साहस अनुभूति

पानीमा तैरिँदा, चराझैं उड्दा

शनिबार, ११ फागुन २०७५, ०९ : ३९ अनिल यादव  | @aniljournalist

अमेरिकी कलाकार जेमी लिनले कुनै बेला भनेकी थिइन्, ‘जागिरले तपाइँको गोजी भर्छ तर एडभेन्चरले तपाईको आत्मा भर्छ।’ पुसको अन्तिम साता र माघको पहिलो साता म उनले भनेझै आत्मा भर्नमा तल्लिन रहेँ।

झरनाबाट झर्ने साहसिक खेल ‘क्यानोनिङ’ मैले केही महिनाअघि नै गरिसकेको थिएँ। यो दुई साताभित्र क्रमशः थप तीनवटा साहसिक खेल खेल्ने मौका जुर्‍यो– र्‍याफ्टिङ, प्याराग्लाइडिङ र बन्जी जम्प। अहिले साथीभाइमाझ फुक्काफाल सुनाउन पाइएको छ, ‘कम साहसी रैनछु म।’

डर, खुसी र उत्सुकताले भरिएका ती रोमाञ्चक अनुभवले मेरो मानसपटलमा यसरी घर गरिसके कि अब त चाहेर पनि बिर्सन सकिन्न। मनमा मिठो सम्झना बनेर बसेका छन् ती क्षणहरू। त्यति प्यारा क्षणलाई म यहाँ पाठकमाझ किन नबाडौंँ ! त्यसैले मैले दुई साताभित्र भोगेका दुइवटै साहसिक खेलको अनुभव यहाँ क्रमशः सम्झिन खोज्दैछु।

एकै साता सुनकोशीमा र्‍याफ्टिङ र गोदावरीमा प्याराग्लाइडिङ गर्दा बेग्लै संसारमा डुलेजस्तै भयो। डर, खुसी र उत्सुकताले भरिएका ती साहसिक क्षण मनमा मिठो सम्झना बनेर बसेका छन्।

र्‍याफ्टिङ रक्स

पुस २५ गते बुधबार। रातको करिब १० बजेको थियो। अफिसबाट घर जाने तर्खरमा थिएँ। मोबाइलमा विष्णुकान्त घिमिरेको फोन आयो– ‘सर, भोलि टाइम के छ ? सुकुटेबिच जाने हो ?’
‘सुकुटेबिच,’ मैले आश्चर्य प्रकट गरें। उनले फेरि प्रष्ट पारे, ‘हो सर, सुकुटेबिच। बिहीबार जान्छौँ। सानो कार्यक्रममा सहभागी हुन्छाैं। रिसोर्टमा बस्छौँ। अनि, पर्सिपल्ट र्‍याफ्टिङ गरेर फर्किन्छौँ।’
उनले यति भन्नासाथ मैले गायिका ज्योति मगरलाई सम्झिएँ। केही महिनाअघि अन्तर्वार्ता लिने क्रममा उनले मलाई सुझाएकी थिइन्, ‘सुकुटेबिच घुम्न जानुस्, राम्रो ठाउँ छ।’

र्‍याफ्टिङ पनि गर्न पाइने भनेपछि म यति हौसिएछु कि भोलिपल्ट बिहान ६ बजे गाडी चढ्न भृकुटीमन्डप (काठमाडौं) आइपुग्ने सर्तलाई राति १० बजे भए पनि ‘कन्फर्म’ गरेछु। मेरो डेराचाहिँ नयाँबस्ती, जोरपाटीमा हो।
अब धेरै भूमिका नबाँधी भनौँ, भोलिपल्ट बिहान गाडी चढेको करिब चार घन्टापछि दुई बस गरेर करिब ६० जनाको पत्रकार टोली सुकुटेबिच पुग्यौँ। राति रिसोर्टमा बस्यौँ। क्याम्प फायरिङ गर्‍यौँ। नाच्यौँ। रमाइलो गर्‍यौँ।  

अनि,  पर्सिपल्ट दिउँसोको १२ बजेतिर मेरो मनको नजिकै आइपुग्यो– प्रतीक्षाको घडी। उहिलेदेखिको प्रतिक्षा र चाहना थियो– र्‍याफ्टिङ। त्यो प्रतिक्षा सुनकोशी खोला किनारैमा पुगेपछि त उत्साहमा परिणत भइहाल्यो। उत्साह पनि यस्तो कि त्यसले खुसीको हद पार गर्दै थियो।

