८ वैशाख २०८१ शनिबार
अन्य

प्रदर्शनीमा सहभागी हुँदा

आयुन भारती, कक्षा – ३, काञ्जीरोवा नेसनल मावि, कोटेश्वर, काठमाडौँ

केही समयअघि हाम्रो विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा म पनि सहभागी थिएँ। प्रदर्शनीमा हामीले विद्यालयमा पढ्ने सबै विषयका सामग्रीहरू समावेश गरिएका थिए। हाम्रो विद्यालयमा पढ्ने हरेक कक्षाका विद्यार्थीहरूले कुनै न कुनै प्रदर्शनीको सामग्री तयार पार्नुपथ्र्याे। सबैले आफूलाई मनपर्ने विषय छानेका थिए। हाम्रो कक्षाका साथीहरूले पनि फरकफरक सामग्री निर्माण गर्ने योजना बनाए। त्यस काममा हामीलाई हाम्रा गुरुआमाहरूले सहयोग गर्नुभयो। मेरो भागमा कम्प्युटर र त्यसका पाटपुर्जा तथा विभिन्न डिजाइनका भवनहरूका बारेमा जानकारी गराउनुपर्ने जिम्मा परेको थियो। यस कामका लागि मसँगै नीरभ र अन्य विद्यार्थीहरू पनि साथी थिए।

हामीले झन्डै दुई हप्ता अघिदेखि नै प्रदर्शनीको तयार गर्न थाल्यौँ। हामीले पहिले कम्प्युटर पढाउने विषय शिक्षकसँग केके गर्ने भनेर सोध्यौँ। उहाँले हामीलाई प्रदर्शनीका लागि सामग्री तयार पार्ने विधि सिकाइदिनुभयो। त्यसपछि हामी आआफ्नो जिम्मेवारीतिर लाग्यौँ। हामीले पहिले विद्यालयको पुस्तकालयबाट कम्प्युटर र त्यसका विभिन्न पाटपुर्जाका तथा विभिन्न घरका डिजाइनका बारेमा लेखिएको पुस्तक खोजेर पढ्यौँ। पुस्तकालयमा पुस्तक खोज्ने क्रममा कम्प्युटर तथा घर र भवनका बारेमा लेखिएको रङ्गीन चित्रसहितको एउटा पुस्तक फेला पर्‍यो। त्यो पुस्तकबाट हामीले धेरै सामग्री तयार पार्न सक्यौँ। त्यही पुस्तकका आधारमा इन्टरनेटमा गएर खोज्दा कम्प्युटर अनि घर तथा भवनबारे झन् धेरै कुरा भेटियो। हामीले गुगलमा गएर कम्प्युटरका विभिन्न पाटपुर्जा तथा विभिन्न प्रकारका घरहरूका चित्रहरू खोज्यौँ। युट्युबमा त झनै ती पाटपुर्जाले कसरी काम गर्छन् भन्ने भिडियो नै भेटियो। यी सबै कुराहरू हाम्रा लागि प्रदर्शनीको सामग्री तयार पार्ने आधार बने। हामीले त्यसैका आधारमा धेरै मिहिनेत गरेर प्रदर्शनीमा राख्न योग्य सामग्री निर्माण गर्‍यौँ।

रोबोटिक्स सङ्घ, कारखाना समूह र थ्रिडीआईका खेलमा आधारित मनोरञ्जनमूलक सामग्रीहरू पनि स्टलमा राखिएका थिए। विद्यालय प्राङ्गणभित्रै ड्रोन उडाउने अभ्यास पनि चलिरहेको थियो।


