coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कृष्णदास श्रेष्ठ :  मार्क्सवादका नेपाली व्याख्याता

काठमाडौं - नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताका नेता कृष्णदास श्रेष्ठको निधनले सिद्धान्त विकास, प्रवर्द्धन र प्रचारमा गम्भिर क्षति पुर्याएको कम्युनिष्ट आन्दोलनका नेताहरूले बताएका छन्। श्रेष्ठको ८७ वर्षको उमेरमा काठमाडौं शंखमुलस्थित निवासमा शनिवार दिउँसो निधन भएको हो।

नेपाली कम्युनिष्ट आन्दोलनमा श्रेष्ठको योगदानबारे कम्युनिष्ट नेताहरूको यस्तो टिप्पणी छः

 मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल)

कृष्णदास श्रेष्ठसँग मेरो सहकार्य २०१७ सालमा भएको दरभंगा प्लेनमबाट भएको हो। त्यतिबेला तत्कालीन पार्टी महासचिव केशरजंग रायमाझीले लिएको राजा महेन्द्रलाई समर्थन गर्ने नीतिविरूद्ध हामीले कडा संघर्ष गरेका थियौं। त्यो संघर्षमा श्रेष्ठ र म एकै ठाउँमा थियौं। हामी दुवै संविधान सभाको पक्षमा उभिएका थियौं।

लामो समय जेलमा परेपछि उहाँसँग मेरो सम्पर्क कम भएको थियो। त्यतिबेला उहाँले काठमाडौंमा संगठन गरिरहनुभएको थियो। जेलबाट छुटेपछि उहाँसँग पुनः सम्पर्क-सम्बन्ध भयो। फरक फरक पार्टीमा बसेर काम गरे पनि हामीबीच मित्रतापूर्ण सम्बन्ध थियो। एक महिना अघिमात्र उहाँसँग मेरो भेट भएको थियो।

नेपाली कम्युनिष्ट आन्दोलनको सैद्धान्तिक क्षेत्रमा उहाँको ठूलो योगदान छ। उहाँले मार्क्सवादी सिद्धान्तको नेपाली अनुवाद र व्याख्यामा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ।सरल स्वभाव उहाँको विशेषता हो। पद र पैसाको निम्ति उहाँ कहिल्यै पनि सिद्धान्तबाट विचलित हुनुभएन।

सिपी मैनाली, महासचिव, नेकपा (माले)

कृष्णदास श्रेष्ठको निधन नेपाली कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति हो। उहाँ मार्क्सवादी सिद्धान्तका शास्त्रीय रचनाहरूको अनुवादक र व्याख्याता हुनुहुन्थ्यो।

मार्क्सवादी दर्शनलाई नेपालको वस्तुगत स्थिति अनुसार मिलाउन उहाँले ठूलो प्रयास गर्नुभएको छ। खासगरी नेपाली समाजको चरित्र निरूपण गर्ने सम्बन्धमा र क्रान्तिको सिद्धान्त निर्माण गर्ने सम्बन्धमा उहाँका योगदान उल्लेख्य छन्।

संगठन बिस्तार गर्न नसके पनि उहाँ कहिल्यै ठूलो पार्टीको पछि लाग्नुभएन। पछिल्लो पटक माओवादी पार्टीमा सहभागी भएता पनि माओवादी सशस्त्र संघर्षप्रति उहाँको सैद्धान्तिक विमति थियो। ठोस विचार र टिप्पणी प्रस्तुत गर्नसक्ने उहाँ योग्यता अनुशरणीय छ।

 श्याम श्रेष्ठ, वाम बुद्धिजीवी

श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनको पुरानो र इमान्दार नेता हुनुहुन्थ्यो। उहाँले अनुवाद र मौलिक रचना गर्नुभएका ५० भन्दा बढी रचना प्रकाशित छन्। मार्क्सवादी रचनालाई नेपाली भाषामा अनुवाद त गर्नु नै भयो सँगसँगै त्यसलाई नेपाली परिस्थिति अनुसार व्याख्या पनि गर्नुभयो। उहाँको यो योगदान सदा स्मरणीय रहनेछ।

 डा. जगदीशचन्द्र भण्डारी, वाम बुद्धिजीवी

कृष्णदास नेपालको वाम तथा कम्युनिष्ट आन्दोलनका महत्त्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो। उहाँ मार्क्सवादी दर्शनका नेपाली व्याख्याता र चिन्तक हुनुहुन्थ्यो। मार्क्सवादी साहित्यका रचयिताको रूपमा उहाँको योगदान सदा स्मरणीय रहनेछ। मार्क्सवादी दर्शनलाई जनताले बुझ्ने भाषामा उहाँले व्याख्या र प्रचार गर्नुभयो।

राजनीतिमा इमान्दार चरित्र उहाँको मुख्य विशेषता हो। उहाँ कहिल्यै सम्झौतापरस्त हुनुभएन। पछिल्लोपटक नेपाली कम्युनिष्ट आन्दोलनमा आएको ठूलो आँधीहुरीमा पनि उहाँ अलमलिनुभएन।

मार्क्सवादप्रति अविचलन निष्ठा, सर्वहारा वर्गको मुक्तिप्रति प्रतिबद्धता र वर्गसंघर्षप्रति अविचलित निष्ठा उहाँको गुण हो।

 श्रेष्ठको राजनीतिक जीवन

राणाकालमा टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद्बाट राजनीतिक यात्रा शुरू गरेका श्रेष्ठ  २००९ सालदेखि नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भएका हुन्। २०३६ सालमा उनले आफ्नो नेतृत्वमा नेपाल मार्क्सवादी लेनिनवादी पार्टी स्थापना गरेका थिए।

२०४६ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन नामक वामपन्थीहरूको मोर्चाको निर्माणमा उनको महत्त्वपूर्ण योगदान थियो। सोही मोर्चाले २०४६ साल चैत २४ गते आयोजना गरेको देशव्यापी आम हड्ताललाई पञ्चायत विरोधी आन्दोलनको महत्तवपूर्ण दिनको रूपमा लिइन्। सोही आम हड्तालको स्मरणमा त्यो दिनलाई जनआन्दोलन दिवसको रूपमा मनाउने गरिन्छ।

२०४७ सालमा श्रेष्ठकै सक्रियतामा नेकपा (मालेमा) गठन भएको थियो। ०४८ सालमा उनको सक्रियतामा संयुक्त वाममोर्चा गठन भयो। त्यसको संयोजक डा. बाबुराम भट्टराई बनाइएका थिए। भट्टराई पछि माओवादी आन्दोलनमा सहभागी भए पनि वाममोर्चा भने कायम नै रह्यो।

२०६४ सालमा श्रेष्ठको पार्टी नेकपा (मालेमा) र तत्कालीन नेकपा (माओवादी) बीच एकीकरण भयो। माओवादीमा भएको विभाजनपछि श्रेष्ठ मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीको केन्द्रीय सल्लाहकार थिए।

प्रगतिवादी साहित्यको अनुवादमा श्रेष्ठको महत्वपूर्ण योगदान रहेको छ। उनले रुसी चिनियाँ प्रगतिवादी साहित्यलाई अनुवाद गरेका छन्।  

 

प्रकाशित: ११ फाल्गुन २०७५ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App