नदीमा पुग्नासाथ सुरुमै र्‍याफ्टिङ गाइडले र्‍याफ्टिङका नियम र सर्तहरू सुनाए। सुनाउँदा–सुनाउँदै उनले भने, ‘हामीलाई र्‍याफ्टिङमा स्विमिङ गर्न जान्नेभन्दा पनि नजान्ने ग्राहक ठिक लाग्छ। जान्नेहरू बढी बाठो भइदिए भने समस्या हुनसक्छ।’

उनले त्यसो भनिरहँदा म त झन् मक्ख। मलाई स्विमिङ गर्न आउँदैन, अनि किन नहुनु त मक्ख ! आखिर जीवनमा पहिलोपल्ट कसैले त केही कुरा नजान्नु पनि ठिक भनिरहेको थियो।

नियम र सर्तहरू सुनेपछि टाउकोमा हेल्मेट र जिउमा हार्नेस सुट (सुरक्षाका लागि पहिरिने पहिरन) अनिवार्य रहेछ। त्यो लगाएपछि मसहित ६ जनाको एउटा समूह एउटा र्‍याफ्टिङ बोटमा चढ्यो। अरु बोटहरू अरुहरू त्यसैगरी समूह बनाएर चढे।

र्‍याफ्टिङ यात्रुका लागि माझी दाइले डुंगा तारेजस्तो आरामदायी होइन। यो त सामूहिक प्रयासले खेलिने एउटा साहसिक खेल हो। जहाँ हरेक यात्रु ‘माझी’को भूमिकामा हुँदोरहेछ।

र्‍याफ्टिङ गाइडले हरेकको हात–हातमा प्याडल थमाइदिएर ‘मैले भनेअनुसार चलाउनु है’ भनेर आदेश दिइरहँदा मलाई त्यस्तै महसुस भएको थियो। हामी सबैले गाइडकै इशारामा कहिले दाहिने, कहिले देब्रे गरेर पानीमुनि प्याडल चलाउथ्यौँ।

ठुल्ठूला ढुंगाको छेउबाट प्याडल चलाइरहँदा ठोक्किएला कि भन्ने डर पनि लाग्थ्यो। डरलाग्दा पानी छालहरूले उस्तै तर्साउँथ्यो। जबजब बोट छालको नजिक पुग्थ्यो, पानीमुनि डुबाउलाझैं लाग्थ्यो। र्‍याफ्टिङ गर्दा डरको मज्जा लिने ‘मुमेन्ट’ भनेको यही बेला हो, जबजब छाल आउँथ्यो, र्‍याफ्टिङ गाइड यस्तै भनेर हाम्रो मुटु बलियो बनाइदिन्थे। त्यसपछि त मज्जैमज्जा। मज्जा पनि यतिसम्म कि पुसको जाडोमा पूरा शरीर पानीले निथ्रुक्क भिजिरहेको थियो। तर मलाई त्यसको कुनै पर्वाह थिएन।   
त्यतिमात्रै कहाँ हो र ! अरु साथीहरूको बोेट छेउमा आइपुग्नेबित्तिकै म प्याडलको सहाराले सुनकोशीको चिसो पानी उनीहरूलाई छ्यापिदिन्थे। बदलामा उनीहरू झन् जोडले छ्यापिदिन्थे।

अहा, अहिले सम्झिँदै त यति रमाइलो ! झन् त्यतिबेला त कति रमाइलो !  

प्याराग्लाइडिङमा तुुर्लुङ

साथीहरू पोखरा पुगेर खुला आकाशमा चरा उडेझैँ हात फिँजाएर प्याराग्लाइडिङ गरेको तस्बिर जब फेसबुकका भित्तामा पोस्ट गर्थे। मनमनै इश्र्या जाग्थ्यो, ‘आहा, मचाहिँ कहिले यसरी उड्ने होला ?’

