८ वैशाख २०८१ शनिबार
अन्य

यात्रा योग अध्ययनको

शान्त खरेल

प्रसिद्ध लेखक मार्क सिंग्लेटनको भनाइ छ– योगका कतिपय सत्यता विज्ञानका सत्यताभन्दा माथि छन्। २०५० सालमा एसएलसी उत्तीर्ण भएपछि विज्ञान पढ्ने हुटहुटी थियो। तर, विविध परिस्थितिले गर्दा त्यो इच्छा पूरा हुन पाएन। अन्ततः संस्कृतको विद्यार्थी भइयो। नेपाल संस्कृत विश्वविद्यालयबाट शास्त्री (स्नातक) तह उत्तीर्ण भएपछि पनि विज्ञान पढ्न नपाएको तृष्णाले सताइरहेकै हुनुपर्छ जब डा. मार्क सिंग्लेटनको उपर्युक्त भनाइ योगविज्ञान आधुनिक विज्ञानभन्दा निकै अघि छ भन्ने सुनें तब मनमा प्रश्न उठ्न थाले– योगविज्ञान भनेको के हो ? यसको अध्ययन कसरी गर्न सकिन्छ ?

बुभ्दै जाने क्रममा भारतको गुरुकुल कांगडी विश्वविद्यालयमा योगको पढाइ हुन्छ भन्ने थाहा पाएँ र सन् २००१ मा योग पढ्न त्यतै लागें र सन् २००४ मा योगमा स्नातकोत्तर उपाधि प्राप्त गरें।

एउटा उत्साह र उमंग बोकेर मुलुक फर्किएँ। त्यसपछि समाजलाई नै रूपान्तरण गर्नसक्ने योग जुनकुनै समयमा हिमालयको आसपासबाट प्रारम्भ र विस्तार भएको मानिएको, तत्कालीन परिस्थितिमा जीवन जिउने कलाका रूपमा अपनाइएको र कालान्तरमा लुप्तप्रायः रहेको विषयलाई पुनर्जागृत गर्नुपर्छ भन्ने मनोकांक्षाका सल्बलाउन थाल्यो।

त्रिभुवन विश्वविद्यालयको यो एउटा ऐतिहासिक कदम हो, जसले नेपालमा पहिलोपटक योगसम्बन्धी एकेडेमिक पठनपाठन प्रारम्भ गर्दैछ।

योगसम्बन्धी अधिकांश ग्रन्थ संस्कृतमै लेखिएको र योगसम्बन्धी ६ महिनाको प्रशिक्षण कार्यक्रम पनि चलाइरहेको संस्कृत विश्वविद्यालय नै यसका लागि उपयुक्त थलो हो भन्ने लाग्यो। २०६९ सालतिर सो विश्वविद्यालयका तत्कालीन पदाधिकारीलाई योगको औपचारिक अध्यापनको कुरा राखेँ। तर निराशाबाहेक केही हात लागेन। यो मान्छे त जागिर खोज्दै आयो भन्ने दृष्टिकोणले हेर्ने काम भयो। सायद कमजोरी मेरा पनि थिए होलान् मैले उहाँहरूलाई राम्ररी बुझाउन सकिनँ।

त्यसपश्चात् पनि योगको प्रचारप्रसार र अध्ययन थाल्ने प्रयास जारी नै रह्यो तर पनि फलदायी काम कतै हुन सकेन। कतै पनि विश्वासको वातावरण बन्न सकेन। विश्वविद्यालयका वर्तमान पदाधिकारीलाई पनि निकै अनुनयविनय गरेँ। उहाँहरु सकारात्मक हुँदाहुँदै पनि प्रभावकारी कार्य प्रारम्भ भएको महसुस भएन। संस्कृत विश्वविद्यालयमा योगको क्षेत्रमा कार्यरत एकाध व्यक्तिहरु जो आफूलाई योगको मसिहा ठान्नुहुन्छ उहाँहरुले विश्वविद्यालयमा योगसम्बन्धी प्राज्ञिक पढाइ प्रारम्भ होस् भनेर गम्भीर रूपमा पहल गरिरहनुभएको छैन।

योगलाई सर्वसाधारणले पनि स्वीकार गरिसकेको, यसले सम्पूर्ण मानवजातिलाई नै फाइदा पुग्ने कुरा विभिन्न अध्ययन एवं अनुसन्धानले पुष्टि गरिसकेको वर्तमान अवस्थामा यसको अधिकारिक रूपमा पठनपाठन हुनुपर्छ भनी त्रिभुवन विश्वविद्यालयको विज्ञान संकाय, मानविकी एवं सामाजिकशास्त्र संकाय र आयुर्वेद विभागलाई पनि आग्रह गर्ने काम भयो तर पनि हात लाग्यो शून्य भनेझैँ सबै जना सकारात्मक हुँदाहुँदै पनि केही भएन।

