पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

शनिबार, ११ फागुन २०७५, २१ : ०७ नागरिक

विवेककुमार ठाकुर 

२४ डिसेम्बर १९९९ का दिन नै नेपालले त्यस्तो कदम उठाउनुपथ्र्यो, किनकी छिमेकी देशको ‘प्यासेन्जर एयरक्राफ्ट’ आफ्नै भूमिबाट अपहरित भएको थियो।

पाकिस्तानको खुफिया संस्था आइएसआईको समर्थन प्राप्त आतंकवादी संगठन जैश ए मोहम्मदले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हाईज्याक गरेको विमानलाई भारतले चर्को मूल्य चुकाउँदै जब अफगानिस्तानको कान्दाहारबाट फिर्ता ल्यायो, तबदेखि छिमेकीको सुरक्षा चासोको घानमा नेपाल कसरी पिसियो, जगजाहेर छ।

यतिखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहाकार रहेका अजित डोभाल (जो त्यतिखेर इन्टिलिजेन्स ब्यूरो (आईबी) का प्रमुख थिए)ले नेपालबाट भएको विमान अपहरणमा पाकिस्तानी संलग्नताबारे स्पष्ट तथ्यगत धारणा राखेका थिए। तालिवानी लडाकुले पाकिस्तानी खुफिया आईएसआईको सहयोग पाउँदैनथे भने भारतले संकटको तत्काल समाधान गर्न सक्थ्यो भन्ने डोभालको भनाईमा धेरै हदसम्म सत्यता पाउन सकिन्छ। 

त्यसयता समयक्रममा पाकिस्तानी नागरिक नेपालमा अपराध कर्ममा संलग्न रहेको विभिन्न घटनाले देखाएको छ। नक्कली मुद्राको कारोबार, अपहरण, मानव तस्करी, नेपाली भूमिको प्रयोग गरि भारत विरोधी गतिविधी, लागुऔषध ओसारपसार जस्ता कुकर्मबाट पाकिस्तानी नागरिकले नेपाल र नेपालीलाई दुःख दिइरहेका छन्। मुस्लिम बाहुल्य बस्तीमा इस्लामिक कट्टरता फैलाउनेदेखि मस्जिद र मदरसा विस्तारमा पाकिस्तानीको संलग्नता निकै अस्वाभाविक छ। 

सन् २०१५ मा गएको भूकम्पका बेला गाईगोरुको मासुबाट बनेका परिकार वा मसाला पठाएर पाकिस्तानले हिन्दू बाहुल्य नेपालीको भावनामा निकै ठेस पु-यायो। मुस्लिमले जसरी सुंगुर खाँदैनन, हिन्दूहरुले पनि गाईगोरुका मांसजन्य कुनैपनि पदार्थ खाँदैनन भन्ने जान्दाजान्दै पाकिस्तानले सहायतामा मिसाएको ‘विफ’ नेपालीको पीडामाथि गरिएको भद्दा मजाक थियो, जो कुटनीतिक सहायताभन्दा पनि धार्मिक अहंकारले ग्रस्त थियो भन्ने सजिलै बुझिन्छ।

दक्षिण एसिया : अनेक आकार 

उत्तरमा चीन, पूर्वमा बर्मा, दक्षिणमा हिन्द महासागर र पश्चिममा इरानलाई छुने दक्षिण एसिया सुरक्षाका हिसाबले चुनौतीपूर्ण भू–राजनीतिक क्षेत्र हो। प्रायः बाह्य सीमा प्रस्ट रहे पनि आन्तरिक सीमालाई लिएर व्यापक विवाद र तनाव हुने क्षेत्र पनि दक्षिण एसिया नै हो। 