प्रदर्शनीका दिन सधैँझैँ हामी विद्यालय पुग्यौँ। अरू दिनभन्दा त्यस दिन विद्यालयको वातावरण फरक थियो। विद्यालय परिसरलाई फरक ढङ्गबाट सजाइएको थियो। विद्यालय प्राङ्गणभरि प्रदर्शनीका लागि मेच र कुर्सीहरू लहरै राखिएका थिए। ठूला कक्षाका दाइदिदीहरूले प्रदर्शनी स्थल सजाउँदै हुनुहुन्थ्यो। कोही विद्यार्थीहरू स्वयम्सेवकका रूपमा पनि खटिएका थिए। विद्यालय पुग्नेबित्तिकै हामीले पहिले आफ्नो प्रदर्शनीको पूर्वतयारी (रिहर्सल) गर्‍यौँ। हाम्रो तयारी र प्रस्तुति देखेर शिक्षकहरू धेरै खुसी हुनुभयो। विद्यालयको प्राङ्गण विभिन्न विषयका स्टलहरूले भरिभराउ थियो। प्रदर्शनीमा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, लेखा र कम्प्युटर विषयका छुट्टाछुट्टै सामग्री थिए। त्यसबाहेक रोबोटिक्स सङ्घ, कारखाना समूह र थ्रिडीआईका खेलमा आधारित मनोरञ्जनमूलक सामग्रीहरू पनि स्टलमा राखिएका थिए। विद्यालय प्राङ्गणभित्रै ड्रोन उडाउने अभ्यास पनि चलिरहेको थियो। पेसा, व्यवसाय तथा प्राविधिक शिक्षा विषयसँग सम्बन्धित विभिन्न कलाकृतिका सामग्रीहरूले प्रदर्शनीमा छुट्टै रौनक थपेको महसुस हुन्थ्यो।

एकैछिनमा प्रदर्शनीको समय सुरु भयो। हामीले तयार पारिएका सामग्रीहरू आफ्नो स्टलमा लगेर राख्यौँ। विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार र अन्य अतिथिहरू प्रदर्शनीका मुख्य दर्शक हुनुहुन्थ्यो। उहाँहरू हरेक स्टलमा पुगेर विद्यार्थीहरूले तयार पारेका सामग्रीहरूबारे जानकारी लिनुभयो। हामीले पनि स्टलमा आएका दर्शकलाई आफ्नो स्टलको सामग्रीबारे सबै कुरा बताइदियौँ। कम्प्युटर के हो ? वर्तमान युगमा यसको के महत्त्व छ ? यसको कुन पाटपुर्जाले कसरी काम गर्छ ? आदिजस्ता धेरै जिज्ञासाका विषयमा हामीले दर्शकलाई जवाफ दियौँ। त्यस्तै घर तथा भवनका प्रकार तथा आधुनिक घरहरूमा हुने सुविधाहरूबारे उहाँहरूलाई केही प्रश्नहरू सोधेर रमाइलो खेल पनि खेलायौँ। उहाँहरू खुसी हुँदै हाम्रो खेलमा सहभागी हुनुभयो। हामीले सोधेका सबै प्रश्नको सही जवाफ दिनेलाई पुरस्कारको व्यवस्था पनि गरेका थियौँ। साना विद्यार्थीले ठूला मानिसलाई पुरस्कार दिएको देख्दा उहाँहरू अचम्मै पर्नुभयो। त्यसमाथि हामीले आत्मविश्वासका साथ आफनो सामग्रीबारे राम्रोसँग बुझाउन सकेको देखेर सबै दर्शकहरू निकै खुसी देखिनुहुन्थ्यो। स्टलमा आएका प्रायः सबै दर्शकले हाम्रो प्रशंसा गर्दै हामीलाई स्याबासी पनि दिनुभयो।

हाम्रो प्रदर्शनी दिनभरि चल्यो। सयौँ दर्शकहरूले हाम्रो स्टलको अवलोकन गर्नुभयो। प्रदर्शनीमा मानिसको भिड देख्दा विद्यालयमा मेला लागेझैँ भएको थियो। यस कार्यक्रमबाट हामीले खोजमा आधारित सिकाइ हासिल गर्‍यौँ। लघुपरियोजना कसरी तयार हुँदोरहेछ भन्ने बारेमा पनि धेरै कुरा सिकियो। कुनै पनि काममा मिहिनेत र धैर्य आवश्यक रहेछ भन्ने पनि बुझियो। प्रदर्शनीले हामीभित्र ज्ञानको दायरा पनि फराकिलो बनाइदियो।

प्रकाशित: ११ फाल्गुन २०७५ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App