६ वैशाख २०८१ बिहीबार
खेल

तिलोत्तमा गोल्डकपकाे उपाधिका लागि पुलिस र दाउफिन्स भिड्ने

रुपन्देही - नेपाल पुलिस क्लबले तिलोत्तमा गोल्डकप फुटबलको उपाधि भिडन्तमा दाउफिन्ससँगको भेट पक्का गरेको छ। शनिबार भएको सेमिफाइनल खेलमा च्यासल यूथ क्लबलाई ३-१ ले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो।

पुलिसको जितमा विक्रम धिमालको महत्वपूर्ण योगदान रह्यो। उनले पुलिसका लागि दुई गोल गरे। शनिबार बुटवलको देविनगरस्थित एन्फा एकेडेमी खेल मैदानमा भएको खेलमा च्यासल यूथ क्लबलाई पराजित गर्न विक्रमले खेलको १५ औं र ५७ औं मिनेटमा गोल गरे। यस्तै ८० औं मिनेटमा रवि पासवानले गोल गरे। पराजित टोलीका लागि एक मात्रै सान्त्वना गोल इन्जुरी समयमा सन्त बहादुर पुनले गरे।

लिग च्याम्पियन मनाङ मर्स्याङ्दीलाई हराएर सेमिफाइनलमा पुसिलसँगको भिडन्त पक्का गरेको च्यासलको उपाधि चुम्ने सपना भने पराजयसँगै अधुरै बन्न पुगेको छ। पहिलो पटक बुटवल मैदान भित्रिएको च्यासलले अनुभवी टिम पुलिससँग राम्रो खेल्न नसकेको स्वीकार गरेको छ। च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले खेलाडीहरुले निरन्तर अभ्यास गर्न नपाएकाले अनुभवी पुलिससँगको प्रतिस्पर्धा कमजोर बनेको बताए।

पुलिसलले भने च्यासलको खेलका आधारमा रणनीति बनाएर जित निकाल्न सफल भएको बताएको छ। पुलिसका प्रशिक्षक अनन्तराज शर्माले आक्रमक रुपमा खेल्ने तयारी अनुसार खेलाडीले खेल्दा जित सम्भव भएको बताए। उनले अब फाइनलमा दाउफिन्ससँग पनि आक्रमक रुपमा उत्रने बताए। दाउफिन्सले पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही ११ लाई पराजित गर्दै फाइनल प्रवेश गरेकाे थियो। फाइनल खेल सोमबार दिउँसो २ बजे हुनेछ।

प्रकाशित: ११ फाल्गुन २०७५ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App