अधिकांश आन्तरिक राजनीतिक सीमा परम्परागत र स्वतन्त्रतापूर्वको सीमामा आधारित रहेको एवं बेलायतको उपनिवेश अन्त्य भएसँगै भारत र पाकिस्तानको सीमा हिन्दू–मुस्लिम बहुमतको मोटामोटी आधारमै छुट्याइएको छ। तर सीमामा विवादहरु कायम छन्। फलतः दक्षिण एसिया विश्वकै बढी सैनिकीकरण भएको क्षेत्रका रुपमा चिनिएको छ। 

यही विवाद पाकिस्तानका लागि चरमपन्थी आतंकवादी संगठनहरु पैदा गर्ने र क्षेत्रीय अस्थिरता कायम गर्ने औजार बनेको छ। विश्वकै आतंकवादी संगठनका प्रमुख पाकिस्तानी भूमीमै मारिन्छन्। अफगानिस्तानको अस्थिरतामा दोहोरो भूमिका पाकिस्तान नै खेल्छ र विश्वभर धर्मका नाममा आतंकवाद पाकिस्तानले नै फैलाउँछ। यो तथ्य पाकिस्तानप्रति अरुची भएर लेखिँदैछैन, पाकिस्तानी हुकुमतले विश्व शान्तिको हुर्मत काढिरहँदा त्यसको यथार्थता सतहमा ल्याउन अतिआवश्यक भइसकेको छ। 

समान र साझा ऐतिहासिक अनुभव, सभ्यताको समान ढाँचा, समान आर्थिक चुनौती, अतिनिर्धन क्षेत्र तथा जटिल सामाजिक एकता दक्षिण एसियाका विशेषताहरु हुन्। यी मध्ये जटिल सामाजिक एकतामा तारान्तार भाँचो हाल्ने दुस्साहस पाकिस्तानले नै आभास पछिल्ला घटनाहरुले गराउँछ।

निकै लामो संक्रमणबाट बल्लतल्ल निस्केको नेपाललाई यतिखेर विश्वको विकास भेट्न समय यात्रा (टाइम ट्राभल) झैं जादुयी गतीमा हिँड्नु पर्नेछ। तर, पाकिस्तानले यस क्षेत्रमा उब्जाइरहेको आतंकवादी बाछिटाले निर्धारित बाटो हिलाम्य बनाउने र नेपाललाई बारम्बार दुःख दिने निश्चितप्रायः नै छ।

सार्क : पाकिस्तानले लाज ढाक्ने टालो ? 

दक्षिण एसियाली व्यवस्थाका प्रमुख २ सदस्य निश्चय नै भारत र पाकिस्तान हुन्। जे–जसरी व्याख्या गरे पनि  दक्षिण एसियाली व्यवस्था शक्ति र प्रभावले ग्रस्त छ। न कि क्षेत्रीय एकता र समता। सन् १९८५ डिसेम्बर ८ मा सार्क चार्टरका लागि हस्ताक्षर हुँदै गर्दा पनि भारत र पाकिस्तानले औंला भाँचेरै शक्ति आर्जनको हिसाब–किताब गरेकै हुन्। 

तर, पाकिस्तानको हिसाब कमजोर भयो। बारम्बारको सत्तापलट, लोकतन्त्रको अपहरण, आर्थिक विकास र स्थायित्वमा कमजोर प्रदर्शन तथा शक्ति राष्ट्रहरुको लाहाछाप बनिरहन मञ्जुर भएका कारण पाकिस्तानमाथि क्षेत्रीय संगठनका राष्ट्रहरुले उतिबिघ्न भरोसा गर्नै सकेनन्। बरु, जति नै तनाव भए पनि भारतप्रति नै क्षेत्रीय संगठनका मुलुकको भरोसा रह्यो। 

आफैंले सिर्जना गरेको आतंकवादको भारी बोकेर अहिलेसम्म पाकिस्तान काश्मिरका लाइन अफ कन्ट्रोलतिर बारुदी धराप बिछ्याउन ब्यस्त छ, भारत प्रशासित काश्मिरमा कायर र आतंकवादी हमला गराई विश्वसामु आफ्नो खराब अनुहार देखाइरहेको छ। यस्तो अवस्थामा पाकिस्तानलाई कसरी क्षेत्रीय संगठनको प्रमुख राष्ट्र मान्ने? सार्क स्थापनाको ३४ बर्षसम्म पाकिस्तानले क्षेत्रीय शान्ति र अमन चयनका लागि आफूलाई साधन होइन, बाधकका रुपमा मात्र प्रस्तुत गरिरहेको छ। 