एक दिन त्रिवि संस्कृत विभागमा कार्यरत मित्र डा. सुबोध शुक्लजीको फोन आयो र जानकारी प्राप्त भयो, त्रिभुवन विश्वविद्यालयको संस्कृत विभाग योगसम्वन्धी एकेडेमिक कोर्स चलाउन सकारात्मक छ। त्यो सुनेर मनमा खुसीका असीमित लहर सल्बलाए। त्रिवि संस्कृत विभाग प्रमुख प्रा.डा. नारायणप्रसाद गौतमको विशेष पहलमा एकवर्षे योग विज्ञानसम्बन्धी पठन–पाठनको सूचना प्रकाशित भइसकेको हालको अवस्थामा यो विषयलाई कसरी प्रभावकारी बनाउने र बढीभन्दा बढी यसबाट फाइदा जनमानमा पुर्‍याउने भन्ने ठूलो जिम्मेवारी सबैका सामु छ।

त्रिभुवन विश्वविद्यालयको यो एउटा ऐतिहासिक कदम हो जसले नेपालमा पहिलोपटक योगसम्बन्धी एकेडेमिक पठन–पाठन प्रारम्भ गर्दैछ। यसका लागि विश्वविद्यालयका पदाधिकारीहरु, मानविकी तथा सामाजिकशास्त्र संकाय र संस्कृत विभागका पदाधिकारीहरु धन्यवादका पात्र छन् जसले योगविज्ञानमा एक वर्षको पोस्ट ग्राजुयट डिप्लोमा कोर्स प्रारम्भ गर्न सहयोग गरे। मान्यताप्राप्त विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक अध्ययन जोकोहीले पनि यो विषय अध्ययन गर्न पाउने यस विषयको अध्ययनको माध्यम भाषा संस्कृत, नेपाली या अंगे्रजीमध्ये कुनै एक रहनेछ।

यो कोर्सको अध्ययनपश्चात् आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्नसक्ने, स्कुल–कलेजहरुमा योग शिक्षकको रूपमा वा काउन्सिलरको रूपमा कार्य गर्नसक्ने, योग सेन्टर खोलेर सेवा दिनसक्ने, सहायक योग थेरापिस्टका रूपमा कार्य गर्न सक्नेछन्।

देशविदेशमा योग विषयको माग बढ्दै गएको सन्दर्भमा यो कोर्स गरेपश्चात् योग शिक्षकको भूमिका निर्वाह गर्नसक्ने बनाउन खोजिएको छ। योग विज्ञानको कक्षा साँझपख सञ्चालन गरिने भएकाले कुनै अफिसमा कार्यरत कर्मचारीहरु विभिन्न विषय अध्ययन गर्ने विद्यार्थी, जिज्ञासु, योगको क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने सामाजिक अभियन्ताहरु, योग साधकहरु, गृहिणी या सर्वसाधारण जो स्नातकले यो विषय अध्ययन गर्न सक्नुहुनेछ। स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने कुरा सबैमा जानकारी नै छ चाहे त्यो मनोवैज्ञानिक स्वस्थ्यहोस् वा भौतिक। विश्व स्वास्थ्य संगठनको स्वास्थ्यको परिभाषालाई ख्याल गर्ने हो भने त्यो पनि योगले नै पूरा गर्न सक्छ।

नेपालमा योगको क्षेत्रमा यो कोर्स एउटा कोसेढुंगो हो, यद्यपि धेरै काम भने गर्न बाँकी नै रहेको मान्नुपर्छ। भविष्यमा स्नातकोत्तर एवं विद्यावारिधिका कार्यक्रम पनि सञ्चालन गरिनुपर्छ। धेरै युवाहरु रोजगारीका लागि विदेश गइरहेको वर्तमान परिस्थितिमा योगसम्बन्धी प्रशिक्षणपश्चात् विदेश जानेहरुले आफ्नो स्वास्थ्यको राम्रो हेरचाह गर्न सक्छन् भने जीवन जोखिममा पर्ने सम्भावना पनि कमहुन्छ र अध्ययनका लागि विदेश जान चाहनेहरुले पनि योग शिक्षकको रूपमा कार्यगर्दै आफ्नो अध्ययनलाई अगाडि बढाउने अवसर पाउन सक्छन्। यसका लागि अल्पकालीन कक्षाहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि देखिएको छ।

योगको अभ्यास स्कुल एवं कलेजमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई उपयोगी छ भन्ने कुरा त विभिन्न सञ्चारमाध्यममा आएका समाचारले नै पुष्टि गरिसकेका छन्। अध्यापनरत सम्पूर्ण शिक्षकलाई योगसम्बन्धी प्रशिक्षण दिँदा अध्यापनकार्य अझै प्रभावकारी हुने थियो र विद्यार्थी पनि अध्ययन कार्यमा अझ सक्रिय हुने थिए। योग विषयमा विभिन्न प्रकारका समाज उपयोगी विषय अध्ययन एवं अनुसन्धान गरी सर्वसाधारणको समग्र स्वास्थ्य र दैनिकीलाई कसरी प्रभावयुक्त बनाउन सकिन्छ ? त्यससम्बन्धी थुप्रै खोज गर्नुछ आगामी दिनमा।
(खरेल योग शिक्षक हुन्।)

प्रकाशित: ११ फाल्गुन २०७५ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App