७ वैशाख २०८१ शुक्रबार
खेल

‘पिङ्काथन हाफ म्याराथन’को उपाधि कान्छीमाया कोजुको पोल्टामा

काठमाडौं – तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) की कान्छीमाया कोजुले जितेकी छिन्। शनिबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी १ घण्टा २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।

उपाधिसँगै कान्छीमायाले ५१ हजार प्राप्त गरिन्। यसअघिका दुबै संस्करण समेत कान्छीमायाले नै जितेकी थिइन्। योसँगै कान्छीमायाले प्रतियोगिताको तीनै संस्करणको उपाधि जित्न सफल भएकी छिन्।

त्यसैगरी नेपाल प्रहरीकी राजपुरा पछाईंले निर्धारित दुरी १ घण्टा २४ मिनेट ३३ सेकेण्डरमा पूरा गर्दै दोस्रो भइन्। त्यसैगरी सशस्त्र प्रहरीकै पुष्पा भण्डारी तेस्रो भइन्। पुष्पाले निर्धारित दुरी १ घण्टा २७ मिनेट ३० सेकेण्डमा पुरेकी थिइन्। दोस्रो भएकी राजपुराले ३१ र तेस्रो भएकी पुष्पाले २१ हजार प्राप्त गरे।

यसैगरी १० किलोमिटरतर्फ एपिएफकी सन्तोषी श्रेष्ठ प्रथम, चन्द्रा राउत दोस्रो तथा सरस्वती कठायत तेस्रो भए। यो स्पर्धाका विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रो हुनेले ११ हजार प्राप्त गरे।
विजेता खेलाडीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे।

भारतीय अभिनेता मिलिन्द सोमनले शुरु गरेको पिङ्काथन भारतमा निकै लोकप्रिय छ। भारतका विभिन्न शहरमा आयोजना हुँदै आएको प्रतियोगिता नेपालमा सन् २०१७ देखि शुरु भएको हो। यो प्रतियोगिता सन् २०१७ देखि लेजर पोर्ट नेपालले यो इभेन्ट नेपालमा गर्दै आएको छ। आजको प्रतियोगितामा करिब २ हजार ५०० महिला सहभागी भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिए।

महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिङ्काथन अभियान शुरु गरेका हुन्।

प्रकाशित: ११ फाल्गुन २०७५ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App