८ वैशाख २०८१ शनिबार
राजनीति

भूतपूर्व गोर्खा सैनिकको पेन्सनमा विभेद नहोस् : रक्षामन्त्री पोखरेल

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त अधिराज्य बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टरबीच भेटवार्ता भएको छ। रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

नेपालको पहिलो कूटनीतिक सम्बन्ध गाँसिएको मुलुक भएको स्मरण गराउँदै उनले भूतपूर्व गोर्खा सैनिकका पेन्सनका विषयमा विभेद गर्न नहुने स्पष्ट धारणा राखे। साथै उनले दुई देशबीच सरकार तथा सैनिकस्तरमा मात्र नभई जनचेतनास्तरमा समेत हार्दिक सम्बन्ध रहेको चर्चा गरे। ल्यानकास्टरसमक्ष पोखरेलले कृषि, पर्यटन, जनशक्ति, विकास, जलविद्युत् आदि क्षेत्रमा बेलायत सरकारको सहयोगको अपेक्षा राखेका थिए।

भेटवार्तामा ल्यानकास्टरले दुई देशबीच पुस्तौंदेखि सुमधुर सैनिक एवं कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै दुईसय वर्षभन्दा पहिलादेखि गोर्खा सैनिकका रूपमा सेवा गरिरहेका सेवा निवृत्त सैनिकहरूको उच्च योगदानलाई कदर गर्दै गर्ने आश्वासन दिए। उनले भूतपूर्व गोर्खा सैनिकको निवृत्तिभरण सहितका सुविधामा हालै वृद्धि गरिएको र त्यसका लागि आफूले सक्दो पहल गरेको जानकारी दिए।

नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गर्न पाएकोमा संयुक्त अधिराज्य सरकारको तर्फबाट खुसी व्यक्त गर्दै उनले संयुक्त अधिराज्य सरकारले नेपाललाई उपलब्ध गराइरहेको सहयोगलाई आगामी दिनमा पनि निरन्तर जारी राख्ने बताए। शिष्टाचार भेटका अवसरमा नेपालका लागि संयुक्त अधिराज्यका महामहिम राजदूत काठमाडौंस्थित संयुक्त अधिराज्यको राजदूतावासका अधिकारीहरू रक्षा मन्त्रालयका सहसचिव श्री बाबुराम गौतम र परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति थियो।

 

प्रकाशित: १० फाल्गुन २०७५ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App