र्‍याफ्टिङ गरेको तीन दिनपछि अर्थात् पुस ३० गते संयोगवश मलाई यो अवसर पनि जुर्‍यो। त्यो पनि काठमाडौंमै, पोखरा पुगिरहन परेन। काठमाडौं प्याराग्लाइडिङले सन् २००७ देखि संचालनमा ल्याएको तर ०७२ को भूकम्पपछि बन्द भएको प्याराग्लाइडिङ पुनः सुचारु भएको रहेछ। भूकम्पले सुस्ताएको उडान तंग्रिँदै रहेछ। बिहानको १० बजे नै हामी १५ जना पत्रकारको टोली उडान हुने ठाउँ अर्थात् ललितपुरस्थित गोदावरीको चापाखर्क पुगिसकेका थियौँ। टेक अफ हुने डाँडा २१ सय मिटरको उचाइमा रहेछ। ल्यान्ड गोदावरीकै रचनाटारमा हुने रहेछ। त्योचाहिँ १५ सय मिटरको उचाइमा ।

डाँडामा उडानका लागि तयार ४–५ जना पाइलट थिए। सबैभन्दा पहिले को उड्ने ? पहिलो उडानको तयारीमा रहेको पाइलटले ठूलो आवाजमा सोधेपछि टोलीमा रहेका साथीहरू मुखामुख गर्न थाले। कोही डराइरहेजस्तो, कोही आत्तिइरहेजस्तो। कोही सुरुमा आफू उड्नभन्दा पनि अरु उडेको हेर्न चाहेजस्तो।

सबैको मुहारमा अन्योलता प्रष्ट देखेपछि सुरुमा उड्न म तात्तिएँ। खुट्टाहरू पाइलटतर्फ लम्कदै थिए, अनि म मसिनो स्वरमा भन्दै थिएँ, ‘पहिला म गर्छु।’ पाइलटले ‘आउनुस्’ भनेपछि म उनी छेउ गएँ। हार्नेस सुट लगाएँ। पाइलटले सेफ्टी, टेक अफ, फ्लाई र ल्यान्डबारे केही महŒवपूर्ण जानकारी गराएँ। प्याराग्लाइडिङका डोरीहरू मेरो शरीरसँग कनेक्ट गरेँ।

‘मैले अगाडि दौडिनु भनेपछि अगाडि दौडिनुस्, पछाडि भनेपछि पछाडि,’ पाइलटले मलाई निर्देशन दिए। मैले ‘हुन्छ’ भनेर मुन्टो हल्लाएपछि हामी उडानका लागि तयार भयौँ।

हुन त म एक्लै उड्दै थिइनँ। मसँगै पाइलट पनि उड्दै थिएँ। त्यही भएर मनमनै डराइरहे पनि म त्यो डरलाई आधा कम गर्न खोजिरहेको थिएँ। आखिर अरुका अघि साहसी जो देखिनु थियो !

अब उडानको तयारी भयो। मेरो पछाडि रहेका पाइलटले ‘अगाडि’ भनेर निर्देशन दिएपछि म बिस्तारै गतिमा अगाडि दौडिँदै थिएँ। हावाको वेगले साथ दिइरहेको थिएन। प्याराग्लाइडिङ उडेन, झन्डै झाडीमा पो पुगिएछ !

पहिलो फ्ल्याइट। त्यो पनि यस्तो ! ला...मरिन्छ कि क्या हो ! मनमनै यस्तै सोच पलायो। सबैभन्दा कान्छो उमेरका पाइलट मसँग थिए। नाम ठ्याक्कै बिर्सिएँ। सुनिए अनुसार उनी त्यहाँका पर्फेक्ट पाइलट थिए। त्यसैले स्थितीलाई तत्काल नियन्त्रणमा ल्याइहाले।

एकछिन त वरिपरि सन्नाटा नै छायो। सबै चुपचाप। तर, जब खतरामुक्त महसुस भयो, केही साथीहरू मोबाइलको क्यामेरा अन गर्दै मेरो छेउतिर आए र सोध्न थाले– कस्तो महसुस भइरा’छ। मैले पनि किन ढाट्नु र ! निर्धक्क भन्दिएँ– एकदमै डराइरहेको अवस्था।