नेपालले यतिखेर सार्कको अध्यक्षता गरिरहेको छ। अंग्रेजी अक्षरको वर्णनाक्रमअनुसार सार्कको अध्यक्षता हस्तान्तरण गर्नुपर्छ। यस हिसाबले यतिखेर पाकिस्तानले यो क्षेत्रीय संगठनको अध्यक्षता गर्नुपर्ने हो। तर, आफ्नै छिमेकी देश भारतका विरुद्ध तारान्तार आतंक फैलाई रहने इस्लामावादले अहिलेसम्म नेपाललाई नै सार्क अध्यक्षताको भारी बोकाई रहेको छ। 
भारतका समकक्षीको विश्वास जित्दै आफ्नो भूमीमा सार्क सम्मेलन गर्ने तथा अध्यक्षता ग्रहण गरी क्षेत्रीय सहयोग संगठनलाई गति दिनेतर्फ पाकिस्तान वेपर्वाह बनेको छ। चरमपन्थी संगठन खडा गरी भारत प्रशासित क्षेत्रमा पठाउनु र आतंकवादी हमला गराई बेकारको क्षोभ पुरा गर्नतर्फ पाकिस्तान उद्यत छ। 

क्षेत्रीय संगठनभित्रै दोहोरो चरित्र देखाइरहेको पाकिस्तानलाई अब सार्कले कतिञ्जेलसम्म थेगिरहने? वा सार्वभौम सदस्य राष्ट्रले कतिन्जेल आतंकवादको सृष्टिकर्तालाई बोकेर अघि बढिरहने? सार्कलाई निरन्तरता दिने हो भने सदस्य राष्ट्रहरुले तत्काल पाकिस्तानको सदस्यता र भू,िमकाबारे छिनोफानो गर्नुपर्छ। 

पाकिस्तानविना सार्क अघि बढ्दैन वा भारत नभए दक्षिण एसिया आक्रान्त हुन्छ भन्नु नै दिवास्वप्न हो। क्षेत्रीय संगठनको महत्व त नेपाल, भुटान, श्रीलंका, बंगलादेश र माल्दिभ्सजस्ता साना राष्ट्रलाई अधिकतर हुने हो। भारतसँगको पाकिस्तानी अहंकारले सार्कलाई नै छायाँमा पार्ने तथा आफ्नो देशमा समेत पाकिस्तानले आतंकवादलाई मलजल गरेपछि सार्कको सबैभन्दा कान्छो सदस्य अफगानिस्तान अहिले यो फोरम नै छाड्ने मनस्थितिमा पुगेको छ। स्थापनाको २२ बर्षपछि अर्थात सन् २००७ मा मात्रै अफगानिस्तानले सार्कको सदस्यता लिएको थियो। 

आतंकवादमा निर्भर पाकिस्तानी विदेश नीति?

काठमाडौंको महाराजगञ्ज चोकनजिक, चक्रपथको सडकसँगै जोडिएको भित्तामा एउटा सानो घर छ। त्यो घर पाकिस्तानले भाडामा लिएको छ दूतावास चलाउन। साधारणजस्तो देखिने त्यो घरमा जे हुन्छः त्यो अचम्मलाग्दो छ। 

