८ वैशाख २०८१ शनिबार
अन्य

दुई महिना बित्यो, निष्कर्ष निस्केन

सिन्धुली - आफुलाई तपस्वि बताउने रामबहादुर बम्जनका विभिन्न जिल्लाका आश्रमबाट आफ्ना आफन्त हराएको भन्दै जाहेरी परेपनि प्रहरीले हालसम्म ठोस निष्र्कष निकाल्न सकेको छैन। अनुसन्धान सुरु गरेको झन्डै डेढ महिना बढी हुँदा समेत प्रहरीले ठोस निष्कर्ष निकाल्न नसकेको हो। बम्जनको आश्रमबाट हालसम्म पाँच जना बेपत्ता भइसकेको खुल्न आएको छ।

बम्जनको आश्रमबाट हेटौडा उपमहानगरपालिका १४ मकवानपुरका सञ्चलाल वाइवा, हेटौडाकै फुलमाया रुम्ब, जितपुर सिमरा उपमहानगरपालिका बाराका सुरेश आले, सर्लाही बागमतीकी रिता बोट र नुवाकोटकी कर्मा तामाङ हराइरहेको भन्दै विभिन्न जिल्लामा जाहेरी आफन्तले दिएका छन्। जाहेरी दिएको दुई महिना वित्न लाग्दा समेत प्रहरीले ठोस निष्कर्ष र प्रमाण निकाल्न सकेको छैन। सञ्चलाल, फुलमाया र कर्मा सिन्धुपाल्चोकबाट २०७१ सालदेखि हराइरहेको भन्दै सिन्धुपाल्चोक नुवाकोट र मकवानपुर प्रहरीमा आफन्तले जाहेरी दिएका छन्। यस्तै रिता बोटको जिल्ला प्रहरी कार्यालय सर्लाही र सुरेश आलेको जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी परेको छ।

जाहेरी परेको लामो समयसम्म अनुसन्धान जारी रहेपनि हालसम्म ठोस प्रमाण भेटाउन नसकिएको केन्द्रिय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। हालसम्म ठोस निष्कर्ष केहि निक्लिएको छैन, उनले नागरिकसँग फोनमा भने बास्तविक घट्नाको तथ्यगत अनुसन्धान भइरहेको छ। उनले जाहेरी अनुसारको अनुसन्धान भइरहेको भन्दै प्रहरीले बम्जन सम्बद्ध आश्रमहरुमा अनुसन्धान जारी राखेको बताए। तपस्वि रामबहादुर बम्जन कहाँ छन् भनेर खोजि गर्नुभन्दा पनि हामीले आश्रम र जाहेरीसँग सम्बन्धित घट्नाको अनुसन्धान गरिरहेका छौ, उनले भने।

आफन्तहरु भेटिने आशमा आफुहरु भौतारिरहेको बेपत्ता भनिएकाको आफन्तहरु बताउछन्। छोरा भेटिन्छकी भनेर प्रहरीले जहाँ बोलाउछ त्यहाँ गएको छु, बारा कलैयामा सुरेश आलेमगर हराएको भन्दै उजुरी दिएका उनका बाबु हस्तबहादुर आलेमगरले भने, सिन्धुपाल्चोक प्रहरीले बोलायो म उहि गए, सोधेबुझ गरियो। उनले प्रहरीले खोज्दै छौ भन्ने जवाफ दिने गरेको बताए। छोरो भेटिने आश राखेको छु, प्रहरीले पनि खोज्दै छौ भन्छन् तर अब हामी कहाँ जाने उनले नागरिकसँग गुनासो गरे। लामो समयदेखि हराइरहेका छन्, आजसम्म छोरो फर्किएन, उनले भने, त्यसैले खोजि गरिदिन आग्रह गर्दै कलैया प्रहरीकहाँ उजुरी गरेको छु। उनले छोरो हराएको आउने जेठ बाट चार बर्ष पुग्ने बताए। चारबर्ष हुन लाग्यो, धर्म गर्न गएका छोरा बेपत्ता भएको हस्तबहादुरले भने तर कहाँ गयो पत्तो छैन।

उता अनुसन्धानमा सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले भने अनुसन्धान जारी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने हराएको जाहेरी पछि बम्जनका आश्रमा पुगेर सोध्नी खोज्नी र बझ्नी काम भइरहेको जानकारी दिदै हालसम्म कुनै निष्कर्षमा पुग्न नसकेको बताए। अनुसन्धान रचनात्मक तरिकाले गर्नुपर्ने भएकाले केहि समय लागेको हो उनले भने। उनले बम्जन कहाँ छन् भनेर आश्रममा बुझ्ने काम भएको र अनुयायीहरुबाट सिन्धुलीमै रहेको जानकारी भएको जनाए। बम्जन कहाँ छन् भन्नु भन्दा पनि उनी दोषी ठहरिए जहाँ भएपनि कानुनी कारवाही हुन्छ, एसपी मरासिनीले भने, कानुनको हातको दायरा ठुलो छ, कानुनी हातबाट टाढा छैनन्। उनले बम्जन जहाँ भएपनि कानुको हात पुग्ने बताए।

२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक बनमा अस्थाई आश्रमका रुपमा बस्न बम्जन सिन्धुली आएका थिए। तर त्यतिबेला सिन्धुलीमा ३ महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुन २०७४ साल असोज देखि सिन्धुलीलाइनै आश्रम बनाएर बसेका छन्। कमलामाई नगरपालिका ८ स्थित पैरे भन्ने स्थानमा ठुलै सुरक्षा घेराभित्र आश्रम बनाई बसेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख सञ्चारकर्मी कसैले पनि हालसम्म भेट्न सकेका छैनन्। बम्जनबाट आश्रममा बस्ने आनीहरुमाथि यौन हिंसा भएको तथा आश्रमबाटै अनुयायीहरु बेपत्ता पारेको आरोप लागेसँगै उनि सार्वजानिक नभएका हुन्। बम्जन सार्वजानिक नभएपनि सिन्धुलीकै आश्रममा रहेको उनका अनुयायीहरु बताउछन्।

बम्जन हालसम्म सिन्धुली आश्रममा छन्, तपाईहरु पुर्ण रुपमा विश्वस्त हुँदा हुन्छ, बम्जन सम्बद्ध बोधी श्रवण धर्म संघका केन्द्रिय सदस्य छत्र घिसिङले भने। बम्जनमाथि विभिन्न आरोप लागेसँगै उनि सार्वजानिक नभएपनि तपस्वि भनिएका बम्जन सिन्धुलीमा नभएको र रातारात अन्यन्त्र गईसकेको स्थानियले चर्चा चलाउन थालेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले आफुहरुले नभेटेकाले सिन्धुलीमै छन् भनेर पुष्टि गर्न नसक्ने बताए। उनका अनुयायीहरुसँग सोध्दा यहि भएको जानकारी भएको छ तर एकिन भन्न सक्दिन उनले भने।

प्रकाशित: ११ फाल्गुन २०७५ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App