धरान- वडा दशैंको अवसर परेर पर्यटकीयस्थल भेडेटारमा दुई दिने दोस्रो चंगाचेट उत्सव शुरु भएको छ।
भेडेटार होटल एशोसिएशनको आयोजनामा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले शुक्रबारदेखि प्रतियोगितात्मक चंगा चेट उत्सव शुरु भएको हो। उत्सवको धनकुटा प्रजिअ प्रेमप्रकाश उप्रेती, पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरे र पर्यटन सद्भावना दूत कृतिका गिरीलगायतले चंगा उडाएर उत्सवको उद्घाटन गरेका थिए। राजधानीबाहिर उत्सवकोरुपमा मनाउन शुरु गरिएको चंगा चेट उत्सवमा रमाउन शुक्रबार भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरु ठूलो संख्यामा पुगेका थिए।
उत्सव उद्घाटन अवसरमा बिहान धरानबाट युवाहरुको टोली साइक्लिङ गर्दै भेडेटार पुगेका थिए। साइक्लिङको संयोजन राइडर्स एण्ड एमटिबि जोनले गरेको थियो । धरानबाट ५० भन्दा बढी युवाहरु साइकल चलाउँदै भेडेटार गएका थिए । चंगा चेट कार्यक्रमसँगै गायन र नृत्यको प्रस्तुतीले पर्यटकहरुलाई थप मनोरञ्जन दिलाएको थियो । चंगा चेटको विजेतालाई सिक्किम, पोखरा र भेडेटार टुर प्याकेजसहित वाइन दशैं उपहार दिइने होटल एसोसिएसनका अध्यक्ष लिलाराज लावतीले बताए।
उत्सवमा पुर्वेली मगर जातिको मौलिक नृत्य हुर्रासँगै गरिमा डान्स सेन्टरका कालाकारहरुको नृत्य प्रस्तुती थियो । यस्तै, गायक नवराम राई र गंगा वरदानले गीत गाएका थिए । पहिलो चंगा चेट उत्सवले नै पर्यटकहरुको मन जितेकोले दोस्रो सँस्करण पनि आयोजना गरिएको एसोसिएसनका सचिव जीतेन्द्र रुम्दाली राईले बताए । उनले भने–‘उत्सवले पर्यटन प्रर्वद्धन र विकासमा सहयोग पुग्नेछ ।’ पर्यटन बोर्डका वरिष्ठ अधिकृत घिमिरेले पर्यटकीय गन्तव्यमा चंगाचेट जस्तो कार्यक्रमहरुले आन्तरिक पर्यटकलाई घुमफिर गर्ने वातावरण सृर्जना हुने र यसले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने धारणा राखे। सरकारले २०७३ सालाई घुमफिर वर्ष घोषणा गरेकोले दिगो पर्यटन विकासमा यसले मद्दत पुग्ने उनको भनाई थियो।
प्रकाशित: २१ आश्विन २०७३ १२:३५ शुक्रबार