यो भन्दा अघि पाकिस्तानी भूमीमा अहिले झण्डै ४ दर्जन आतंकवादी सशस्त्र संगठनहरुले आश्रय लिइरहेको तथ्यांकले देखाउँछ। सन् २००१ मै विश्वको प्रमुख आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनपछिका नेता यमिन अल जवाहिरीले पाकिस्तानको मेगासिटी कराँचीमा अलकायदाको अखडा नै खोलेका थिए। अलकायदाकै प्रमुख नेता लादेनलाई त अमेरिकी सैनिकको नेभी टिमले सन् २०११ को मे २ तारिखको मध्यरातमा सैनिक कारबाही गरी पाकिस्तानकै अबोट्टावादमा मारिदिएको थियो। लादेनलाई जुन घरमा अमेरिकी सैनिकले मारेको थियो, त्यो पाकिस्तानी सैनिक एकेडेमीनजिकै थियो। 

अफगानिस्तानमा शान्ति स्थापना गर्ने नाममा अमेरिकासँग हतियार र आर्थिक संशाधनको सौदा गरिरहने र अर्कातर्फ अफगानिस्तानलाई अस्थिर बनाई राख्न आतंकवादी संगठन खोलिराख्ने काम पनि पाकिस्तानले गरिरहेको छ। अफगान तालिवान, हाजिब इस्लामी र हक्कानी नेटवर्कजस्ता चरमपन्थी संगठन फैलाउने काम पाकिस्तानकै भएकोे आरोप अमेरिकाले समेत लगाउँदै आएको छ। 

सार्कलाई बिथोल्न चाहीँ पाकिस्तानले जैश–ए–मोहम्मद र हर्कत–उल–मुजाहिद्दिन जस्ता आतंकवादी संगठनलाई आफ्नो भूमीमा खुलेआम गतिविधी गर्न दिइरहेको छ। यी संगठनको उद्देश्य भारत प्रशासित काश्मिरलाई अलग गराउने र पाकिस्तानमा गाभ्ने नै हो। जम्मु काश्मिर क्षेत्रमा जैश सबैभन्दा खतरनाक आतंकवादी संगठन हो, जसले पाकिस्तानी खुफिया संस्था आइएसआइको सहयोगमा भारतमाथि आतंकवादी हमला गरिरहेको कुरा विभिन्न घटनाक्रम र प्रमाणले देखाइसकेको छ। 

अब फेरि लागौं नेपालस्थित पाकिस्तानी दूतावासतर्फ। महाराजगञ्जको त्यो सानो घरमा पाकिस्तानी दूतावासले कहिलेकाहीँ पत्रकारहरुलाई बोलाउने गर्छ। जसै दूतावासको कम्पाउन्डबाट भित्र छिरिन्छ, तब काश्मिरमा अलगाववादी आन्दोलन सञ्चालन गर्ने संगठनले छापेका पर्चा र पुस्तकहरु यत्रतत्र सजाएर राखिएको हुन्छ, ता कि पत्रकारहरुले लैजाउन र भारतविरोधी सामग्रीका रुपमा प्रकाशित गरुन्। यसले के देखाउँछ भने पाकिस्तान जानजान भारत प्रशासित काश्मिरमा युद्धको स्थिती कायम राख्न चाहन्छ र युद्धको रापमा स्वार्थको रोटी सेकाउन उद्दत छ। 

पाकिस्तानी बारुदलाई भिजाई रहेको नेपाली रगत

जगजाहेर छ, भारतीय सेनामा नेपाली युवा कार्यरत छन्। अरु देशको सैन्य सेवामा आफ्ना नागरिकलाई खुलेआम प्रवेश दिने नेपाली शासकवर्गको बेइमानीमाथि प्रश्न गर्ने ठाउँ त छँदैछ, सँगै रोजगारी र जीविकोपार्जनको सवाल पनि भारतीय सेनासँग जोडिएको छ। नेपालको जनजाति समुदायमा त लाहुरे संस्कृति नै विकसित भइसकेको छ, जहाँ बेलायती, भारतीय वा सिंगापुरका सुरक्षा अंगमा जागिर खानु प्रतिष्ठाको विषय हो। 

