४ वैशाख २०८१ मंगलबार
समाज

कृत्रिम हातखुट्टाले दिएको खुसी

डेढ वर्षको हुँदा दाहिने हात गुमाएका कमल पौडेल हालै जोडिएको कृत्रिम हातले लेख्ने अभ्यास गर्दै। तस्बिर : सविता/नागरिक

चितवन - पहिलो पटक दाहिने हातले लेख्न पाउँदा १९ वर्षीय कमल पौडेल निकै हर्षित भए। भरतपुर महानगरपालिका वडा नम्बर ११ को पोखरी टोलका उनी आफ्ना सबै काम गर्न देब्रे हातमा निर्भर थिए। डेढ वर्षको उमेरमा भ-याङबाट लडेर घाइते भएका उनको दाहिने हातमा चोट लागेको थियो। स्वास्थ्य उपचार गराउँदा १४ वर्षमाथिका बिरामीलाई दिने औषधि डाक्टरले उनलाई दिए। त्यो औषधिबाट उनको स्वास्थ्यमा नकारात्मक असर ग-यो। चोट बढ्दै गएपछि डाक्टले उनको दाहिने हात कुहिनाभन्दा माथिबाट काटिदिए। सानैमा एउटा हात गुमाएका उनी देब्रे हातसँग अभ्यस्त हुँदै गए। जनस्वास्थ्य विषयमा स्नातक गर्दै गरेका उनले आफ्ना सबै काम एक हातले गर्दै आएका थिए। उनका अभिभावकले कृत्रिम हात राख्न दुईपटकसम्म उनलाई अस्पताल लगेका थिए।

आफूलाई मिल्ने आकारका हात नपाइएपछि फर्किएको कमल बताउँछन्। पछिल्लोपटक भने कृत्रिम हात जोडिएको छ। उनले कृत्रिम हात राखेको दुई साता पुग्यो। ‘दाहिने हातले कलम समाएर लेख्न पाउँदा धेरै खुसी लागेको छ’, उनले भने, ‘दाहिने हातले गर्ने अभ्यास गर्दैछु।’ एक हातले गर्दे आएका सबै काम दुई हात मिलाएर गर्न सिक्दै गरेका उनीमा उत्साह र आँट बढेको छ। अब सबै काम आफैं गर्न सक्छु भन्ने हौसला भएको उनी बताउँछन्।

कालिका नगरपालिका वडा नम्बर ४ पदमपुरका ३६ वर्षीय जोगेन्द्रप्रसाद चौधरीले दुवै खुट्टा गुमाएका छन्। १७ वर्षअघि तत्कालीन नेकपा माओवादीको वाइसिएलमा भर्ना हुन उनलाई शक्तिखोरको गैरीबारी लगियो। वाइसिएलको तालिम गर्ने क्रममा उनका दुवै खुट्टामा केही बिझेजस्तो भयो। उनले स्वास्थ्य उपचार पनि गराए।

डाक्टरले सबै ठीक हुन्छ भनेपछि उनले नियमित स्वास्थ्य जाँच गराइरहे। तर उनको घाउ ठीक हुनुको साटो बढ्दै गयो। दुखाइ अत्यधिक भएपछि २०६९ सालमा उनको एउटा खुट्टा घुँडाभन्दा माथिबाट काटियो। त्यसको दुई वर्षपछि उनले कृत्रिम खुट्टा पनि राखेका थिए। कृत्रिम खुट्टा एक वर्षसम्म लगाएपछि दुख्नुका साथै घाउ पनि भएको उनी बताउँछन्। अर्को खुट्टामा लागेको चोट पनि निको नभएपछि दुई वर्षअघि काटियो। त्यसयता उनी दुवै खुट्टाविहीन थिए। १० दिनअघि भने उनले दुवै खुट्टा पाएका छन्। कृत्रिम खुट्टा राखेपछि बैसाखीको सहायतामा हिँडडुल गर्न सहज भएको उनी बताउँछन्। उनले पदमपुरमै रहेको एक मन्दिरको पूजाआजा र रेखदेख गरेर दिन बिताइरहेका छन्। कमल र जोगेन्द्रलाई कृत्रिम अंग राख्ने अवसर नवलपुरको गैंडाकोटमा रहेको सहज सामुदायिक अस्पतालले उपलब्ध गराएको हो। अस्पतालले कृत्रिम हातखुट्टा जडान शिविर आयोजना गरेर निःशुल्क रुपमा कृत्रिम अंग जडान गरिदिएको छ।

अस्पतालले चौधरी फाउन्डेसन, भारतीय दूतावास, भारतको भगवान महावीर विकलाङ्ग सहायता समिति (जयपुर फुट्स्) र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको सहकार्यमा शिविर आयोजना गरेको हो। काठमाडौं र गैंडाकोटमा गरी दुई चरणमा भएको शिविरबाट ४ सय ७६ जनामा कृत्रिम हातखुट्टा जडान गरिएको छ। सहज अस्पतालमा ४ सय १८ जना र काठमाडौंमा ५८ जनामा कृत्रिम अंग जडान गरिएको सहज हेल्थ फाउन्डेसनका अध्यक्ष करुणासागर सुवेदीले जानकारी दिए। ५२ जनालाई हात, ३ सय ७१ जनालाई खुट्टा, ६४ जनालाई दुवै खुट्टा, १३ जनालाई क्यालिपर, ८ जनालाई दुवै क्यालिपर गरी ५ सय ८ वटा कृत्रिम अंग जडान गरिएको छ। कृत्रिम हातखुट्टा जडानका लागि अर्थोपेडिक डाक्टरको नेतृत्वमा आठजनाको टोली जयपुर फुट्स्बाट आएका थिए।दुर्घटनालगायतका कारणले हातखुट्टा गुमाएका करिब एक लाख मानिस नेपालमा रहेको तथ्यांक छ। यीमध्ये ९९ प्रतिशतजतिमा कृत्रिम हातखुट्टा राख्न सकिन्छ। शरीरको मोटाइ र उमेर अनुसार राखिएका कृत्रिम अंग परिवर्तन गर्नुपर्ने हुन्छ। नेपालमा सरकारी तहमा र निःशुल्क कृत्रिम अंग राख्ने स्थायी सेन्टर छैनन्। सहज अस्पताललाई कृत्रिम अंग जडानको स्थायी सेन्टर बनाउने प्रयास भएको सुवेदीले बताए।

प्रकाशित: ११ फाल्गुन २०७५ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App