७ वैशाख २०८१ शुक्रबार
समाज

सिडियो कार्यालयका चालककी पत्नीका नाममा करोडौंको सम्पत्ति

बारा - प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनारायण राउत कुर्मीकी श्रीमती प्रेमशीलादेवी कुर्मीको नाममा करोडौंको जग्गा रहेको खुल्न आएको छ। पुख्र्यौली जग्गाबाट ५ कट्ठा हिस्सा पाएका कुर्मीले आफन्त र श्रीमतीको नाममा यसको २० गुणाभन्दा बढी जग्गा जोडिसकेका छन्।

सविक ब्रह्मपुरी १ हाल कलैया उपमहानगरपालिका १७ निवासी कुर्मीले प्रमुख जिल्ला अधिकारीको गाडी चालक हुनुभन्दा पहिले परिवार पाल्न अरुको घरमा चालकको काम गर्ने गरेका ब्रह्मपुरीका स्थानीयले बताएका छन्। उनकी श्रीमतीको नाममा कलैया, उत्तरझिटकैया र ब्रह्मपुरीमा गरी करोडौं मूल्य पर्ने घडेरी र खेती गर्ने जग्गा फेला परेको छ। साबिक कलैया ६ हाल कलैया उपमहानगरालिका १ मोतीबाघमा कित्ता नं. १२७८ को ४ धुर, कित्ता नं. १२८२ को १ धुर घडेरी फेला परेको छ भने कलैया बजार क्षेत्रबहिर रहेका साबिक ब्रह्मपुरी २ हाल कलैया उपमहानगपालिका १७ ब्रह्मपुरीमा कित्ता नं. १३१ को ३ कट्ठा १० धुर, कित्ता नं. ४८३ को २ कट्ठा , साविक वडा नम्बर ३ मा कित्ता नं. १२२ को ७ कट्ठा १५ धुर, कित्ता नं. १३४ को १२ कट्ठा १० धुर, कित्ता नं. २६४ को ३ कट्ठा, कित्ता नं. १८९ को ५ कट्ठा ५ धुर जग्गा उनकी श्रीमतीका नाममा रहेको छ। त्यसैगरी सविक उत्तरझिटकैया १ हाल कलैया उपमहानगरपालिका १६ झिटकैयामा ८८ कित्ताको १४ कट्ठा १० धुर जग्गा रहेको फेला परेको छ।

विभिन्न स्थान र कित्ताका गरेर उनकी श्रीमतीका नाममा अढाई बिघा क्षेत्रफल जग्गा फेला परेको छ भने कुर्मीले आफन्तका नाममा पनि जग्गा जोडेको स्थानीयले बताएका छन्। प्रेमशीलाको नाममा फेला परेका जग्गा अधिकांश घडेरी रहेको स्थानीयले जनाएका छन्। बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जग्गा र जीवनशैली हेर्दा कुर्मीले पदको दुरुपयोग गरेको देखिएको बताए। कुर्मीको सम्पत्ति छानबिनको विषय भएको र सम्बन्धित निकायले छानबिन गर्नुपर्ने उनले बताए। माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्वपश्चिम राजमार्गको पसाहा पुलनजिक कुर्मीले चलाएको गाडी दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको घटनास्थलमा मृत्यु भएको थियो भने प्रमुख जिल्ला अधिकारी भट्टराईको भने उपचारको क्रममा मृत्यु भएको हो। सवारी दुर्घटनाको छानबिन गर्न भट्टराई र पोखरेल दुवैका परिवारले माग गरेका छन्।

प्रकाशित: १२ फाल्गुन २०७५ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App