८ वैशाख २०८१ शनिबार
समाज

सिलिन्डर विस्फोट : दुःखमाथि पीडाको घाउ

जेठ ७ गते ललितपुरमा ग्यास विस्फोटमा पति गुमाएकी शारदा ताम्राकार।

ललितपुर- जीर्ण घरमा जेनतेन जीविका चलाउँदै थियो, ललितपुरकी कविना ताम्राकारको परिवार। गत वर्षको शक्तिशाली भूकम्पले त्यही घर पनि लडाएपछि उनको बासै खोसियो। त्यो क्षतिले थपेको दुःख मत्थर हुन नपाउँदै ताम्राकार परिवारमा अर्को विपत्ति खनियो।

गत जेठ ७ गते खाना पकाउने ग्यास विस्फोट हुँदा उनका पतिको निधन भयो। कविना आफैं पनि गम्भीर घाइते छिन्। अन्तिम समयमा पतिको मुहारसम्म देख्न पाइनन् उनले। एक्ली कविनालाई अब आफ्नो उपचार धान्नै सकस छ। भविष्यमा सन्तान लालनपालनको जिम्मा एक्लो काँधले उठाउनु त छँदै छ।

ललितपुर, हौगोलस्थित इताछेंमा हिमालयन पेट्रोकेमिकल्स प्रालिको एचपी ब्रान्डको गुणस्तरहीन ग्यास सिलिन्डर पड्किँदा उनका पति सुरेश ताम्राकारको मृत्यु भएको थियो। कविना मोडल अस्पतालमा उपचार गराएर अहिले काठमाडौं, सानोभन्ज्याङस्थित माइतीघरमा आराम गरिरहेकी छन्। सातवर्षे छोरालाई पनि साथै राखेकी छन्।

घटनाको एक महिनापछि बुधबार उनले क्षतिपूर्तिबापत केही रकम त पाइन् तर त्यसले परिवारकै मूली गुमाउनुको पीडामा मलम लगाइदिन सकेन।  'क्षतिपूर्तिले पाएर केही राहत त महसुस भयो तर पति गुमाउनुको पीडा कसरी भुल्नु र?' कविनाले भनिन्।

शारदा ताम्राकारको नियति पनि कविनाको भन्दा फरक छैन। सुरेशलाई भेट्न गएका उनका पति धु्रव पनि विस्फोटमा परे। भूकम्पले उनको घर पनि बस्नै नहुने पारिदियो। त्यसयता परिवारै भाडामा बस्दै आएका छन्।

शारदाका एक छोरा र एक छोरी छन्। पतिको मृत्युपछि उनलाई पनि छोराछोरीको भविष्य कस्तो होला भन्ने पिरलो छ। 'जीवनमा यस्तो दुःख आइपर्ला भनेर सोचेकी पनि थिइनँ। आर्थिक अवस्था नाजुक भए पनि जेनतेन दुःख गर्दै भूकम्पले दिएको पीडा बर्सन खोज्दै थियौं, अहिले त घरको कमाउने मान्छे नै खोस्यो दैवले।'

छोेराको मृत्युपछि ८३ वर्षीया आमा पनि मर्माहत छिन्। बुढेसकालको सहारा गुमेयता उनका आँखा कुनै दिन ओभाना छैनन्।

सिलिन्डर विस्फोटमा सिकिस्त राजेश ताम्राकारको पनि उपचारक्रममा निधन भइसकेको छ। पतिवियोगले छटपटिएकी रुक्मिणी अझै विक्षिप्त छिन्। यति बिजोग त उनले भूकम्पले घर भत्काउँदा अनुभूति गरेकी थिइनन्। पति छँदा विपत्ति झेल्न आडभरोसा थियो, साथ थियो। अब छोरा राज र छोरी रूपा हुर्काउनुपर्ने दायित्व उनी एक्लैलाई थपिएको छ। राजेशका ८८ वर्षीय पिता रत्न र आमा गंगा छोराको मृत्युपछि बोल्नै नसक्ने अवस्थामा छन्।

सिलिन्डर पड्किएर मृत्यु हुने सबै भूकम्पपीडित हुन्। आर्थिक अवस्था कमजोर भएका यी परिवारले सरकारबाट दुईपटक गरी गरी जम्मा २५ हजार रुपैयाँ पाएका छन्। स्थानीय श्रीदीप ताम्राकारले नागरिकसँग भने, 'ग्यास पड्कनुमा कम्पनीकै कमजोरी ठहर भइसकेको छ तर दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीय प्रशासनले खासै चासो देखाएको छैन।'

ग्यास सिलिन्डरको पाता कमजोर भएकाले विस्फोट भएको थियो। घटनापछि आफन्त र ताम्राकार समाजले नारा, जुलुस र धर्ना गरेपछि पीडितले थोरै भए पनि राहत पाएका हुन्। आफूहरूको लामो प्रयासपछि ग्यास कम्पनीले क्षतिपूर्ति दिएको ताम्राकार समाज अध्यक्ष रवीन्द्रराज ताम्राकारले बताए।

प्रकाशित: १२ असार २०७३ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App