जबजब जम्मु काश्मिरमा पाकिस्तानसँग विवाद बढ्छ, भारतको पहिलो रोजाई गोर्खा सैनिक नै हुन्छन्, जो विश्वभर सामरिक बहादुरीका लागि प्रख्यात छन्। तर, लडाइँको मैदानमा छुटेको गोली वा थापिएको आतंकी धरापले बहादुर या काँतर चिन्दैन, बरु ज्यान नै लिन्छ। अहिलेसम्म भारत र पाकिस्तानबीचको युद्धमा हजारौं नेपाली युवाले ज्यान गुमाइसकेका छन्। जसको रगतले अधिकतर पाकिस्तानी गोली र बारुद भिजाई रहेको छ। अर्थात, पाकिस्तानले आतंकवाद हुर्काउँदा नेपालले सबैतिरबाट बाक्लै बाछिटा भोगिरहेको छ। जसलाई अन्त्य गर्ने एकमात्र उपाय पाकिस्तानमाथि आतंकवाद नियन्त्रण गर्न ब्यापक दबाब दिने र दिइरहने हो। 

पुलवामा हमला : ‘जनाव’को छटपटि

सन् १९९९ मा नेपाली भूमीलाई क्षेत्रीय विवादको घेरामा तान्ने उही पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारत प्रशासित दक्षिण काश्मिरमा आततायी र कायर आतंकवादी हमला ग¥यो। भारतीय केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीए) का ४२ जवानको हत्या गर्दै यो चरमपन्थी संगठनले विश्वमा फेरि आफ्नो खुनी चेहरा देखायो, जसभित्र सरासर पाकिस्तानी सरकार, सेना र गुप्तचर संगठन आईएसआई लुकेका थिए। 

१४ फेब्रुअरी २०१९ को यो घटनाले पाकिस्तान थप नाङ्गिएको छ। पाकिस्तान प्रायोजित आतंकवादको विरोधमा अहिले विश्व समुदाय भारतसँग उभिएको छ। प्रायोजित आतंकवाद छिप्न नसक्ने र स्वयं भूमरीमा फस्ने देखिएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान संकटपूर्ण अवस्थामा पुगेका छन्।  

जैशले पाकिस्तानी भूमीमा खुलेआम आतंकवादी शिविरहरु खडा गरेको विश्वभरकै गुप्तचर संस्थाहरु बताउँछन्। भारतले पुलवामा हमलामा पाकिस्तान संलग्न भएको बताएपछि त्यसको जवाफ पाकिस्तानी विदेश मन्त्रालयले दिनुपर्ने हो। तर प्रधानमन्त्री इमरान खान आफैं अघि सरेर भारतीय आरोपमाथि खण्डन गरेका छन्, यसले यो देखाउँछ कि पाकिस्तान सरकार आतंकवाद लुकाउने चर्को कोसिस गरिरहेको छ। 

यस्तो अवस्थामा आर्थिक, सांस्कृतिक, भाषिक, राजनीतिक र सामाजिक सम्बन्ध जोडिएको भारतको पीडामा नेपालले मौन बसेर तमासा हेर्नुभन्दा सार्कबाट आतंकवाद अन्त्य गर्न पाकिस्तानलाई दबाब दिनु नै उपयुक्त हुन्छ। नेपाल सार्कमा आतंकवाद अन्त्यका लागि भारतलगायत विश्व समुदायसँग उभिनुपर्छ। 

नागरिकले राष्ट्रप्रेम र नीति निर्माताले सन्तुलित कुटनीतिमा जति ध्यान दिनुपर्छ, मुलुकको भू–राजनीतिक अवस्थितीका आधारमा छिमेकीसँगको सम्बन्धबारे त्यति नै संवेदनशील हुनुपर्छ। उरालिएका चर्का राष्ट्रवादी जार्गनमा फसिरहेको नेपालले दक्षिण एसियामा फैलिरहेको आतंकवादलाई बेलैमा चिरफार गर्नतर्फ नलागे यसको बाछिटामात्र होइन, भेलले नै हामीलाई दुःख दिन सक्छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad