coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सन्नीकाे उत्कृष्ट ब्याटिङमा डीपीएलकाे उपाधि अत्तरीयालाई

काठमाडाैं - तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि सिवाइसी अत्तरीयाले जितेको छ। फाप्ला क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरीयाले पहिलो पटक डीपीएलको उपाधि आफ्नो पोल्टामा पारेको हो।

अत्तरीयाको जितमा सन्नी पटेल नायक बने। उनले १९ दशमलव ५ ओभरमा सानदार छक्का प्रहार गर्दै आफ्नो टोलीलाई जित दिलाए। उनले २६ बलमा अविजित ४७ रन जोडे। उनले बलिङमा समेत एक विकेट लिएका थिए। ४ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिएका हुन्। यस्तै जयकिशन कोल्सावालाले ३० रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे महेन्द्रनगरले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २३ रन जाेडेकाे थियाे। महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रनको याेगदान दिए। ४१ बलको सामना गरेका नाथले ५ चौंका र १ छक्का प्रहार गरे। कुशल मल्लले २२ बलमा १ चौंका र २ छक्काको सहायतामा २५ रनको योगदान दिए। त्यस्तै रोहितकुमार पौडेलले २० बलमा १ चौंका र १ छक्काको मद्दतमा २४, आरिफ शेखले १७ बलमा ११ र मोहम्मद नभिदले ५ बलमा १० रन जोडे।

अत्तरीयाका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र दिपेन्द्र रावतले समान २/२ विकेट लिए। ऐरीले ४ ओभरमा २४ रन खर्चिदा रावतले २ ओभरमा ११ रन दिए। त्यस्तै सन्नी पटेलले १ विकेट हात पारे। समुह चरणको खेलमा अत्तरीया महेन्द्रनगरसँग ७ विकेटले पराजित भएको थियाे। 

तेस्रो संस्करणको विजेता अत्तरीयाले ट्रफीसहित ३० लाख नगद  प्राप्त गरेकाे छ। यस्तै उपविजेता महेन्द्रनगरले १२ लाख प्राप्त गरेकाे छ।

प्रकाशित: ११ फाल्गुन २०७५ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App