले चाल्नुपर्ने कदमबारे छलफल हुने अनुमान गरिएको छ। यसको बदलामा अमेरिकाले प्योङयाङमाथि लगाउँदै आएको नाकाबन्दी केही खुकुलो पार्न सक्ने अनुमान पनि गरिएको छ। 

प्रकाशित: १२ फाल्गुन २०७५ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App