coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एनसेलका दर्जन टावरमा आगजनी र विस्फोट

प्रदेश ब्युरो
काठमाडौं - अपरिचित समूहले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलका कास्की, गोरखा, बागलुङ, रूपन्देही, कपिलवस्तु, रोल्पा, बाँके, प्युठान, जाजरकोट, कञ्चनपुर र अछामस्थित टावरमा शुक्रबार राति आगो लगाउनुका साथै विस्फोट गराइएको छ। यसैगरी एनसेलको ललितपुरस्थित केन्द्रीय कार्यालय अगाडि पनि विस्फोट गराइएको छ।
गण्डकी ब्यूरासार अपरिचित समूहले शुक्रबार राति एनसेलका विभिन्न ठाउँमा रहेका टावरमा आगो लगाइदिएको छ। पोखरा महानगरपालिका–२७, बडहरे डाँडास्थित एनसेल टावरमा शुक्रबार राति १० बजेतिर अपरिचित समूहले आगो लगाइदिएको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए। उनका अनुसार बडहरेमा एनसेल र युटिएलको टावर एकै ठाउँमा रहे पनि एनसेलको टावरमा मात्र आगो लगाइएको छ। युटिएल पनि निजी क्षेत्रको अर्काे दूरसञ्चार कम्पनी हो। ‘देशका विभिन्न ठाउँमा रहेका एनसेलका कार्यालय र टावरमा अज्ञात समूहले आगजनी र विष्फोट गराएको छ। पोखरामा पनि योजनबद्ध तरिकाले आगो लगाइएको आशंका गरिएको छ,’ उनले भने, ‘विस्फोट र आगजनी एउटै समूहको इसारामा भएको हाम्रो अनुमान छ।’ उनका अनुसार लट्ठीमा बेरेको कपडा मटीतेलले हालेर सल्काएर टावरको टुप्पोमा झाेंसिएको थियो।

टावरका लागि ब्याट्री राखिएको कोठामा पनि तोडफोड गरिएको उनले बताए। ‘टावरमा नियमित विद्युत् आपूर्तिका लागि ‘ब्याकअप’ राखेको कोठाको ढोका पनि फुटाइएको छ। क्षति भने यकिन भएको छैन,’ उनले भने। राति १० बजे टावरमा आगजनी भएपछि प्रहरी घटनास्थल पुगेको थियो। डाँडाकोनाक चौकीबाट झन्डै २० मिनेटमा टावरस्थल पुग्न सकिन्छ। ‘तत्काल प्रहरीले थाहा पाएको र आगो नियन्त्रण गर्न सकिएकाले पनि पूर्ण क्षति हुन पाएन। तर, सञ्चार सम्पर्क हुने अवस्थामा टावर थिएन,’ उनले भने। प्रहरीले घटनामा संलग्नको पहिचानका लागि सुराकी परिचालन गरेको गुरुङले बताए।

आगो लगाइएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित टावर परिसरमा भेटिएको पर्चामा ‘जय जनता’ लेखिएको छ। पर्चामा एनसेलले सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र नाफा आर्जन गरी नेपालमा लगानी नगरेकाले कारबाही गर्नुपरेको उल्लेख छ।

बागलुङका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा पनि आगो लगाइएको छ। बागलुङ नगरपालिका–७ मूलपानी, गल्कोट नगरपालिका–८ काँडेबास र निसीखोला गाउँपालिका–७, राजकुतमा रहेको एनसेलको टावरमा आगो लगाइएको छ। आगोले जलेर एनसेलको सर्भिस प्रोभाइडर बक्स, जेनेरेटरलगायतका सामानमा क्षति पुगको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। एनसेल टावरमा कसले र किन आगो लगायो भन्ने नखुलेकाृ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी चिरञ्जीवी कोइरालाले बताए। ‘अहिलेसम्म कसैले पनि घटनाको जिम्मा लिएको छैन,’ उनले भने, ‘हामीले शूक्ष्म रुपमा अनुसन्धान थालेका छौं। अहिलेसम्म पुष्टि भएको छैन।’ आगोले क्षति भएको काँडेबास टावर मर्मत गरी सञ्चालनमा ल्याइएको छ। निसीखोलाको टावर भने सञ्चालन आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