दोस्रोपल्टमा हामीलाई हावाले साथ दियो र हामी डाँडाको भुइँलाई छाड्दै हावामा उड्न थाल्यौँ। मेरो डर कम गराउन पाइलट मलाई अनेक व्यक्तिगत प्रश्न गरिरहेका थिए। मलाई सजिलोसँग बस्न, नडराई बस्न सुझाइरहेका थिए। मेरो भने पहिलो प्रयासमा भएको घटनाले सातो गइसकेको थियो। नडराउने कुरै थिएन।
तैपनि हाँसिरहेको थिएँ, चिच्याइरहेको थिएँ। डर मिश्रित हाँसो र चिच्याहट। यसको अर्थ उत्साह छँदै थिएन भन्नै मिल्दैन। उत्साह र खुसी पनि सँगसँगै थियो। लाग्थ्यो– एकछिनका लागि डर, उत्साह र खुसी सबै साथी भइसकेका थिए।

मेरो हातमा गोप्रो क्यामेरा थमाइएको थियो। जब हामीले डाँडा छोड्यौँ, पाइलटले क्यामेराको स्वीच अन गर्न निर्देशन दिए। उनले भने अनुसार गरेँ। तर, क्यामेरा अन भएन। त्यसपछि उनले आफैं चेक गरे।  

‘ला...क्यामेरामा ब्याट्री नै रहेनछ। ब्यागमै छुटेछ,’ आश्चर्यभावमा जब उनले यस्तो सुनाए हावामा उडिरहेको म एकाएक निराश भएँ। साथीहरूले हावामा उडिरहेको तस्बिर र भिडियो खुब सामाजिक सञ्जालमा हाल्थे। मेरो पनि मन थियो– जीन्दगीको यस्तो सुन्दर पललाई क्यामेरामा कैद गरुँ ! तर, यसपल्टका लागि त्यो इच्छा अपुरो हुँदै थियो।

यद्यपि यसरी निराश भएर मैले जीन्दगीको यस्तो सुन्दर समयलाई निराशामा परिणत गर्नु पनि ठिक हुन्थेन। तत्कालै आफूलाई सकारात्मक बनाएँ। आफूलाई सम्झाएँ– जीन्दगीको यस्तो सुन्दर पललाई क्योमरामा कैद गर्नुभन्दा महŒवपूर्ण त यसलाई महसुस गर्नु पो हो ! क्यामेराले कैद गरेका पल त डिलिट हुन सक्छन्। तर, मनले कैद गरेपछि नि ? अहँ, डिलिट हुँदै हुँदैन। सम्झिनलाई जीन्दगीभर पुग्छ।

करिब १५ मिनेट म हावामा चराजस्तै उडेँ दुवै हात फैलाएर। पाइलटले एकपल्ट यस्तो जोडले स्टन्ट हाने कि टाउको रनन भयो। तर, खुब मज्जा आयो। उड्दै गर्दा उपत्यकाको सुन्दरता प्रष्ट देखिन्थ्यो। हिमशृंखला, डाँडाकाँडा र वनजंगललाई माथि आकाशबाट नियालेजस्तो अनुभूत हुन्थ्यो। प्याराग्लाइडिङ गरिरहँदा मनमनै पटकपटक लागिरह्यो– हाम्रो प्रकृतिको खास सुन्दरतालाई कसैले राम्रोसँग महसुस गरेको छ भने सायद ति चराचुरुङ्गीहरू नै हुन्। यसरी उड्न जो पाउँछन्।

एकछिन त ‘हाइपोथेटिकल’ पनि भएछु। मनमनै सोचिरहेछु– अर्को जुनीमा म पनि चरा भएर यसरी संसारभर उड्न पाएँ !

त्यसदिन धेरैजनाको फ्लाइट बाँकी थियो। खुलेको मौसम जतिबेला पनि बिग्रिन सक्थ्यो। त्यसैले मलाई तल ल्यान्ड गराइएन। जहाँबाट उडाइयो, त्यही ल्यान्ड गराइयो। प्याराग्लाइडिङमा यस्तो ‘टप ल्यान्ड’ विरलै गराइन्छ। मेरोचाहिँ पहिलो अनुभवमै ‘टप ल्यान्ड’ भयो। त्यो पनि सुरक्षितसाथ।

त्यसदिन म एउटा संकल्पसहित प्याराग्लाइडिङ गरेर फर्किएँ। संकल्प थियो– अर्कोपल्ट प्याराग्लाइडिङ गर्दा क्यामेराको ब्याट्री चेक गरेरमात्रै उडिनेछ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad