coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा लाप्राक एकीकृत बस्तीको शिलान्यास

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गरेका छन्।  

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट लाप्राक पुगेका प्रधानमन्त्रीले नमूना बस्ती शिलान्यास कार्यक्रममा यो एकीकृत बस्ती मात्रै नभइ नमूना बस्ती हुने बताए। 'यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ',  उनले भने, 'यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ।' 'शेष घले लगायत एनआरएनका साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ। अनआरएनको ६०० घर बनाउने चाहनाको सरकार सम्मान गर्छ। ४४४ घर यहाँ बन्नेछन्। बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्नुछ, त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नेछ, उनको भनाई थियो।

एनआरएनले खतरा र जोखिम मोलेर काम गर्न सक्ने भन्दै दाहालले प्रशंसा गरे। एनआरएनका साथीहरुभित्र देखिएको राष्ट्रिय भावना हामी सबैका लागि प्रेरणादायी भएको प्रधानमन्त्रीले बताए।

कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव सोमलाल सुवेदीले एकीकृत बस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको बताउँदै आउने समस्यामा सरकार साझेदारी गर्न तयार रहेको बताए। कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गरे।  

लाप्राकको एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामाग्रीको प्रयोगद्धारा निर्माण गरिने एनआएनका अध्यक्ष शेष घलेले जानकारी दिए। नमूना बस्तीमा संघले ४४४ घर आधुनिक घर निर्माण गर्नेछ। एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ।

एकीकृत बस्तीमा निर्माण हुने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन्।

 

प्रकाशित: २१ आश्विन २०७३ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App