गोरखामा पनि एनसेलको टावरमा आगो लगाइएको छ। गोरखा नगरपालिका–११, वीरेन्चोक डाँडा र गण्डकी गाउँपालिका–६, चिप्लेटीस्थित टावरमा अज्ञात समूहले आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए। ‘टावरको सोलार पाता जलेको छ, तार डढेका छन्, पावर प्लान्ट, पिटिएस जलेको छ’, नेपालले घटनास्थल पुगेका प्रहरीलाई उद्धृत गर्दै भने। कसले आगो लगाएको भन्ने यकिन नभएको प्रहरीले बताए पनि नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीका कार्याकर्ताले क्षति पु-याएको हुनसक्ने अनुमान छ। आगलागीबाट भएको क्षतिबारे प्राविधिकले जाँच गरेपछि मात्रै थाहा हुने एनसेलले जनाएको छ। पश्चिमेली ब्युरोका अनुसार शुक्रबार राति प्रदेशका ५ अन्तर्गतका ५ जिल्लामा रहेका एनसेल टावरमा अपरिचित समूहले आगो लगाउनुका साथै बम विस्फोट गराएको छ।

रूपन्देही, कपिलवस्तु, रोल्पा, बाँके, र प्युठानमा रहेका एनसेलका टावरमा यसरी क्षति पु¥याइएको हो। यसैगरी रोल्पाको सुनिल स्मृति गाउँपालिकाको रूइनिवाङमा रहेको नेपाल टेलिकमको टावरमा पनि यसरी नै क्षति पु¥याइएको छ सोही गाउँपालिकाको गजुलमा रहेको एनसेल टावरमा विस्फोट गराइएको छ। रोल्पा प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बम विस्फोट गराइएको पुष्टि गरे। ‘पूर्वी रोल्पाको रूइनिवाङ बजार नजिक रहेको नेपाल टेलिकमको टावर र गजुलमा रहेको एनसेल टावरमा विस्फोट भएको हो।’ टेलिकमका टावरलाई एनसेलको ठानी विस्फोट गराइएको हुनसक्ने अनुमान प्रहरीको छ। विस्फोटबाट टावरमा रहेका ब्याट्री, तारलगायत सामग्रीमा क्षति पुगेको छ। रोल्पामा बम विस्फोट गराइए पनि अन्य जिल्लामा रहेका एनसेलका टावरमा मटीतेल छर्केर आगो लगाइएको प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी नरबहादुर खत्रीले बताए। राति करिब ११ बजेको समयमा रूपन्देहीको गैडहवा गाउँपालिका–३, सूर्यपुरामा रहेको एनसेल टावरमा आगो लगाइएको छ। रूपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाका अनुसार एनसेलको कनेक्सन तोडेर तारमा आगलागी गरिएको छ। टावर सुरक्षाको कुनै प्रबन्ध नभएकाले मानवीय क्षति नभएको र ४ लाख रुपैयाँबराबरको क्षति भएको हुन सक्ने प्रहरी अनुमान छ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–११, मैनहवामा रहेको टावरमा पनि आगो लगाएर क्षति पु-याइएको छ। बाँकेको कोहलपुर नगरपालिका–१५, चन्नहवामा र प्युठानको स्वर्गद्वारी नगरपालिका–३, थानडाँडामा रहेको एनसेल टावरमा पनि आगो लगाएर क्षति पु¥याइएको छ। शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

जाजरकोटमा नलगाड नगरपालिका–१, जुरेलीको लेकमा रहेको एनसेलको टावरमा पनि आगो लगाइएको छ। टावरमा आगोले क्षति पुगेपछि सेवा बन्द भएको छ। सुदूरपश्चिमका कञ्चनपुर र अछाममा रहेका एनसेलका दुइटा एनसेलका टावरमा आगो लगाइएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित टावरमा आगो लगाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। घटनास्थलमा ‘जय जनता’ लेखिएको पर्चा पनि फेला परेको उनले बताए। उनका अनुसार पर्चामा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेकाले कारबाही गर्नुपरेको उल्लेख छ।

यसैगरी अछामको ढकारी गाउँपालिका–३ स्थित एनसेल टावरमा आगो लगाएर क्षति पु-याइएकाले सेवा अवरुद्ध भएको प्रहरीले बताएको छ। जिल्लामा रहेका अन्य एनसेल टावरमा पनि आगजनी हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारेको अछामका डिएसपी जनकबहादुर शाहीले बताए। (सन्तोष पोखरेल/पोखरा, संगम घर्तीमगर/बागलुङ, नरहरि सापकोटा/गोरखा, रेखा भुसाल/बुटवल, दिनेश सुवेदी/रोल्पा, जनक केसी/जाजरकोट, दिलबहादुर छत्याल/कैलाली)

प्रकाशित: १२ फाल्गुन २०७५ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App